समाज धेरै नकारात्मक हुँदै गयो :नायिका प्रियंका कार्की
'मेरो मनलाई रुवाउनेहरूका लागि' भन्दै फेसबुकमा स्टाटस
नुनता राई
काठमाडौं । नेपाली सिने जगतकी चर्चित नायिका प्रियंका कार्कीले आफ्नो फोटो तथा फेसबुकको स्टाटसमा अश्लिल कमेन्ट गर्नेहरू प्रति लक्षित गर्दै स्टाटस लेखेकी छन् ।
‘मैले सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेको फोटो र म्युजिक भिडियोमा अश्लिल शब्दमा गाली गर्दा तपाइलाई आनन्द आउँछ ?’ उनले प्रश्न गरेकी छन् ।
उनले भनेकी छन् ‘यस्तै शब्द तपाईंका आफ्ना दिदी वहिनी, आमा, छोरी र भाउजुहरूलाई प्रयोग गर्दा तपाईंलाई कस्तो महशुस हुन्छ ? यस्तै हुन्छ होला मेरो परिवारलाई पनि ।’
महिला खबरसँग कुरा गर्दै उनले यो स्टाटस समाजलाई सचेत गराउन लेखेको बताइन् । उनले भनिन् ‘मलाईमात्र यस्तो कमेन्ट आउने हैन अरुलाई पनि आउँछ ।
म चुप लागेर बस्न पनि सक्थें, तर समाज सचेत हुनुपर्छ भनेर यस्तो स्टाटस लेखेकी हुँ ।’
उनले आजभोली समाज नकारात्मक बढी हुँदै गएकोले सबै सचेत हुन जरुरी रहेकोे बताइन् । साथै अन्य नायिकाहरूपनि यस्तो प्रबृत्तिविरुद्ध बोल्नुपर्ने उनको सुझाव छ । नबोल्दा यस्तोे नकारात्मक भावना हुनेहरूलाई झन प्रोत्साहन मिल्ने नायिका कार्कीको भनाइ छ ।
‘मेरो मनलाई रुवाउनेहरूका लागि’ भन्दै पोष्ट गरेको स्टाटसमा ४२ हजारले लाइक गरेका छन् भने १ हजार ३ सय अठासी जनाले सेयर गरेका छन् ।
धेरैले फोन गरेर समेत यो आफ्नो भनाइलाई समर्थन गरेको उनले बताइन् । उनले नकारात्मक सोच भएकाहरूलाई सकारात्मक बनाउन पनि स्टाटस पोष्ट गरेको बताएकी छिन् ।
‘हामी सकारात्मक भयौँ भने केही नकारात्मक सोच भएकाहरू पनि सकारात्मक हुन बाध्य हुन्छन्, यस्तो कमेन्ट्सलाई वेवास्ता गर्न पनि सकिन्छ, तर आजभोली हाम्रो समाज एकदमै नकारात्मक हुँदै गईरहेको छ’ उनले भनिन् ।
मनोरञ्जनका लागि कलाकारले चाडबाड छोडेर रातदिन मेहेनत गर्छन्, यस्तै गाली बेइज्जती सहनलाई ? भनेर प्रश्न गरेकी छिन् ।
Comment Here!