चाँदनी / नुनुता /निर्मला / अम्बिका
चैत महिनाको दिन्, दिउँसोको हप्हपी गर्मी । आलस्यले त्यसैपनि सताउने । तातो हावाले मन हरहरी बनाएका बेला टाठो बनाउने उपाय हो पीरो अमिलो चटपटे ।
बाटोमा हिँड्दा होस वा घरैमा बस्दा । गर्मीको यो समय चटपटे खानु प्राय महिलाको पहिलो चाहना हुन्छ । स्वादिलो मसलाको स्वाद । चटपटेमा मिसिने चना, केराउ, भट्मास, भुटेको कचिलो मकै,दालमोठ(कतै कतै चाउचाउ) बदाम, भुजा, आलु ,प्याज, हरियो खुर्सानी र धनियाँ, बन्दा, मूला सहितको मिश्रणले खाउँ खाउँ लाग्ने बनाउँछ ।
‘बनाएको देख्दा नै खाईहालुँजस्तो लाग्छ,’ काठमाडौं लाजिम्पाटकी सिमरन गिरी भन्छिन्,‘चटपटे नखाएको दिन केही छुटेजस्तो हुन्छ ।’ उनीहरू लाजिम्पाटस्थित सरस्वती नगरको चटपटे ठेलामा पानीपुरी र चटपटे खाने गर्छन् । उनीसँगै आएकी प्रभा तिमिल्सिना पनि चटपटेको पारखी नै हुन् । ‘मलाई त बदाम हालेको चटपटे निकै मन पर्छ’, उनी थप्छिन् । दुबैले आईतबार चटपटेसँगै पानीपुरीको स्वाद लिइरहेका थिए । ‘आज अलि पिरो भो पानीपुरीको अचार’ ,उनीहरूले सुनाए, ‘प्यास बढ्यो ।’
गर्मीका बेला आलस्य भगाउनेमात्र हैन । यसले महिलामा फरक स्फूुिर्त दिने चटपटे र पानीपुरी खानेहरूको अनुभव छ । ‘बढीजसो केटीहरूले खान्छन्,’ चटपटे बनाउँदै गरेकी देवी फुयाँल बनाउँदाको अनुभव सुनाउछिन् ,‘केटाहरू थोरै खान्छन् ।’ उनी दैनिक करिब पन्द्रसय रुपैयाँको चटपटेको व्यापार गर्छिन् ।
उनीजस्तै चटपटे बिक्रेता हुन् भारतबाट आएका आदेश शाह । उनको चटपटे अलिक फरक छ । उनले चना भिजाएर टुसा उमार्छन । अनि प्याज , खुर्सानी, धनियाँ, दालमोठ, गोलभेडाका टुक्रा मिसाउँछन् । त्यसमा चटपटे मसला र कागतीको रस छर्केपछि तयार हुन्छ उनको चना चटपटे । यो भारतमामात्र हैन यहाँका मानिसले पनि रुचाएको उनले पाएका छन् । गर्मीमा यो खाएपछि शितल हुने दाबी उनी गर्छन् ।
चना स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ । उनी दिनकै दुईहजार रुपैयाँको चनाचटपटे बेच्छन् । चटपटेका पारखीका चाहनामात्र हैन, यो व्यवसाय गर्नेको गुजारा समेत टार्ने मेलो बनेको छ । उनीहरूको जीविकोपार्जनको मूख्य स्रोत नै चटपटेको व्यापार बनेको छ ।
धादिङ सल्यानटारकी सुनुमाया मगरको जिविका यही चटपटेले धानेको छ । उनी जब बनस्थली चोकमा चटपटेको ठेला लिएर दिउँसो पुग्छिन् । साँझसम्म किशोरीको भिड थेगी नसक्नु हुने उनी बताउँछिन् । दिनको दुईहजार पाँचसय रुपैयाा उनले दैनिक आम्दानी गर्छिन् ।
शनिबार ललितपुरको कर्मनासा खोला किनारमा एउटी महिला सधँै चटपटेको व्यापार गर्छिन् । जब उनी त्यहाँ पुग्छिन् । घुम्न आएकाहरूले राती अबेरसम्म पनि उनको ठेला घेरिएकै हुन्छ ।
चटपटे महिलाको जिब्रोको स्वादसँगै घुमघामको साथी पनि बन्दै छ । छुट्टीमा होस वा साथीसँग हिँड्डा चटपटे विनाको घुमघाम अपुरो ठानिने यसका पारखीहरूको भनाइ छ ।
चटपटेकोसँगै पानीपुरीको आकर्षण
चटपटेकै मसला प्रयोग गरि बनाईन्छ पानी पुरी । तेलमा फुराएको पुरीमा आलु,केराउ,धनियाँ र अन्य गेडागुडीसँगै चटपटे मसला मिसाएर मिश्रण तयार गरिन्छ । त्यसलाई पुरीमा भरेपछि अमिलो पिरो मिसिएको पानी भरेर खान दिईन्छ । पानीपुरी खाँदा गर्मीले खरो भएको ज्यानमा पानी भरिएजस्तै हुने खाँदै गरेकी सुम्निमा राई बताउँछिन् । चटपटे खानुअघि प्रायले पानीपुरी खान्छन् । त्यतिन्जेलसम्म चटपटे पनि तयार भैसक्छ । जहाँ चटपटे बेचिन्छ । त्यहीँ अचेल पानीपुरी सँगै राखिएको हुन्छ । चटपटेको आकर्षण शहरको भिडमा मात्र हैन गाउँ गाउँका स्कुलसम्म फैलिँदो छ ।
Comment Here!