महिला खबर
प्यूठान । स्रोत साधन र समन्वयको अभावमा लैङ्गिक हिंसा पीडितका लागि स्थापित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र प्रभावकारी हुन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका कार्यालय, सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा एक वर्षअघि स्थापित केन्द्रले जम्मेवारीपूर्वकका काम हुन नसकेको हो ।
हिंसामा परेका व्यक्तिलाई न्यायिक, स्वास्थ्य, मनोसामाजिक विमर्शलगायतका सेवा एकै ठाउँबाट दिने उद्देश्यले स्थापना गरिएको केन्द्रमा सामान्य सेवाग्राही आउने गरेको भन्दै जिल्ला स्वास्थ्य प्रमुख डा कृष्ण शाहले जुन सोचबाट केन्द्र स्थापना भएको हो त्यस अनुसार प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिएको बताउनुभयो ।
उहाँका अनुसार गाउँस्तरसम्ममा र पीडित पक्षकाबीचमा केन्द्रको विषयमा जानकारी गराउन नसक्दा केन्द्र प्रभावकारी नभएको हाे ।
जिल्ला स्वास्थ्य कार्यालयमा स्थापना गरिएको केन्द्रले लैंगिक हिंसामा परेका व्यक्तिलाई स्वास्थ्य, प्रहरी, महिला तथा बालबालिका र सरकारी वकिलको कार्यालयको एकै स्थानबाट सेवा दिने गरी स्थापना भएको थियो ।
जिल्लाबाट महिला तथा बालबालिका कार्यालय र जिल्ला प्रहरी कार्यालयले केन्द्रमा कहिले काही सेवाग्राही पठाउने गरेपनि केन्द्र खासै प्रभावकारी हुन सकेको छैन ।
केन्द्रमा बलात्कारसम्बन्धी उजुरी धेरै आउने गरेका छन् । केन्द्रमा अघिल्लो वर्षमा १७ जना र यस वर्षमा १२ जनाले सेवा लिएको भन्दै केन्द्रकी राधा केसीले केन्द्रका विषयमा जानकारीको अभाव भएको बताउनुभयो ।
Comment Here!