पहिचान खोज्दै छोराछोरी


प्रकाशित मिति :2016-04-11 12:14:12

Citizenship copy1आमाको नाममा नागरिकता पाउने छोराछोरीको हकमा बाबुको नाम लेख्ने ठाँउमा ‘बावु पत्ता नलागेको’ भनेर लेख्ने कुराले महिलाको सम्मान र आत्मसम्मानमा गहिरो ठेस पुर्‍याएको छ।

यशोदा/आस्था/पुनम/फातिमा

ललितपुर, पुल्चोककी, नेहा गुरुङको एमविवएिस पढ्ने धोको नागरिकता नभएकै कारण पूरा हुन सकेन। अहिले उनी २१ वर्षकी भइन्। उनी सानै छँदा बाबुले छोडेर गए। नेहा र उनकी बहिनी निकितालाई आमा दिप्ती गुरुङले एक्लै हुर्काइन्। उनकी आमासँग बंशजको नागरिकता छ, तर छोरीहरूलाई उनले आफ्नो नाममा नागरिकता बनाइदिन सकेकी छैनन्।

neha gurung

नागरिकता नपाएकै कारण नेहाको डाक्टर बन्ने सपना पुरा हुन सकेन। अहिले उनी कानुन विषय लिएर पढिरहेकी छिन्। उनको जन्मदर्तामा ‘बाबु पत्ता नलागेको’ भनेर उल्लेख गरिएको छ, तर उनी नागरिकताको प्रमाणपत्रमा त्यस्तो राख्न चाहन्नन्।’ ‘जन्मेदेखि सबै जिम्मेवारी आमाले निर्वाह गर्नुभयो भने मैले आमाको नाममा नागरिकता किन नपाउने ?’ उनी प्रश्न गर्छिन्।

नेहाले नागरिकता नभएकै कारण राज्यबाट कुनै पनि पहिचान पाउन सकेकी छैनन्। उनी छात्रावृत्तिमा विदेश गएर अध्ययन पूरा गर्न चाहन्छिन्, तर उनले राहदानी बनाउन सक्दिनन्। त्यस्तै उनी स्कुटर चलाउँछिन् तर लाइसेन्स बनाउन सकेकी छैनन्।

कास्कीका सुरज हजारे दाहालले पनि आमाको नाममा नागरिकता पाउन सकेका छैनन्। उनकी आमा मैँया दाहालले भारत मुम्बइका नितिन हजारेसँग २६ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन्। चार सन्तान जन्मेपछि उनका बाबुको मृत्यु भयो। कक्षा १२ पढ्ने बेलामा उनले सिमकार्ड लिन खोजे, तर नागरिकता नभएकै कारण सिमकार्ड पाउन सकेनन्। विए तेस्रो वर्षमा अध्ययन गरिरहेका हजारे अहिले २५ वर्षका भए।

आमाको नाममा नागरिकता लिन उनी गृह मन्त्रालय देखी भारतीय दुतावाससम्म पुगे, तर उनले अहिलेसम्म नागरिकता पाउन सकेका छैनन्। उनी भन्छन् ‘के म यो देशको नागरिक होइन? राज्यले मलाई कि त नागरिकता देओस्, कि अनागरिक घोषणा गरेर देश निकाला गरोस्।’ उनको आमासँग पनि बंशजको नागरिकता छ, तर प्रशासनले आमाको नाममा नागरिकता दिन अस्वीकार गरिदियो।

त्यस्तै सोलुखुम्बुमा जन्मिएका दुई दिदी बहिनी शर्मिला र लक्ष्मी लामाले पनि नागरिकताको प्रमाण पत्र पाएका छैनन्। शर्मिला आमाको पेटमा भएकै बेला उनका बाबु मंगलबहादुर लामा काठमाडौं आएका थिए। काठमाडाैं आएपछि परिवारसँग उनको सम्पर्क भएन। उमेर पुगेपछि शर्मिला र लक्ष्मी दुवैले नागरिकता बनाउन खोजे । लामो समय सदरमुकाम धाउँदा पनि उनीहरूले आमाको नाममा नागरिकताको प्रमाणपत्र पाउन सकेनन्। कानुनअनुसार १६ वर्ष उमेर पुगेपछि जुनसुकै नेपाली नागरिकले नागरिकता पाउन सक्छ।

suraj hajare

संवैधानिक व्यवस्था

नयाँ संविधानमा पनि आमा वा बाबुको नाममा नागरिकताको प्रमाण पत्र लिन पाउने प्रावधान छ, तर आमाको नाममा नागरिकता लिन बाबुको प्रमाण पेस गर्नुपर्दछ। नयाँ कानुन र निर्देशिका नबनेका कारण व्यवहारमा कार्यान्वयन हुन सकेको छैन। श्रीमान बेपत्ता भएका, सम्बन्ध बिच्छेद भएका, दोस्रो विवाह गरेका, तर पहिलो श्रीमानबाट बच्चा भएको अवस्थामा आमाको नामबाट नागरिकता पाउन नसकेका थुप्रै मुद्दा अदालतसम्म पुगेका छन्।

आमाको नाममा नागरिकता भन्ने वित्तिकै महिलाको विषय भनेर पन्छ्याइन्छ। तर नागरिकता महिलाको मात्रै विषय होइन। आमाको नाममा नागरिकता नपाउनेहरूमा पुरुष नै बढी छन्। नेपाल नागरिकता ऐन र नियमवली २०६३, नागरिकता जारी गर्ने निर्देशिका २०६३ र २०७० महिलाप्रति विभेदपूर्ण छ। कानुनमा भएको सकारात्मक व्यवस्था पनि कार्यान्यवन हुन नसक्दा आफ्नो र छोराछोरीको पहिचान दिने सवालमा महिलाले दोहोरो समस्या भोग्नु परिरहेको छ। विवाह गरेपछि अंश माग्ने अधिकार पाउने भनेर श्रीमानले श्रीमतीलाई नागरिकता बनाइदिँदैनन् भने विवाह दर्ता पनि गरिदिँदैनन्। श्रीमानले छोडे, मृत्यु भए वा अर्को विवाह गरे भने ती महिलाले आफ्नो नाममा सन्तानलाई नागरिकता दिन सक्दैनन्।

नेपालको संविधानको भाग २ धारा ५ मा नेपालको नागरिक आमावाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र वावुको पहिचान हुन नसकेको व्यक्तिलाई बंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिने छ भनेर उल्लेख गरिएको छ।

आमाको नाममा नागरिकता पाउने छोराछोरीको हकमा वावुको नाम लेख्ने ठाँउमा ‘बावु पत्ता नलागेको’ भनेर लेख्ने कुराले महिलाको सम्मान र आत्मसम्मानमा गहिरो ठेस पुर्‍याएको महिला अधिकारकर्मीहरूको गुनासो छ। नागरिकताबाट प्रभावित व्यक्तिको सञ्जालकी अध्यक्ष दिप्ती गुरुङ भन्छिन् —’जुन देशको संविधानमा ‘बावु पत्ता नलागेको’ भनेर सगर्व महिलामाथि विभेद गरिएको छ भने अन्त कहाँ राम्रो आशा गर्न सकिन्छ ?’

त्यसैैगरी धारा १२ मा बंशजकोे आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा वुवाको नामबाट लैंगिक पहिचानसहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ भनेर लेखिएको छ।

वरिष्ठ अधिबक्ता तथा अधिकारकर्मी सपना प्रधान मल्ल नेपालको संविधान महिलाको सवालमा दक्षिण एसियाकै उत्कृष्ट भएपनि एउटी आमाले सन्तानलाई नागरिकता दिन नसक्नु विडम्वना भएको बताउँछिन्।

अध्ययन प्रतिवेदन

महिला, कानून र विकास मञ्चको २०६९ को अध्ययनले १६ वर्ष उमेर भन्दा माथिका २३.६५ प्रतिशत व्यक्तिहरूसँग नागरिकताको प्रमाण पत्र नभएको देखाएको छ। २०६८ असार मसान्तसम्ममा आमाको नामबाट एक सय २८ जनाले मात्र नागरिकता पाएको अध्ययनमा उल्लेख छ। त्यही पनि लामो प्रयास र मुद्दा जितेपछि मात्रै यो सम्भव भएको अध्ययनले देखाएको छ। गृहमन्त्रालय, नागरिकता शाखाका प्रमुख सहसचिव विनोद केसी केस हेरेर आमाको नाममा नागरिकता दिएको बताउँछन्। ‘आमाको नाममा नागरिकताका लागि धेरै नै आउँछन् त्यसमा पनि केस हेरेर हामीले काम गरेका छौं, तर कानुन बनिनसकेकाले अलि समस्याचाहिँ छ।’

876

२०५० साल देखि बाबु वेपत्ता रहेका काठमाडौं चाल्नाखेलका भोला र शान्ति नगरकोटीलाई आमाको नाममा नागरिकता नदिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरे। २०७० चैत १० गते दायर गरेको मुद्दाको फैसला गर्दै सर्वोच्चले तत्काल आमाको नाममा नागरिकता दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई परमादेश जारी गरेको थियो। तत्कालीन न्यायाधीश शुसीला कार्की र प्रकाश वस्तीको संयुक्त इजलासले नेपालको अन्तरिम संविधानमा आमा र बाबुलाई समान अधिकार दिएको भन्दै यस्तो फैसला गरेपछि ती दाजु बहिनीले आमाको नाममा नागरिकताको प्रमाण पत्र पाए।

उनीहरूजस्तै सर्वोच्च अदालत सम्म पुग्न नसक्ने लाखाैंले आमाको नाममा नागरिकता पाउन सकेका छैनन्। यसरी आमाको नाममा नागरिकता प्राप्त भएका घटनालाई पनि प्रशासनले नजिरको रुपमा लिँदैन र व्यक्तिगत घटना भनेर टारिदिन्छ। त्यसो त आमाको नाममा नागरिकता पाउने सम्बन्धमा सर्वोच्च अदालतले बलात्कारबाट बच्चा जन्माएकी दोलाखाकी सविता दमाईँको हकमा आमाको नाममा नागरिकता पाउने फैसला गरेको धेरै वर्ष भइसकेको छ, तर कार्यान्वयन भएको पाइँदैन।

नेपालको जनगणना २०४८ अनुसार २०५२ सालमा १६ वर्ष उमेर पुगेको संख्या १ करोड १३ लाख थियो भने उक्त मितिसम्म नागरिकता बाँडिएका व्यक्तिमध्ये ९ लाख व्यक्तिको मृत्यु भएको, १६ वर्ष उमेर पुगेको ३४ लाख व्यक्तिसँग नागरिकता नभएको अध्ययनले देखाएको छ । नेपालमा जन्मेको, तर बाबुआमा ठेगान नलागेको व्यक्तिले बाबु वा आमा पत्ता नलागेसम्म वंशजको आधारमा नागरिकता पाउन सक्छ। बाबुको पहिचान नभएको नेपाली आमाबाट जन्मेको सन्तानले पनि वंशजको आधारमा नागरिकता पाउन सक्छ।

गृह मन्त्रालयको तथ्यांक अनुसार २००९ सालदेखि २०७० सम्म दुई करोड १४ हजार ९ सय पचास जनाले नेपाली नागरिकता पाएका छन्। तर, महिला कानुन र विकास मञ्चले गरेको अध्ययनले २०६८ असार मसान्तसम्म १६ वर्ष उमेर पुगेका र १६ वर्षभन्दा माथिका ४३ लाखले नागरिकता पाएका छैनन्। यस्तै धनपति आयोगले पनि २०४८ सालको जनसंख्यालाई आधार मानेर उमेर पुगेका करिब ३४ लाख मानिस नागरिकताविहिन रहेको देखाएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: