महिनाको पाँच दिन गयल


प्रकाशित मिति :2016-04-10 09:34:02

दाङका धेरै सामुदायिक तथा निजी विद्यालयका छात्रा महिनावारी भएको समयमा विद्यालय छाड्न बाध्य हुन्छन् । महिनैपिच्छे तीनदेखि पाँच दिनसम्म विद्यालय छाड्नुपर्दा उनीहरू पढाइमा पछाडि पर्ने सम्भावना धेरै रहन्छ ।

सपना बोहरा
दाङ । पद्मोदय पब्लिक नमुना उमावि भरतपुरमा कक्षा आठमा अध्ययनरत रमिला केसीले कक्षामा पढाउँदै गरेका अङ्ग्रेजी शिक्षकलाई पहिलो कक्षा सुरु हुनासाथ घर जान्छु भनेर सोधिन् । यो सुनेर कक्षा शिक्षकले ‘भर्खरै पढाइ सुरु भएको छ । किन घर जाने’ भनेर हप्काए । शिक्षकले गाली गरेपछि उनी रातोपिरो भइन् । शिक्षकले अनुमति नदिए पनि उनी कक्षाबाट निस्केर गइन् । उनी बसेको बेन्चमा रगतको दाग लागेको देखेर विद्यार्थी हाँसे । शिक्षक र विद्यार्थी हाँस्दाहाँस्दै कक्षाबाट निस्केकी रमिलालाई फेरि कहिल्यै त्यो विद्यालय जान मन लागेन ।
विद्या नीलकण्ठ उमावि घोराहीमा कक्षा सातमा अध्ययन गरिरहेकी मीना बुढाथोकीले विद्यालयमा आफूलाई महिनावारी भएको भन्नै सकिनन् । मीनाले आफू महिनावारी भएको भन्न नसकेर टाउको दुखेको वाहना गरेर बिदा मागेर गइन् । उनी पाँच दिनपछि मात्र कक्षामा आइन् । उनी कक्षामा आउँदा पढाइ निकै अगाडि बढिसकेको थियो ।

महिनावारी भएको समयमा आवश्यक पर्ने प्याड विद्यालयमा उपलब्ध नहँुदा कक्षा पाँचदेखि १२ सम्म पढ्ने छात्रा यसरी नियमित रूपमा महिनामा पाँच दिनसम्म विद्यालय छाड्न बाध्य छन् । जिल्लाका धेरै सामुदायिक तथा निजी विद्यालयमा अध्ययन गर्ने कक्षा पाँचदेखि १२ सम्मका छात्राले हरेक महिना यस्तो समस्या भोग्दै आएका छन् ।

महिनावारी भएको समयमा कसैलाई लामो समयसम्म पेट दुख्ने हुँदा आरामको जरुरत पर्छ । विद्यालयमा आराम गर्ने सुविधा छैन । पहिला त छोरीलाई विद्यालय पठाउन अभिभावकलाई सम्झाउनुपर्छ । पछिल्लो समयमा छोरीलाई पनि विद्यालय पठाउन थालेको भए पनि उनीहरूको समस्या अभिभावक, शिक्षक र सहपाठी साथीहरूले नबुझिदिँदा महिनाको चारदेखि पाँच दिनसम्म उनीहरूको पढाइ छुट्ने गरेको छ । बिस्तारै कतिपयले विद्यालय नै छोड्नुपर्ने अवस्था सिर्जना हुनपुग्छ । छात्राहरूले महिनैपिच्छे किन विद्यालय छोडिरहन्छन् भन्ने विषयमा कसैको पनि ध्यान गएको पाइँदैन । महिनावारी कति बेला हुन्छ भन्ने कुरा जानकारी नै हुँदैन । महिनावारी प्राकृतिक प्रक्रिया हो र महिनावारी हुँदा सरसफाइ गर्नुपर्ने, आराम गर्नुपर्ने, स्यानिटरी प्याडको प्रयोग गर्नुपर्ने सम्बन्धमा अभिभावकदेखि शिक्षक र छात्रासम्मलाई सचेत गर्नुपर्छ ।

विद्यालयमा छात्रामैत्री शौचालय नहुनु, महिनावारी नियमित प्रक्रिया हो भनेर नबुझ्नु यसको मुख्य समस्या हो । जिल्ला शिक्षा कार्यालय तथा अन्य सरोकारवाला संस्थाहरूले विद्यार्थीको ड्रपआउट रोक्न छात्रामैत्री विद्यालय, शौचालयको व्यवस्था गरे तापनि प्रभावकारी बन्न सकेको छैन । गोग्ली उमाविमा कक्षा आठमा पढ्दै गरेकी निशा केसीले विद्यालयमा चेन्जिङ रुम तथा सरसफाइ सामग्री नभएका कारण प्रत्येक महिना पाँच दिनसम्म विद्यालय छोड्नुपर्ने बाध्यता भएको बताइन् । ‘महिनावारी हुने समय थाहा हुँदैन, कहिले विद्यालय जानेक्रममा बाटोमै भइन्छ,’ केसीले भनिन्, ‘विद्यालयमा जाऊँ केही सुविधा छैन, घरमा फक्र्यौं आमा भए त महिनावारी भएको भन्न सहज हुन्छ, बालाई के जवाफ दिने ?’

राप्ती उमाविमा कक्षा नौमा पढिरहेकी सजना मगरले विद्यालयमा छात्र र छात्राको एउटै शौचालय भएको हुँदा महिनावारी भएको समयमा समस्या हुने बताइन् । ‘शिक्षकहरू अभिभावकसरह हौँ भन्नुहुन्छ, तर हामी छात्राको समस्या कहिल्यै बुझ्नुभएन,’ सजनाले भनिन्, ‘महिनावारी भएको समयमा विद्यालय नआउँदा शिक्षकशिक्षिकाको कुटाइ खाएका छौँ र जरिवानासमेत तिरेका छौँ ।’

छात्रामैत्री विद्यालय नहुँदा छात्राहरूले महिनैपिच्छे विद्यालय छोड्नुपर्ने बाध्यता भएको शिक्षक पनि स्वीकार गर्छन् । तर, त्यसबारे छात्रालाई बुझाउन सकेका छैनन् । विद्यालयमा छात्रालाई विद्यालय छोड्नुपर्ने समस्याबाट मुक्त गर्न विकास तथा प्रशिक्षण केन्द्र दाङले जिल्ला शिक्षा कार्यालयको समन्वयमा विद्यालयमा छात्रामैत्री क्लब र चेन्जिङ रुमको अभियान सुरु गरेको छ । तत्कालका लागि पद्मोदय पब्लिक नमुना उमावि भरतपुर, उमावि गोग्ली र दीपेन्द्र मावि मानपुर विद्यालयमा सरसफाइ र चेन्जिङ रुमको व्यवस्था सुरु गरिएको छ । विकास तथा प्रशिक्षण केन्द्रको आयोजनामा जिल्ला शिक्षा कार्यालयको समन्वयमा छात्रा, शिक्षक, अभिभावकहरूसँग छात्रामैत्री विद्यालयका विषयमा समेत बहस गर्न थालिएको छ । तर, छात्रामा त्यसको कुनै प्रभाव परेको छैन ।

विकास तथा प्रशिक्षण केन्द्र दाङका संयोजक तथा छात्रामैत्री विद्यालय वातावरण कार्यक्रमका संयोजक दुर्गाप्रसाद पाण्डेले विद्यालयमा छात्रालाई महिनावारीको समयमा कक्षा छोड्नुपर्ने समस्या न्यून गर्न विद्यालयमै सरसफाइका सामग्री र छुट्टै कोठाको व्यवस्थाको सुरुवात गर्नुपर्ने बताए । ‘महिनावारीको समयमा धेरै छात्रा विद्यालय आउँदाआउँदै घर फर्किनुपर्दा पढाइ छुट्ने र शिक्षण सिकाइमा असर पर्छ,’ पाण्डेले भने, ‘महिनावारी नियमित प्रक्रिया हो र महिनावारी हुँदा अपनाउने तौरतरिकाबारे सचेतना कार्यक्रम चलाइन्छ ।’ छात्राहरूलाई सचेत गराउने र पढाइ छोड्नु नपर्ने वातावरण बनाउनका लागि महिला शिक्षकमार्फत नयाँ कार्यक्रम ल्याउने कार्यमा जिल्ला शिक्षा कार्यालयले पहल गरिरहेको जिल्ला शिक्षा अधिकारी प्रह्लाद अर्याल बताउँछन् ।

(संचारिका फिचर सेवा)
(सपना, दाङकी पत्रकार हुन्)

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: