ममताले हारेको त्यो दिन…


प्रकाशित मिति :2016-04-09 10:00:10

आस्था केसी
Aastha KC६ महिना अघि कात्तिक महिनाको एउटा साँझ ।  त्यस्तै आठ बजेको हुँदो हो । आठ महिनाकी छोरी आयशालाई सुताएर कोठा बाहिर फ्रि वाईफाई भएको ठाँउमा के निस्किएकी थिएँ । नयाँ इमेलको जानकारी लिएर मेरो मोवाईलमा एउटा सकेंत देखियो ।

मोवाईलमा रहेको जिमेल एप्स खोलें । सञ्चारिका समूहको ईमेल थियो । जहाँ चार महिने ‘अन द जव ईन्टर्नशीप ट्रेनिङ’ को अफरसहित निवेदन दिन भनिएको थियो । एकखाले ‘सरप्राईज्ड’ जस्तो भयो मलाई । खुशीले पुलकित भएँ । एक मनले भन्यो निवेदन दिउँ ? यही बहानामा छिरुँ सपनाको शहर काठमाडौं ? आफूलाई परिक्षण गरुँ ? एउटा नयाँ शिरासहित पत्रकारितामा आफ्नो ‘करिअर’ स्थापित गरुँ…….?
तुरुन्तै अर्को मनले प्रतिवाद ग¥यो । कसरी गर्ने ? दुधे बच्ची लिएर चारचार महिनाको तालिम गर्ने हिम्मत छ ? कहाँ बस्ने ? छोरी कस्ले हेरिदिन्छ ? आफ्नो करिअरको लागि सानी नानीको बिचल्ली भयो भने के गर्ने ? चिसो मौसम छ, यस्तो बेलामा भर्खरै बामे सर्न खोजेकी छोरीलाई काठमाडौंको चिसोले भेट्यो भने…..,उ बिरामी परि भने…..। मन भित्र एउटी स्वप्नशील जुझारु पत्रकार केटी र एउटी आमाको बिचमा घमासान युद्ध चल्यो । त्यो रातभर र अर्को केही दिनसम्म यो लडाई चलि नै रह्यो ।

आमाको ममतालाई पनि जितिदिने सार्मथ्य रहेछ, त्यो स्वप्नशील पत्रकार चेतनाले भरिएको मनभित्र । मेरो सपनाको जिजिविषाले मेरो अन्तरमनलाई हल्लाईदियो । सबै खाले चूनौतिसँग डटेर सामना गर्ने र आईपर्ने अवसरको भरपूर सदुपयोग गर्ने आदेश मलाई मेरो अचेतन मनले दियो र म कुनैपनि हालतमा यो ‘अन द जव’ तालिममा सहभागी हुने निर्णयमा पुगेँ ।

म आफैँ आफ्नो यस्तो सहास देखेर अचम्म परेँ । यसरी एउटा सपनाले एउटी आमालाई पराजित गरिदियो । एउटी आमाको ममता भन्दा पनि ठूलो थियो मेरो राम्रो पत्रकार बन्ने सपना । यहीं सपनाको त्यान्द्रोमा आशाका अनेकथरी फूलहरू फूलाउँदै म तालिममा सहभागी हुने भएँ । अनेक थरी चूनौतिको सामना गरेर १० महिनाकी सानी छोरी काखमा च्यापेर २०७२ सालको मंसिर १५ गते म दाङबाट काठमाडौ हान्निएँ ।

हाम्रो तालिम शुरु भयो । तालिमको नियम अनुसार मैले एउटा पत्रिकामा काम गर्नु पर्दथ्यो प्रशिक्षार्थी पत्रकार भएर । मैले जिल्लामा पत्रकारिता शुरु गरेको करिव आठ वर्ष भईसकेको थियो । रेडियोमा स्टेशन म्यानेजरको जिम्मेवारी कुशल बहन गरेकी थिएँ । अव आएर प्रशिक्षार्थी बन्ने कुराले फेरी मेरो ‘अभिमान’मा प्रश्नचिन्ह खडा भयो ।

म सिक्न आएकी थिएँ । सिकेर आफूलाई प्रस्तुत गर्नु थियो । म भित्रको सपनाले फेरी मेरो अहमतालाई गिज्यायो । सिक्ने र सिकाउने कुरा त जीवनभर चलिरहने प्रक्रिया हो । कोही पनि सिकेर पूर्ण भएको हुँदैन, यस्तै यस्तै केही अन्टसन्ट सुनाएर सपनाले अहमताको मन जित्यो । अन्ततः म कान्तिपुर दैनिकमा प्रशिक्षार्थी पत्रकार भएर जाने भएँ ।

त्यो डिसेम्बर ६ तारिख, २०१५ को दिन थियो । प्रशिक्षार्थी पत्रकारको एउटा पत्र बोकेर म कान्तिपूर दैनिकको तिनकुनेस्थित कार्यालय पुगँे । त्यहाँको सुरक्षा गार्डले मलाई केही सोधपुछ गरेर रिसेप्सनमा पठाए । अनि रिसेप्सनबाट सम्पादक सुधिर शर्माको कार्यकक्षमा गएँ । मैले त्यहाँका वरिष्ठ पत्रकार बलराम बानियासँग समन्वय गरेर काम गर्नुपर्ने भयो ।

कान्तिपुरका सम्पादक सुधिर सरले सोध्नुभएको थियो—कान्तिपुर नै किन आउनुभयो ? मलाई धेरै कुरा सिक्नु थियो । ठूला भनिएका पत्रिकाका पत्रकारले समाचार कक्षमा कसरी काम गर्छन् भनेर जान्नु थियो । अनि एउटा सिकारु पत्रकार र अझै महिला पत्रकारलाई ठूला सञ्चार माध्यममा कस्तो व्यवहार हुँदो रहेछ भनेर पनि अनुभव हासिल गर्नुथियो । मैले सुधिर सरलाई यहि कुरा सुनाएकी थिँए  ।

म फरक पृष्ठभुमिबाट आएकी मान्छे । १० वर्षे सशस्त्र युद्धमा शसक्त सहभागी एक पात्र थिँए म ।  मैले युद्ध पत्रकारिताबाट आफ्नो पत्रकारिता जीवनको शुरुवात गरेकी थिएँ । कुनैबेला म सत्तासिनहरूको आँखामा एउटी आतंककारी महिला छापामार थिएँ । संकटकालका नारकीय दिनहरूमा सत्ताका सिपाहीहरूले कलम बोक्नेहरूलाई पनि बन्दुकै बोकेसरह देख्थे । जीवन र मृत्युको बिचमा एउटा पातलो पारदर्शी रेखामात्र थियो । कैयांै भयानक मृत्युलाई नजिकबाट नियालेर सहयोद्धाहरूका शवमाथिबाट गुज्रँदै आएकी मान्छे म । कलमको मुक्तिका लागि कुनै दिन बन्दुक बोकेर हिंडेकी थिएँ । एउटा स्वर्णिम सपनाले मात्र एउटी छापामार केटी, पत्रकार भएकी थिई ।

कति सपनाहरू तिरोहित भएका थिए र अझैपनि भईरहेका छन् । कति विचारहरू स्खलित भएका थिए र अझै पनि भई नै रहेका छन्  । कति आदर्शहरू आफ्नै आँखा अगाडि नाँगेझार भएको मैले देखेकी छु । मुक्तिको सपना देख्दादेख्दै जीवनबाट पलाएन भएकाहरूको मुटु मैले नजिकबाट छामेकी छु । परिवर्तनको आशा गर्दागर्दै आफैँलाई बिर्सिएर केवल रित्तो प्रतिक्षा गरिरहेका पनि मेरा वरिपरी छन् ।

अँ.. म त एकछिन बहकिएछु आफ्नै विगतमा । मेरो कलमले मलाई यसरी बेला न कुबेला बहकिनबाट रोक्नुपर्छ र रोक्नेछ । यो मेरो आफैँप्रतिको विश्वास हो । कान्तिपुर दैनिकमा जोडिएर काम गर्न पाउनु मेरो लागि निकै ठूलो अवसर थियो । जति पनि त्यहाँका पत्रकारहरूसँग मैले काम गरेँ । उहाँहरूले पनि एकाध बाहेक सबैजनाले राम्रो सिकाउनुभयो । चार महिना अगाडि र अहिले आफ्नो मूल्यांकन गर्दा धेरै कुरा फरक पाँउछु । रेडियोमा काम गर्दा सबै क्षेत्र हेर्नुपर्दथ्यो । जहिल्यै हतार हतार हुन्थ्यो । त्यसो गर्दा लेखन क्षमता फस्टाउन पाएको थिएन । अहिले लेख्ने कुराको विकास भएको छ ।

आफैँलाई के लाग्छ भने यो तालिममा सहभागी भएर मैले मेरो लेखन क्षेत्रमा त विकास गरेकी छु नै । आफैँ प्रतिको आत्मविश्वास अझै माथि उठेको छ । आफ्नो नजरमा आफैँ माथि उठ्न सक्नु के चानचुने कुरो हो र ? कुनै एउटा विकास क्रमले नयाँखालका जटिलता पैदा गरिदिन्छ । यो विज्ञानको सामान्य नियम नै हो । सामान्यखालका केही अप्ठेरा पर्नु स्वभाविकै हो । यो बिचमा केही समस्या जरुर भएका हुन् । एउटा आठ वर्षको छोरालाई दाङमा आफन्तको जिम्मामा छाडेर, आठ महिनाकी छोरी काखमा लिएर एउटा सपनाले मलाई यहाँसम्म डोर्‍याएर ल्यायो ।

मैले यो बिचमा जत्ति लेख्छु भनेर आएकी थिँए । त्यत्ति त मैले लेख्न सकिनँ । तर, जति लेखेँ गर्व गर्न लायक स्टोरीहरू लेख्न सिकें ।
आगामी दिनमा मैले पत्रकारिता मार्फत के कस्ता सवालहरूमा आवाज उठाउने भनेर मार्ग प्रशस्त भएको छ । चार महिने ईन्टर्नशीप सकिए लगत्तै मैले रातोपाटी अनलाईनमा काम शुरु गरेकी छु । यो तालिमले मलाई धेरै कुरा सिकाएको छ । सबैभन्दा मुख्य कुरा अवसर मिलेको खण्डमा हामी जे काम पनि गर्न सक्छौं भन्ने कुराको आत्मविश्वास हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: