महिला खबर
नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिका इन्द्रपुरका मुस्लिम तथा मधेसी समुदायका १० प्रतिशत बालिकाको उमेर नपुगी विवाह हुने गरेको एक अध्ययनले देखाएको छ। नेपालगन्जस्थित फातिमा फाउन्डनेसनले इन्द्रपुरमा गरेको सर्वेक्षणबाट त्यस गाउँका बालिकाको १२ देखि १४ वर्षको उमेरमै विवाह हुने गरेको पाइएको छ।
करिब १० हजार जनसंख्या रहेको इन्›पुरमा बालिका विवाह हुनुमा परिवारको कमजोर आर्थिक अवस्था हुनुलाई प्रमुख आधार बताइए पनि अभिभावकमा शिक्षाप्रति खासै चाख नहुनु, रुढीवादी संस्कृति र छोरीलाई कम उमेरमा विवाह गरे धर्म कमाइन्छ भने पुरातनवादी अन्धविश्वासले पनि जरो गाडेको उक्त सर्वेक्षणका क्रममा पाइएको फाउण्डेसनले जनाएको छ।
यिनै कुरालाई दृष्टिगत गरी फातिमा फाउन्डेसनले सो गाविसका अभिभावक, शिक्षक, बालिका, नागरिक समाजका अगुवा, अधिकारकर्मी तथा सरोकारवाला निकायका पदाधिकारीलाई एकै थलोमा राखेर बालिका विवाह रोक्न बालिका शिक्षाको विषयमा सम्वाद कार्यक्रम सञ्चालनको अभियान नै थालेको जनाएको छ ।
अभियानले ती पक्षबीच साझा अवधारणा तयार गर्न मद्दत पुर्याउनुका साथै लैङ्गिक विभेद्लाई दुरुत्साहित गर्न, महिलामाथि कुनै पनि प्रकारको हिंसा गर्न हुँदैन भन्ने चेतनास्तर क्रमशः बढदै गएको संस्थाका कार्यबाहक अध्यक्ष मैमुना सिद्धिकी बताउनुहुन्छ ।
संस्थाले बाँके जिल्लाको परशपुर, जैसपुर, खजुराखुर्द, पुरैना, पुरैनी, उदयपुर, गनापुर, रझेना, कोहलपुर, मनिकापुर र नेपालगन्ज नगरको गोसाइँ गाउँमा बालिका शिक्षा, बालिका विवाह तथा घरेलु हिंसाविरुद्ध जागरण अभियान सञ्चालन गर्दै आएको छ।
सिद्धिकीका अनुसार कार्यक्रम सञ्चालनपछि विस्तारै अभिभावकमा बालिका तथा किशोरी अवस्थामा विवाह गर्न हुन्नभन्ने सोचको विकास हुन थाले पनि रुढीवादी परम्परा, गरिबी तथा विकासको पूर्वाधार गाउँमा पुग्न नसक्नुले परिवर्तन सहज हुन अझै धेरै समय लाग्ने देखिन्छ।
Comment Here!