१९ वर्षमा तीन सन्तान


प्रकाशित मिति :2016-04-04 11:29:54

पूर्वीपहाडी जिल्ला संखुवासभामा अहिले पनि बालविवाह रोकिएको छैन । तीन सन्तान हुर्काइरहेकी १९ वर्षीया निमछिकी शेर्पा यसको एउटा उदाहरण हुन् ।

छेटु शेर्पा

संखुवासभा । २० चैत ०५३ मा जन्मिएकी संखुवासभा स्याबुन– ५ की निमछिकी शेर्पा तीन छोराछोरीकी आमा हुन् । छोराछोरीसँग खेल्दै गरेकी अवस्थामा भेटिएकी निमछिकी आफँै १९ वर्षकी छिन् । तर पनि हुर्कंदै छन् तीन सन्तान । स्याबुन– ५ देउराली चित्रेका फुर्तेम्बा शेर्पासँग ०६८ सालमा विवाह गरेकी निमछिकीको तीन वर्षीया जेठी छोरी निमलमु, दुई वर्षीय छोरा तेन्जी र एक महिनाको छोरा लाक्पा शेर्पा छन् ।

निमछिकीलाई बच्चालाई स्तनपान गराउने तरिका, पोषकतत्व भएको खानेकुरा खुवाउने–खाने तरिका र सरसफाइ सम्बन्धमा राम्रो जानकारी छैन । तीन सन्तानकी आमा बनेकोमा उनी आफँै छक्क परेकी छिन् । उनका श्रीमान् ६ महिनाअघि रोजगारका लागि खाडी मुलुक गएका छन् । सासूससुरासँग छुट्टिएर बसेकी निमछिकीको जीवन जेनतेनले चलेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उनले छोराछोरीलाई राम्ररी खुवाउन सकेकी छैनन् ।

शारीरिक रूपमा परिपक्व नभई आमा बन्ने निमछिकी एक्ली होइनन् । पूर्वीपहाडी जिल्लामा यस्ता कलिला आमाहरू धेरै छन् । विभिन्न निकायबाट बालविवाह रोक्न पहल भइरहे पनि १४ वर्षकै उमेरमा बालिकाहरू आमा बन्दा पनि धेरैलाई चासो छैन । अशिक्षा, अज्ञानता र कुसंस्कारका कारण पूर्वीपहाडी जिल्लामा बालविवाह बढेको हो ।

संखुवासभाकै नुम– ४ की १६ वर्षीया सीता विक र १६ वर्षीया सबिता गुरुङ (विक) पनि काखमा बच्चा हुर्काउन व्यस्त छन् । उनीहरूजस्तै सोही गाउँकी १५ वर्षीया विमला तामाङले १२ वर्षकै उमेरमा विवाह गरी १४ वर्षमा बच्चा जन्माइन् । ससाना नानी काखमा खेलाउँदै गरेको अवस्थामा भेटिएका ती कलिला आमाहरूले स्कुलमा खुट्टासमेत टेक्न पाएका छ्रैनन् । बाआमाको आर्थिक अवस्था कमजोर भएपछि आफूखुसी भागेर विवाह गरेका ती किशोरीको बेलाबेलामा स्वास्थ्यमा गम्भीर समस्या पनि देखिने गरेको छ । १४ वर्षमै आमा बनेकी विमला भन्छिन्, ‘पहिला त बिहान–बेलुका खान मात्रै भए पनि पाइन्छ भनेर भागियो, अहिले बच्चा हुर्काउन गाह्रो भयो । रोग पनि लाग्यो ।’

किशोरकिशोरी चाँडै निर्णय लिन तत्पर हुने स्वभावका हुन्छन् । यो उमेरमा राम्रो शिक्षा र अभिभावकको रेखदेख नहुँदा कलिलैमा आमा भनेर समस्यामा पर्नेहरू बढिरहेका छन् । सरकारले गाउँगाउँमा शिक्षा र सचेतना पु¥याउने नीति लिए पनि अहिलेसम्म बालविवाह घटेको छैन । बरुण बहुुमुखी क्याम्पसका क्याम्पसप्रमुख टीकाराम गुरुङ यसो हुनुमा सरकार र अभिभावकको कमजोरी ठान्छन् । उनी भन्छन्, ‘अभिभावक जिम्मेवार हुनुपर्छ ।’

स्वास्थ्य चेतनाको अभावमा शारीरिक रूपमा परिपक्व नभएका बालिका गर्भवती र आमा भइरहेको महिला अधिकारकर्मीहरू बताउँछन् । अधिकारकर्मी केशकुमारी खत्री बालिका आमा बन्दा, गाउँमा दुई वर्षभन्दा मुनिका बालबालिकालाई खुवाउनुपर्ने खानेकुराका विषयमा अभिभावक नै जानकार नहुने, पौष्टिक तत्वयुक्त खानेकुरा खुवाउने तरिका नजान्नले बालबालिकाहरू कुपोषित हुने बताउँछिन् । उनी भन्छिन्, ‘छोरीलाई उचित शिक्षा दिन सके मात्र यो क्रम घट्छ । नत्र पहाडी क्षेत्रका धेरै बालिका कलिलैमा आमा बन्ने र चाँडै ज्यान गुमाउने जोखिम रोकिँदैन ।’

गाउँघरमा बालिका आमा बन्ने सङ्ख्या ठूलो देखिएकाले स्वास्थ्य शिक्षा थप प्रभावकारी बनाउन आवश्यक रहेको गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष मनबहादुर लिम्बू बताउँछन् । उनी भन्छन्, ‘हिजोआजको जमानामा पनि यो पहाडी क्षेत्रमा १३ जनासम्म सन्तान जन्माउने र ३५ वर्षकै उमेरमा हजुरआमा बन्नेहरू भेटिन्छन् । महिलामा स्वास्थ्यसम्बन्धी चेतना अझै कम छ ।’

कम उमेरका आमाहरूले गर्भवती अवस्थामा पनि पोषणयुक्त खाना पाउँदैनन् । गर्भवती अवस्थामा गर्नुपर्ने नियमित स्वास्थ्य परीक्षण गर्दैनन् । अझ सहरबाट टाढा रहेका स्वास्थ्य संस्थाहरूमा उनीहरूको पहुँच रहन्न । यसको असर यी कलिला आमाहरू ठूलो स्वास्थ्य जोखिम व्यहोरिरहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख सागर प्रसाईंले भने आफूहरूले सक्दो गरिरहेको बताए । कार्यालयले रेडियो, पत्रपत्रिका र अन्य कार्यक्रममार्फत स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ थियो । उनले स्वास्थ्य संस्थामा गर्भवती जाँच गर्न आउने आमाहरूलाई अवस्था हेरेर थप सचेतना र शिक्षामूलक जानकारी दिँदै आएको बताए । कार्यालयले दुर्गम क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न थप कार्यक्रम पु¥याउने लक्ष्य राखेको उनको भनाइ छ ।

संखुवासभा जिल्लामा एक अस्पताल, दुई प्राथमिक स्वास्थ्य संस्था, २३ स्वास्थ्य चौकी, १३ उपस्वास्थ्य चौकी, चार सामुदायिक स्वास्थ्य केन्द्र र दुई नगर स्वास्थ्य केन्द्र छन् । स्वास्थ्य सेवाको बजेट सुगम क्षेत्रमै सीमित छ । सरकारले ग्रामीण क्षेत्रका महिलालाई सानैदेखि शिक्षा र स्वास्थ्यमा प्रभावकारी कार्यक्रम सञ्चालन नगर्ने हो भने पछिल्लो दिनमा मातृ मृत्युदर र कुपोषित बालबालिकाको सङ्ख्या अझ बढ्ने देखिन्छ ।

अशिक्षा र चेतनाको कमीका कारण यहाँका धेरै बालबालिका सानो उमेरमा आमा बनेका हुन् । अझ कतिपय सामाजिक र जातीय संस्कारले यसलाई सघाएको छ । खासगरी शेर्पा, भोटे, तामाङ समुदायका अशिक्षित बालबालिका कलिलै उमेरमा आमा बन्ने गरेका छन् । बालिका आमा बनेर विवाह दर्ता र छोराछोरीको जन्मदर्ता गर्न आउँदा नागरिकता नभएकाले प्रशासनिक क्षेत्रमा समस्या हुने गरेको खाँदबारी नगरपालिकाका प्रशासकीय अधिकृत दिनेश कट्टेल बताउँछन् । विवाह दर्ता गर्न आएका एक १४ वर्षीय बालजोडीको उदाहरण दिँदै उनले भने, ‘विवाह र साथमा रहेकी छोरीको जन्मदर्ता एकैपटक गर्न आएका थिए, तर उनीहरूसँग नागरिकता नभएकाले विवाह र जन्मदर्ता गर्न समस्या भयो ।’

बाल कल्याण समितिका जिल्ला बालअधिकृत सुमन अधिकारी बालविवाहको विषयमा समाजमा अझै पनि कम चासो भएकाले समाजमा सचेतना फैलाउनु जरुरी रहेको बताउँछन् । उनले अब बालकल्याण समितिले बालविवाह र आमाको तथ्याङ्क सङ्कलन सुरु गर्ने बताए । यस्ता घटनामा उजुरी कम आउने गरेको प्रहरी प्रमुख डीएसपी कृष्णहरि शर्माले बताए । उनले भने, ‘समस्या ठूलो छ भनेर के गर्नु, अहिलेसम्म प्रहरीमा १० वटा मात्रै बालविवाहका उजुरी दर्ता छन् ।’

(सञ्चारिका फिचर सेवा)
(छेटु, संखुवासभाका पत्रकार हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: