दलालका आँखा पूर्वीनाकामा


प्रकाशित मिति :2016-04-19 09:48:42

भूकम्पले घरबारविहीन भएका महिलालाई विभिन्न लोभलालच देखाएर भारत पुर्‍याउन खोज्ने दलालले अहिले पूर्वीनेपालको भद्रपुरलाई नाका बनाउन थालेको देखिन्छ ।

 अम्बिका भण्डारी

ambika (1) झापा। भुइँचालोले भत्काएको घर बनाउने सपना बोकेर विदेश हिँडेकी नुवाकोटकी २० वर्षीया सरिता स्याङ्तानलाई श्रीमानले नै बेच्लान् भन्ने लागेकै थिएन । तर, अपत्यारिलो घटनाको सिकार बनिन् उनी । मकवानपुर माइती भएकी सरिताले बाल्यकालमै आमा गुमाइन् । बाबुसँग बस्दै आएकी थिइन्, कक्षा नौमा पढ्दै गर्दा बाबु पनि बिते । मजदुरी गर्ने क्रममा नुवाकोटका अक्कल तामाङसँग भेट भयो । उनैलाई जीवनसाथी बनाइन् ।

नुवाकोटमै मिस्त्री काम गरेर पेट पाल्दै आएका तामाङ परिवारको घर १२ वैशाख ०७२ को भुइँचालोले भत्काइदियो । त्यसपछि उनीहरू समस्यामा परे । ज्याला गरेर ल्याएको पैसाले पेट पाल्न मात्रै पुग्ने भएपछि भत्किएको घर बनाउने सपना अधुरै रह्यो ।

अक्कलकी सानीआमा आँसु तामाङले विदेश गएर पैसा कमाउने उपाय सिकाइन् । सरितालाई उनको सल्लाह ठीकै लाग्यो । पासपोर्ट बनाइन् । श्रीमान अंकल र सानीआमा आँसुले सबै तारतम्य मिलाए । १२ माघमा आफैँले गाडी चढाएर अपरिचित महिलासँग काठमाडौं बसपार्कबाट सरितालाई बिदा गर्दै श्रीमानले भने, ‘दिदीले जे भन्नुहुन्छ त्यही मान्नू ।’ साथमा एक रुपैयाँ नभएकी सरितालाई माघ १३ गते झापा पुर्‍याइयो । बिर्तामोडमा दुई दिन राखेर भद्रपुर नाकाबाट भारत लैजान खोज्दा प्रहरीको सहयोगमा ‘साना हातहरू’ नामक संस्थाले उनलाई उद्धार गर्‍यो ।
संरक्षण गृहमा राखेर परिवारलाई खबर गरेपछि मात्रै सरितालाई आफू बेचिन लागिएको थाहा भयो । अन्जानझैँ भएर सरितालाई प्रहरीबाट फुत्काउन टुप्लुक्कै आइपुगे उनका श्रीमान् अक्कल तामाङ । त्यसैबेला प्रहरीले अक्कललाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा पो थाहा भयो सरितालाई सानीआमा आँसु तामाङको सल्लाहमा ६० हजार रुपैयाँमा बेचिएको रहेछ ।

उनीसँगै भूकम्पप्रभावित क्षेत्र सिन्धुपाल्चोक ज्यामिरे– ८ की १५ वर्षीया रूपा तामाङ पनि बेचिनबाट जोगिएकी छिन् । सरिता र रूपा दुवै अहिले ‘साना हातहरू’को संरक्षणमा छन् । गाउँकै स्कुलमा चार कक्षासम्म पढेकी रूपाले भुइँचालोले भत्काएको घर बनाउने र बाबुआमालाई पाल्न पैसा कमाउने सपना बोकेर दुबई जान घरबाट हिँडेको बताइन् । गाउँकै पेम्बा तामाङले उनलाई विदेश जान उक्साएका थिए ।

sarita & rupa

०७२ वैशाखमा जेठो दाजुको मलेसियामा मृत्यु भएपछि रूपाको परिवारमा ठूलो बज्रपात प¥यो । एकातिर भत्किएको घर अर्कोतिर दाइलाई पठाउँदाको साहुको ऋण । परिवारको सङ्कटको फाइदा उठाउँदै पहिलेदेखि एजेन्टको काम गर्दै आएका पेम्बाले दाउ छोपे । रूपाका अनुसार पेम्पाले तामाङ परिवारलाई छोरीको १८ वर्ष उमेर पुगेको नागरिकता बनाएर पासपोर्ट निकाल्न सल्लाह दिए । पेम्बाकै सल्लाहमा रूपाका बुबाले त्यसै गरे । यसरी १३ वर्षकी रूपाको पासपोर्ट बनाइयो ।

पासपोर्ट बनेपछि पेम्बाले रूपालाई मेडिकल गर्न काठमाडौं बोलाए । काठमाडौं पुगेकी रूपालाई भिसा आइसकेको भनेर कपडा किन्न भनेर पेम्बाले दुई हजार रुपैयाँ हातमा हाल्दिए । ‘भिसा आएको खबर घरमा आप्पा (बुबा)लाई सुनाए,’ रूपा भन्छिन्, ‘आप्पा आइपुग्न नपाउँदै पेम्बाले गाडी चढाएर अपरिचित दिदीको साथ लगाएर झापा पठायो ।’ रूपाका अनुसार पेम्बाले हिँड्ने बेलामा बाटोखर्च दिँदै भनेको थियो, ‘भारतबाट दुबई नजिक पर्छ, दिदीले जे भन्नुहुन्छ त्यही मान्नू ।’

अपरिचित महिलाका साथमा सरिता र रूपालाई दुई दिनसम्म बिर्तामोडको होटेलमा राखियो । १७ माघमा अरू दुईजना अपरिचित व्यक्तिसहित भद्रपुर जाँदै गर्दा चन्द्रगढीबाट उनीहरूको उद्धार गरिएको थियो । उद्धार हुँदाको त्यो क्षण सम्झिँदै रूपा भन्छिन्, ‘एकजना दाइले कहाँ जाने भनेर सोध्नुभयो । मैले थाहा छैन भन्नेबित्तिकै हामीलाई ल्याउने दिदी र दाजुहरू कतिबेला भाग्नुभएछ थाहै पाइनँ ।’

यसैगरी धादिङका दुई महिलालाई पनि २८ माघ ०७२ मा भद्रपुरबाट उद्धार गरिएको थियो । धादिङबेसी– ७ बस्ने २३ वर्षीया पार्वती शाही र धादिङबेसी– १ की २५ वर्षीया आशिका परियारलाई सर्लाही घर भएकी वर्ष २४ की सविना तामाङ र भारत पानीघट्टा घर भएकी ३५ वर्षीया मुन्नु तामाङले भारतको सिलगुढी घुम्न जाऊँ भनेर फकाएर झापा ल्याए । भद्रपुर नाका प्रयोग गरेर भारत जाने क्रममा दलालसहित पार्वती र आशिका पक्राउ परे ।

२१ माघमा सल्यान जिल्ला गर्पा– ९ गोठी वन घर भएकी २० वर्षीया फुलमाया बुढाथोकीलाई भद्रपुर नाकाबाटै भारत प्रवेश गरिसकेपछि भारतीय प्रहरीको सहयोगमा गलगलियाबाट उद्धार गरिएको थियो । पछिल्लो समय मानव बेचबिखनमा संलग्न दलालहरूले पूर्वीनाका भद्रपुरबाट भारत लैजाने प्रयास गरिरहेको देखिन्छ । यस्ता धेरै घटना पर्दाफास भइरहेको ‘साना हातहरू’ संस्था भद्रपुरका अध्यक्ष जगत वाग्ले बताउँछन् ।

fulmaya

उनका अनुसार सन् २०१५ जनवरीदेखि डिसेम्बरसम्ममा यो संस्थाले मात्र भद्रपुर नाकाबाट एक सय ४९ जना चेलीको उद्धार गरेको छ । तीमध्ये ४७ जना सिन्धुपाल्चोक, मकवानपुर, धादिङ र गोरखाका रहेको अध्यक्ष वाग्लेले बताए ।

माइती नेपाल पूर्वाञ्चल क्षेत्रीय कार्यालय काँकडभिट्टाले सन् २०१५ मा तेस्रो मुलुक हिँडेका, तर बेचबिखनको जोखिममा परेका दुई सय ९५ जना महिलालाई नाकाबाट उद्धार गरेको थियो । माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेका अनुसार एक वर्षको अवधिमा भारतको कोलकाता, दिल्ली, चेन्नई, आसाम, बागडुग्रा, सिलगुढी र बंगलादेशबाट ३० जना महिलालाई उद्धार गरेर ल्याइएको छ । अधिकांश महिला भूकम्प प्रभावित क्षेत्र मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा र पूर्वीपहाडी जिल्लाका छन् ।

माइती नेपाल मानव बेचबिखनविरुद्ध विगत दुई दशकदेखि क्रियाशील गैरसरकारी संस्था हो । यसले झापाको काँकडभिट्टामा पूर्वाञ्चल क्षेत्रीय कार्यालय सञ्चालन गरेको छ । इलामको पशुपतिनगर, काँकडभिट्टा, भद्रपुरलगायतका नाकामा चेकपोस्ट खडा गरी निगरानी गर्दै आएको छ ।

‘भूकम्पपछि गरिब र असहाय परिवारका युवतीलाई दुबई र साउदी पुर्‍याउने बहाना गरी भारत लैजाने गरेको पाइएको छ,’ माइती नेपालका पूर्वाञ्चल संयोजक घिमिरे भन्छन्, ‘बेचिन लगिएकाहरू नै आफूमाथि भइरहेको अन्यायबारे बेखबर हुने गरेका पाइएको छ ।’

झापाको काँकडभिट्टा र भद्रपुरमा मानव बेचबिखन रोक्न माइती नेपाल, साना हात नेपाल र एआई नेपाल नामक संस्थाहरूले छुट्टाछुट्टै कार्यालय स्थापना गरी नाकामा निगरानी बढाएका छन् । उनीहरूकै सक्रियता र प्रहरीको सहयोगमा सयौँ चेलीको उद्धारसमेत हुने गरेको छ । झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवाली प्रहरी सक्रियता बढेकै कारण विभिन्न संस्थाको समन्वयमा उद्धारका घटना वृद्धि भएको बताउँछन् ।

(संचारिका फिचर सेवा)
(अम्बिका, झापाकी पत्रकार हुन् ।)   

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: