जव चूनौतीहरू अवसर खोज्ने बाटोको काँडा सम्झिन्छ । तब रहरको बाटो काडा पन्छाएर अगाडि बढिन्छ, त्यसपछि यात्रा रमाइलो र सहज बन्छ ।
वसन्ती बास्तोला

कास्की आवाज दैनिककी अध्यक्ष सरुस्वती गुरुङ
शिक्षण पेशा छोेडेपछि विकल्पकोरुपमा रोजिएको रेडियोकर्मीको परिचयले यति ठुलो स्थान पाउला जस्तो पोखराकी सरुस्वती गुरुङलाई लागेको थिएन । युवामञ्च र रेडियो अन्नपुर्णको यात्रा आएर कास्की आवाज दैनिकको अध्यक्षमा आइपुगेको छ । महिला पत्रकार र सञ्चारकर्मीले काम गरे पनि तल्लो तहमा मात्र भइरहेको अवस्थामा उनी एक मात्र महिला अध्यक्ष हुन दैनिक पत्रिकाको । कर्मचारीको रुपमा भन्दा आफ्नै मिडिया भए आफूलाई लागेका कुरा जोडतोडले उठाउन सकिन्छ भन्ने उनलाई लाग्यो । त्यसपछि ४ वर्ष अघि साप्ताहिकको रुपमा खोलिएको पत्रिका ३ वर्षयता दैनिक बनेको छ ।
पत्रकारिताले धेरै राम्रा र नराम्रा कुरा बुझ्ने बनायो र यो बुझाई अरुलाई सिकाउन सजिलो बन्यो । एउटा कर्मचारी हुनु र १६ वटा पत्रिकासँग दैनिक प्रतिस्पर्धा गर्नु । कर्मचारीलाई समयमै तलव दिनु । पत्रिकाको गुणस्तरदेखि विज्ञापनसम्म ध्यान दिनु कम चुनौती होइन । यहि चुनौतीका विच थुप्रै संभावना खोजेर अगाडि बढेकी गुरुङलाई लाग्छ यस्मा छुट्टै मजा छ ।
जुन वर्ग जहाँ छ त्यसैको पक्षमा आवाज उठाउन सक्ने मिडियाको खुवी हो । प्राकृतिक कुराले नै महिलालाई केही साँगुरो बनाइएको छ । यसो भन्दैमा महिलाले पुरुषले भन्दा बढी गर्न सक्दैनन् भन्ने हैन । गुरुङले भनिन ‘हामीले एक अर्काको क्षमतालाई कदर गर्नसक्नुपर्छ ।
अप्ठ्यारोमा रमाउँदै समस्याको समाधान खोजेर बाधा हटाउँदै खुला मैदानमा पुग्नुको आनन्द जसले जोखिम मोलेको छ उसले मात्र लिन पाउँछ । सञ्चारकर्मी र माध्यम दुबैप्रति सर्वसाधरणको भरोसा बलियो पाटो मान्छिन् उनी । एउटा आम व्यक्ति हुनु र मिडियाकर्मी बनेर उठाएका आवाज, जुटाएको राहत धेरै गुणा राम्रो हुन्छ । सञ्चारमाध्यमममा काम गर्नेले पारिश्रमिक नै नपाउने भन्ने कुरा भइरहँदा उनले आफ्नो रेडियोमा काम गर्ने कमृचारीलाई पहिला नै एडभान्स दिने गरेको बताइन् । घरमा आपत विपत पर्दा कर्मचारी उनीसँग आर्थिक सहयोग माग्न असहज मान्दैनन् । भनिन् ‘काम गरेर आएको मानिसले खोल्नुको फाइदा कर्मचारीलाई हुन्छ हामीले कर्मचारीको समस्या भोगेर आएका छांै ।’ व्यक्तिगत खाताबाट होस या खोजेर तलव समयमै दिनुपर्छ भन्ने ज्ञान छ उनमा ।

सफलता एफ.एमकी अध्यक्ष दुर्गा अधिकारी
आर्थिक कारोवार पुरुषकै हातमा हुने कारण, महिलालाई प्रमुख राख्दा पुरुषले सजिलो अनुभव नगर्ने र पित्तृसत्तात्मक सोचको कारण महिला जिम्मेवार पदमा कम पुगेका छन् । तिनै मध्येकी एक हुन दुर्गा अधिकारी । संवाददाताबाट काम सुरु गरेर कास्की कै सफलता एफ.एमकी अध्यक्ष बनेकी उनले यसविचमा थुप्रै आरोहअवरोह भोगिन् । उनले रेडियो चलाएको ५ वर्ष भयो ।
२०५९ सालमा सञ्चार दर्पणबाट पत्रकारिता सुरु गरेकी उनले हिमचुली, तरङग र पर्वतमा रहेको दिदीबहिनी एफ.एममा स्टेसनम्यानेजर हुँदै उनले अध्यक्षको यात्रा तय गरेकी हुन् । समाज परिवर्ततनमा रेडियोको भूमिका ठुलो हुने देखेर रेडियो खोलेकी अधिकारी भन्छिन् ‘यसले मलाई जहाँ गए पनि समस्याको समाधान गरेर अगाडि बढ्न सिकायो ।’ उनलाई लागेको छ महिलाले पनि रेडियो चलाउन सक्दा रहेछन् । आफूले गरेको काममा सन्तुष्टि पाएको अनुभव छ दुर्गालाई । समय दिने, दिनप्रतिदिनका घटनामा अपडेट हुने र सक्छु भन्ने आत्मविश्वास हुने हो भने महिला भएर अवसरबाट बञ्चित हुनुनपर्ने दुर्गाको भनाई छ ।

रेडियाे जननीकी स्टेसन म्यानेजर विमला भण्डारी
यो कुरामा सहमत छिन रेडियो जननीकी स्टेसन म्यानेजर विमला भण्डारी । १३ वर्ष अगाडि रेडियो कार्यक्रमबाट सञ्चार क्षेत्रमा आइपुगेकी उनले माछापुच्छ्रे, अन्नपुर्ण, पोखरा, बराही हुँदै जननीसम्म आइपुगेकी हुन् । एक्लै सानो ठाउँमा बोल्नुभन्दा सञ्चारमाध्यमबाट आफ्ना कुरा बोल्नुपर्छ भन्ने मान्यताले उनलाई सञ्चारकर्मी बनाएको हो । महिलाले गर्न सक्छन् र ? भन्ने स्वरहरू बेला–बेला नसुनिने होइन । तर, महिलाले गरेको कामले रेडियो चर्चित हुँदै छ । नामका लागिमात्र रेडियो खोल्ने नभई यसले थुपै सपना पुरा गर्नको लागि काम गरे, अवसर भएको उनको अनुभव छ । सञ्चारमाध्यमले धेरै कुरा सिकाउने कारण महिलाको लागि यस्मा धेरै संभावना भए पनि अझै विश्वास कम गर्ने कारण महिलाले जिम्मेवार पद नपाएको उनी मान्छिन् ।

माछापुच्छ्रे एफ.एमकी स्टेशन म्यानेजर कञ्चन थापा
पद पाएकाले राम्रो काम गरेको कारण अहिले महिलालाई जिम्मेवार पद दिन थालिएको छ । यस्तै जिम्मेवार पदमा छिन् कञ्चन थापा । एफ.एममै थुपै उपहार आउँथे । चिठ्ठी त पढेर सकिँदैनथ्यो । १५ वर्ष अगाडिको कुरा सम्झँदा कञ्चनलाई अहिले सपना देखे जस्तो लाग्छ । भनिन् ‘पसलमा सामान किन्न जादा समेत मानिसले स्वर चिन्थे ।’ केही कार्यक्रम सञ्चालन गर्दा उनी आफैँलाई हावादारी काम लाग्थ्यो । त्यसबेला कार्यक्रम सञ्चालक हुनु र अहिले माछापुच्छ्रे एफ.एमको स्टेशन म्यानेजर हुनुमा अचम्मको फरक छ । माछापुच्छ्रे, इमेज, जननी, सुनौलो हुँदै पुन माछापुच्छ्रे एफ एमको स्टेशन प्रमुखको यात्राले उनलाई धेरै जिम्मेवार र परिपक्व बनाएको छ ।
उनको लागि मात्र हैन कर्मचारीदेखि, सर्वसाधरण र रेडियोको समग्र जिम्मेवारीमा उनी जवाफदेही हुनुपर्छ । उनलाई लाग्छ घर राम्रो व्यवस्थापन गर्न सक्नेले कार्यालय किन सक्दैनन ? यहि सोचेर पनि पछिल्लो समय महिलालाई जिम्मेवार पदमा विश्वास गरिएको हो । घर, परिवारदेखि स्टाफसम्मलाई नचिढ्याई व्यवस्थापन गर्न सक्नु सानो काम होइन । यही काममा पोख्त हुँदैछन धेरै महिला ।
महिलालाई त पत्रकार हो भनेर विश्वास गर्ने वतावरण नभएको समयमा काम गरेर यी पत्रकार महिलाले जिम्मेवार पदमा पुग्न धेरै चूनौती खेप्नु पर्यो । ती चूनौतीलाई उनीहरू अवसर खोज्ने बाटोको काँडा सम्झन्छन् । जव रहरको बाटो काडा पन्छाएर अगाडि बढिन्छ त्यसपछि यात्रा रमाइलो र सहज बन्छ ।
Comment Here!