पवन पौडेल
तनहुँ– हिन्दी फिल्म कि एण्ड कामा महिलाले गर्ने भनिँदै आएको घरायसी काम पुरुषले र पुरुषले गर्ने भनिने काम महिलाले गरेको देखाएको छ । महिला र पुरुषलाई फरक तरिकाले प्रस्तुत गरिएको यस फिल्मले नयाँपन दिन खोजेको छ । यस्ले धेरैको घरमा परिवर्तनको सोच ल्याउने अनुमान मात्र गरिरहँदा तनहुँ धरमपानकी बिर्खमाया गुरुङको घरमा भने पहिलेदेखिकै परिवर्तन देख्न सकिन्छ । उनका श्रीमान लालबहादुर गुरुङ घरको काम गर्छन् । बिर्खमाया समाजसेवामा खट्छिन् । विद्यालय नटेकेकी उनी नीति नियम र विकासका कुरामा घण्टौ भाषण गर्न सक्छिन् ।
अहिले बन्दीपुर नगरपालिकाको एउटा वडा बनेको गाउँमा बिर्खमाया अर्थात ‘चस्मे आमा’ लाई नचिन्ने कोही छैनन् । यस्मा उनका श्रीमान खुशी छन् । आफू भन्दा श्रीमती अघि बढेकोमा उनलाई कुनै सुर्ता छैन । उनी भन्छन् ‘उ बोल्न सक्ने पर्यो त्यही भएर सबैले खोज्छन् ।’ श्रीमतीलाई सामाजिक काममा पठाउन पाउँदा गुरुङ मख्ख पर्छन् । ‘धेरैजसो भान्साको काम मै गर्छु,, मैले नभ्याउँदा मात्र उनले गर्छिन्’ उनले भने ।
बिर्खमायालाई कहिलेकाहीँ त घरमा खाने फुर्सद पनि हुँदैन ६८ वर्ष पुगेकी उनी विहानदेखि साँझसम्मै गाउँका विभिन्न कार्यक्रममा व्यस्त हुन्छिन् । आँखामा लागेको जलबिन्दुको शल्यक्रियापछि नियमित चस्मा लगाउन थालेकाले होला उनको गाउँलेले अर्कै नाउँ जुराइदिएका छन्, ‘चस्मे आमा’ । उनलाई यो नाम सम्मानको लाग्छ ।
गाउँका डेढ दर्जन सामाजिक संस्थालाई कुनै न कुनै तरिकाले नेतृत्व दिएकी यी वृद्धा गाउँमा सर्व स्विकार्य नेतृत्वका रुपमा दुई दशकदेखि सक्रिय छिन् । कन्यादेवी आमा समूहकी संस्थापक अध्यक्ष बिर्खमाया २०५३ साल देखि नै अध्यक्ष छिन् । गाउँ महिला सञ्जालकी अध्यक्ष, महिला स्वास्थ्य स्वंयसेविका र धरमपानी सारंघाट मोटर मार्गकी कोषाध्यक्ष उनी नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि पनि हुन् । आफू अठार वटा संस्थाका बिभिन्न पदमा रहेको बताउने बिर्खमायाले तीमध्ये कतिपयमा नेतृत्व हस्तान्तरण गर्ने प्रयास पनि गरिन् ।
तर गाउँलेको दबाबका अगाडि उनको केही लागेन, भन्छिन् ‘अब त म बुढी भएँ तिमीहरूले नै नेतृत्व गर्नुपर्छ भन्यो, मान्दैनन् ।’ गाउँकाबारे जिल्ला तहसम्म निर्धक्क आवाज उठाउन सक्ने भएकैले हुनसक्छ उनलाई हरेक संस्थाको नेतृत्वमा बसिदिन अनुरोध आउने गरेको छ । ‘आमाले जति गाउँका बारे बोल्न सक्ने अझै कोही निस्किएका छैनन्, ।’
गाउँमा गर्भवती महिलाले बच्चा जन्माउन नसक्दा पनि चस्मे आमाको आवश्यकता खट्किन्छ धरमपानीबासीलाई । ‘उहाँ गएपछि सुत्केरीले पनि राहत पाउने गरेका छन्, ।’ स्थानीय लालमाया गुरुङले भनिन् । आफू आबद्ध संस्थाहरू सबैको नाम एकै पटक नसम्झे पनि उनीहरूले डाक्ने बैठकमा भने बिर्खमाया भ्याएसम्म जाने गरेकी छन् । ‘फुर्सद हुँदासम्म गएर आफूले जानेको भनिदिने गरेकी छु,’ होम स्टेको पाहुना स्वागत कार्यक्रममा सहभागी हुन आएकी बिर्खमाया अर्थात उनै ‘चस्मे आमा’ ले भनिन्, ‘नभ्याउँदा फोनबाटै सल्लाह दिन्छु ।’ गाउँका बारेमा जिल्लातहमा केही माग लिएर जानुपर्यो भने चस्मे आमा कहिल्यै छुट्दिनन् ।
बरु टोलीकै अगुवा बनेर जिल्ला तहमा पुग्ने गरेकी छन् । उनको हक्की स्वभाव देखेर होला नेतृत्व तहमा उनको आवाजले ठाउँ पनि पाउने गरेको छ । संविधानसभा निर्वाचनताका गाउँमा भोट माग्न आउनेलाई उनले दिएको जवाफको अझै गाउँमा चर्चा छ । गाउँमा मत माग्न आएका कांग्रेसका नेता शंकर भण्डारीले गाउँमा विकासको काम दिने प्रतिबद्धता जनाउँदा बिर्खमायाले भनेकी थिइन्, ‘पहिल्यै यसो गर्छु नभन्नुस् जितेपछि चाहिँ हाम्रो काम हुनुपर्छ ।’
Comment Here!