अझै पक्राउ परेनन् सामूहिक बलात्कारका आरोपी
स्थानीयद्वारा इलाका प्रशासनमा धर्ना
ज्ञानु पगेंनी
नवलपरासी । कावासोतीकी १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने दोषीलाई प्रहरीले मिलेमतोमा उम्काउन खोजेको भन्दै महिला आक्रोसित भएका छन् । उनीहरूले दोषीलाई पक्राउ गर्न प्रहरीलाई आफूहरूले सूचना दिएको, तर प्रहरीले पक्राउ गर्नुको साटो उनीहरूलाई भगाउने काम गरिरहेको आरोप लगाएका छन् ।
उनीहरूले दोषीलाई पक्राउ गर्न प्रहरीले तत्परता नदेखाएको भन्दै आज ईलाका प्रशासन कार्यालय कावासोतीमा ज्ञापन पत्र बुझाएका छन् ।
इलाका प्रशासनका निमित्त प्रमुख कमल प्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाउँदै महिलाले शनिवारसम्म दोषीलाई पक्राउ नगरे आईतवारबाट प्रशासनमा अनिश्चिकालिन तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
बलात्कारीलाई पक्राउ गर्न दवाव दिने उद्देश्यले महिलाले आज मध्यान्ह १२ बजेदेखि १ बजेसम्म एक घण्टासम्म प्रशासनको काम कारवाही समेत ठप्प पारेका थिए । चैत्र १८ गते साँझ १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने ३ जनालाई प्रहरीले फरार रहेको भनेको छ । पीडितले किटानी जाहेरी दिएपनि प्रहरीले भने खोजी कार्य भैरहको, छिट्टै पक्राउ गर्ने भन्दै टार्दै आईरहेको महिलाहरूको भनाइ छ ।
घटनाको बाल संजाल , विद्यार्थी संगठनलगायतका विभिन्न संघ संस्थाले संघर्ष समिति गठन गरी बालिका बलात्कारविरुद्ध संयुक्त अभियान नै चलाइरहेका छन् ।
धर्नामा नगरभित्रका राजनैतिक दलहरू पनि सहभागी भएका छन् । बलात्कार भएको २ हप्ताभन्दा बढी भइसक्दा पनि दोषी पक्राउ पर्न नसकेकोमा सवै आक्रोशित छन् ।
पीडित बालिकाका आफन्तले दोषीहरू पारिवारिक संरक्षण मै रहेको र आफूहरूले दिएको सूचनाको आधारमा पक्राउ नगरी प्रहरीले उनीहरूसँग मिलेमता गरेर उम्काउने काम गरेको आरोप लगाएका छन् ।
Comment Here!