रुपा गहतराज
नेपालगन्ज। तेस्रो प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबलको उपाधी भारतको रेल्वे टिम कोलकाताले चुमेको छ।
नेपालगन्ज रंगशाला कबर्ड हलमा शनिवार अबेरसम्म भएको अतिनै प्रतिस्पर्धात्मक फाईनल खेलमा रेल्वेले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १९–२५, २५–१९, २५–२३, २५–१६ को सेटमा पराजित गरेको हो। पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको एपीएफले बाँकी सेटमा राम्रो खेल प्रदर्शन गर्न सकेन। ‘पहिलो सेट राम्रो खेल्यो। रेल्वेका अग्ला खेलाडी हुनु राम्रो पक्ष भएको बताउँदै डिफेन्स पनि बलियो रह्यो ‘ एपीएफका क्याप्टेन बिनिता बुढाथोकीले भन्नुभयोे।
रेल्वे टिमका लागि प्रधानमन्त्री कप पहिलो अर्न्तराष्ट्रिय खेल थियो। रेल्वे टिमका प्रशिक्षक दिप्ती घोषले आफ्नो टिमको फाईनल खेल राम्रो भएको बताउनुभयो। उहाँले जितको श्रेय कप्तान चम्पादेवीलाई दिनुभयो। ‘निकै कडा चूनौती थियो। त्यसैले एक्लै जितेको हैन। सिंगो टिमले नै राम्रो खेलेकाले च्याम्पियन हुन सकियो’ उहाँले भन्नुभयो। उहाले खेलको हिसाबले न्यु डाइमण्डका साना खेलाडीको खेल उत्कृष्ट भएको प्रतिक्रिया दिनुभयो।
तेस्रो स्थानका लागि भएको अर्को खेलमा कडा प्रतिस्प्रर्धाबीच उत्तरप्रदेशले न्यू डाईमन्ड एकेडमीमाथि जित हात पारेको छ। उत्तर प्रदेशले सुरुका दुई सेट २७–२५ र २५–२२ ले जितेर अग्रता लिएको थियो। तर, न्यू डाइमन्डले २५–२० र २५–१७ ले दुई सेट जित्दै खेललाई बराबरीमा ल्याएको थियो। अन्तिम सेटमा न्यू डाईमन्ड ८–१५ ले पछि परयो।
मुख्य अतिथी खानेपानी तथा सरसफाई राज्यमन्त्री दिनेशन्द्र यादवले विजेता टिमलाई उपाधीसँगै १ लाख १ हजार १ सय रुपैयाँ नगद पुरस्कार र ट्रफी प्रदान गर्नुभयो। त्यस्तै, उपविजेता एपीएफ क्लबले ५१ हजार १ सय ११ रुपैयाँ र तेस्रो स्थानमा पुगेको भारतको उत्तरप्रदेश टिमले ३१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार हात पारेका छन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यू डाइमन्डकी प्रतिभा माली घोषित हुनुभयो। उहाँले १० हजार नगदसहित उपहार पाउनुभयो। त्यस्तै, उत्कृष्ट स्पाइकरको उपाधि एपीएफकी सरस्वती चौधरी, उत्कृष्ट सर्भिस एपिएफकै नेविका चौधरी, ब्लकर रेल्वेकी अनुसी घोष, सेटर चम्पा देवी, उत्कृष्ट डिफेन्सको उपाधि डायमन्डकी सलिना श्रेष्ठले प्राप्त गर्नुभयो ।
महिला भलिबल प्रतियोगिता भएता पनि खेल हेर्ने अधिकाशं दर्शक पुरुष नै थिए। दर्शकको हुटिङ एपीएफका लागि भएपनि रेलबे ले उपाधी हात पारेपछि दर्शक निराश मुद्रामा फर्किए।
Comment Here!