रमला सिंगक
सुनसरी (धरान)। विवाह दर्ता र आवश्यक कागज प्रमाणपत्र विना नाता प्रमाणित गर्न खोजेको भन्दै नाता प्रमाणित गर्न नमानेपछि धरानमा आठ महिलाको एक समूहले धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत गणेश प्रसाद खतिवडामाथि हातपात गर्दै कार्यालय तोडफोड गरेका छन्। तर, महिलाको उक्त समूहले भने खतिवडाले घुस मागेकाले आफूहरू आक्रोसित भएको बताएका छन्। हातपात गरेपछि तत्कालै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइ हिरासतमा राखेको छ।
बरिष्ठ प्रशासकीय अधिकृत खतिवडा माथि कुटपिट गर्ने महिलाविरुद्ध सार्वजनिक अपराधको मुद्दा चलाउन उजुरी दिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले बताउनुभयो।
आफ्नो श्रीमान तीन महिनादेखि सम्पर्कमा नआएपछि कानूनी वैधानिकताका लागि नाता प्रमाणित गर्न धरान शिवमार्गकी २७ वर्षीया रेनु तामाङ आईतबार धरान उपमहानगरपालिका आएकी थिइन्। उनले शिवधारा बस्ने तीर्थ राना मगरसँग गत भदौ ६ गते विवाह भएको भन्दै नाता प्रमाणित गर्न निवेदन दिएकी थिइन्।
खतिवडाले श्रीमान र श्रीमती दुवैका नागरिकता, विवाह दर्ता, श्रीमान श्रीमती खुल्ने सरकारी निकायले दिएको कुनै पनि कागजपत्र उपलव्ध नगराएसम्म नाता प्रमाणित गर्ने अधिकार आफ्नो नभएको बताएपछि उनीसँगै गएका ८ जनाको समूहले उनीमाथि हातपात गरेको प्रहरीले बताएको छ।
पारिवारिक विवादका कारण तीर्थ रानामगर तीन महिनादेखि रेनुसँग सम्पर्कमा नरहेको प्रहरीको दावी छ।
प्रशासकीय अधिकृत खतिवडाले विना प्रमाण नाता प्रमाणित गर्न नमिल्ने, कम्तीमा विवाह दर्ताको कागज मात्र ल्याउनुस भनेको र त्यो पनि नभएको बताएपछि आफूले अरु नै उपाय पनि दिएको बताउनुभयो।
यति भन्दा पनि उनीहरू कार्यालय भित्र पसेर हल्ला गरेपछि …तपाईहरू बाहिर निस्कनुस, अरु सेवा ग्राहीहरुको काम गर्नुछ भन्नासाथ टेवलमा भएको कागजपत्र, सामग्री तोडफोड गर्दै आफूलाई ठेलेर लडाएको खतिवडाले बताउनुभयो।
वडा १३ का वडा नागरिक मंचका संयोजक नेत्र काफ्लेले रेनु तामाङको यो मुद्दा पहिले वडा नागरिक मंचमा आएको बताउनुभयो। काफ्लेले भन्नुभयो, ‘स्थानीय बासिन्दाले उनी र तीर्थ वीच गत भदौ ६ गते विवाह भएको बताएपछि वडा सचिव भानुभक्त आचार्यले नाता प्रमाणितको सिफारिस दिएर धरान उपमहानगर पालिकामा पठाएका थिए।’
धरान १३ की सामाजिक परिचालिका आइतीमाया तामाङले रेनु तामाङ पीडित भएको बताउनुभयो। उहाँले भन्नुभयो ‘रेनुको विवाह तीर्थसँग भएको देखिएपनि नाता प्रमाणित गर्न आवश्यक कानुनी वैधानिकताका लागि चाहिने कागजपत्र नभएपछि अरु उपाय पनि थिए। तर, उनीहरू अराजक भई कानुनलाई आफ्नो हातमा लिएर कर्मचारी हातपात गर्न र कार्यालय तोडफोडमा उत्रेपछि दोषीको भागीदार बने। आवेशमा आउँदा वेकारमा उनीहरूले सार्वजनिक अपराधको मुद्दा खेप्नु पर्ने भयो।’
Comment Here!