नागरिकता पाएपछि सुन्तला विकको सबैभन्दा पहिलो योजना १५ वर्षीया छोरीको जन्मदर्ता गर्ने छ। छोरीलाई १२ कक्षा पास गराउने उनको सपना पनि पुरा भएको छ।
गायत्री खतिवडा
धादिङ । नागरिकता बनाउँन हिडेको दुःखले उनी आत्तिसकेकी थिइन्, तर हरेस खाएकी थिइनन्। उनलाई लाग्थ्यो ‘अव मेरो नागरिकता नबन्ने भो।’ गाविस र जिल्ला धाउँदा दुःख त पाएकी थिइन् नै, गाउँका मान्छेले पनि अत्याइदिन्थे ‘तेरो लोग्ने नभइकन कसरी बन्छ नागरिकता ?’ उनलाई बेला बेलामा लाग्थ्यो ‘जिउँदो हिँडेर पनि मरेतुल्य जिन्दगी बाँचिरहेको छु।’
उनी आफैँलाई भन्दा ज्यादा छोरीका लागि नागरिकता चाहिएको थियो। १५ वर्षकी छोरी १० कक्षामा पुगिन्। अहिलेसम्म जन्मदर्ता छैन। जन्मदर्ता नभएका कारण एस एल सी परिक्षाका लागि फारम भर्न मिल्दैन भनेको छ विद्यालयले। आफ्नो नागरिकता छैन, छोरीको जन्मदर्ता गर्ने कसरी ?
छोरी १२ कक्षा पास गराउने धोको अधुरो रहने भो भन्ने चिन्ताले उनलाई झन धेरै खान थाल्यो । तैपनि मनको एउटा कुनोले सोच्थ्यो ‘एक दिन त कसो नबन्ला नागरिकता !’ अन्ततः त्यो एक दिन आयो। उनको मुहारमा खुशीको छाल उम्लियो। बर्षौदेखि पीडाले खाएको अनुहारमा खुशीको रङ पोतियो।

नागरिकता पाएपछि हँसिलाे मुहारमा सुन्तला विक
धादिङ जिल्ला कटुन्जे गाविसकी सुन्तला विकको १५ वर्षको उमेरमा मागी विवाह भएको हो। विहे गरेको २ वर्षपछि छोरी जन्मिइन्। छोरी जन्मिएको ३ वर्षपछि श्रीमानले घर छोडेर हिँडे। आउलान् भनेर बाटो कुर्दाकुर्दै १२ वर्ष बित्यो। अहिलेसम्म न विहे दर्ता छ न नागरिता नै।
छोरीको जन्मदर्ता पनि छैन। शुरु शुरुमा उनलाई लाग्थ्यो अरुका पनि श्रीमान बाहिर गएका छन्। एक दिन त कसो नआउलान् र! श्रीमान फर्किन्छन् भन्ने आशमा छोरीलाई जसोतसो हुर्काइ बढाई गरिन्। १२ वर्षमा खोला त फर्किन्छ भन्थे, तर उनको श्रीमान फर्किएनन्। दुई चार वर्षपछि उनले धुइरो धुइरो सुनिन् श्रीमानले अर्को विहे गरेर अन्तै बसेका छन्। तर, आफ्नै आँखाले अहिलेसम्म देखेकी छैनन्। उनले भनिन् ‘सासु र देवर जेठाजुलाई थाहा होला, मलाई कहिल्यै भनेनन्। अरुका श्रीमान श्रीमतीसँगै हिँडेको देख्दा, सँगै बसेको देख्दा मन कुँडिन्छ। मैले के पाप गरेकी थिएँ र ? सजायँ भोग्नुपर्यो।’
श्रीमानले घर छोडेको दुई वर्षसम्म घरमा सासुसँगै बसिन्। तर सासुको पनि साथ पाइनन्। गाउँलेले पनि अनेक कुरा काट्न थाले। त्यसपछि माइतीको छहारीमा बस्ने निधो गरेर माइती फर्किइन्। त्यहाँपनि उनले सोचे जस्तो भएन। सुन्तलाले भनिन् ‘कर्म नहुनेलाई कसैले काखी च्याप्दो रहेनछ। दाजुभाइले पनि वास्ता गरेनन्। सार्वजनिक जग्गामा छाप्रो हालेर बसें। अरुको मेलापात, घाँसदाउरा गरेर छोरीलाई स्कुल भर्ना गरें। आफूले नपढेर दुःख पाएकोले छोरीलाई जसरी भएपनि पढाएर ठूलो मान्छे बनाउने धोको छ।’
जव छोरी सात कक्षा पुगिन् अनि विद्यालयले जन्मदर्ता ल्याउनु भन्यो। उनी घर गइन् र सासुसँग कुरा गरिन्। तर, सासुको जवाफले सहयोग पाउने आशा मर्यो। सासुले भनिन् ‘मेरो छोरालाई मुद्दा हाल्न नागरिकता खोजेकी, तँलाई नागरिकता बनाइदिन पनि सक्दिन।’ यो जवाफले सुन्तला नागरिकता बनाउन झन दृढ भइन् ।
गाविसमा सचिवलाई सोधिन्। गाविस सचिवले भने ‘लोग्ने खोजेर ल्याउ, अनि मात्र नागरिकता बन्छ।’ गाउँ पुगेर सोधखोज गर्दा श्रीमान बारे थाहा पाउन सकिनन्। उनले फेरी गाविस सचिवलाई गुहारिन्। गाविस सचिवले उनलाई आफ्नै जन्मदर्ता बनाएर ल्याउन सल्लाह दिए।
माइत गएर उनले आफ्नो जन्मदर्ता बनाइन् । गाविस सविचले भए श्रीमानको नागरिकताको फोटोकपी र त्यो नभए जिल्ला प्रशासनमा गएर श्रीमानको नागरिकता नम्बर ल्याउनु भने।
जिल्ला प्रशासन कार्यालयमा दुई दिन लगाएर उनले श्रीमानको नागरिकता नम्बर खोजेर ल्याइन तर, गाविस सचिवले श्रीमान स्वयं उपस्थित नभइकन नागरिकता दिन मिल्दैन भने। अब त नागरिकता पाउने भए भनेर ढुक्क भएकी उनीमाथि सारा आकाश खसेजस्तो भयो।
तैपनि हिम्मत हारिनन्। गाविस धाउन पनि छाडिनन्। गाविस सचिवले वडाको पाँच जना मान्छेको मुचुल्का उठाएर ल्याउन सुझाव दिए। उनले गाउँ सर्जिमन –मुचुल्का बनाएर ल्याइन् । श्रीमानको नाम फरक परेछ। दोस्रो पटक पुनः मुचुल्का उठाइन्।
उ
नले गाविस सचिवसँग सोधिन् ‘सर! के श्रीमान नहुने महिलाको बाँच्ने अधिकार छैन? श्रीमान बेपत्ता हुने महिला बालबच्चाले जिउने अधिकार छैन, आफ्नो हक लिन पाईदैन?’ सचिवले उल्टै धम्काए। मेरो कार्यालयमा अब आइन्दा मुख देखाउन आउने होइन ,नागरिकता चाहिने भए श्रीमान खोजेर ल्याउनु।’
आफ्नो अधिकारका लागि बोल्दा बिना गल्तीको सजाय पाएको महशुस उनलाई भयो। त्यतिबेला छोरी भएर जन्मेकोमा उनलाई धिक्कार लाग्यो । हरेक दिन नागरिकता पाउने हुटहुटीले मन अमिलो हुन्थ्यो। गाउँको आमा समूहमा आवद्ध भएर बचत खोजिन्, नागरिकता नभएकोले बचत गर्न मिलेन। हरेक ठाउँ र पमइलामा पछाडी हट्नु पर्थ्यो। सवैले भन्थे ‘तिम्रो नागरिकता छैन, बस्न मिल्दैन !’
गत सालको भूकम्पले उनी बस्दै आएको घर पनि भत्कियो। यी आमा छोरीमाथि अर्को बज्रपात भयो। घर बनाउने आफ्नो जमिन त थिएन। सार्वजनिक जग्गामा बनाएको घर भत्किएपछि भने उनले आफूलाई साह्रै वेसाहरा पाइन्। भूकम्पपछि गाउँमा विभिन्न संघ संस्थाले राहत वितरण गरे। तर उनसंग नागरिकता नभएको भन्दै गाउँका अरु मान्छे सरह पाउन सकिनन्।
कति संघ संस्थाले पैसा बाँड्यो त्यो पनि उनले पाइनन्। सरकारले १० हजार, १५ हजार बाँड्यो। त्यो झन् उनले पाउने कुरै भएन। उनलाई लाग्छ ‘एक पटक एक ठाउँबाट लखेटिएको मान्छे, हरेक ठाउँमा हरेक दिन लखेटिनुपर्ने रैछ। ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेट्छ भनेको हो रैछ।’
अहिले आएर फेरी गाउँको कसैले सुन्तलालाई उक्साइदियो, ‘तिम्रो नागरिकता बन्छ।’ जति पाउनु दुःख पाइसकियो। नागरिकता बनाउन भनेर ३ वर्षसम्म मार्पाक र कटुन्जे गाविस अनि सदरमुकाम धाउँदा धाउँदा २५ हजार रुपैयाँ सकिसक्यो। साँच्चै नागरिकता बन्छ भने किन नबनाउने भन्ने लाग्यो र फेरी सदरमुकाम झरिन्।
यस पटक पनि दुई दिन लाग्यो। कहिले के मिलेन, कहिले के मिलेन भन्दा भन्दै। अन्ततः ०७३ बैशाख ७ गते उनको नागरिकता बन्यो। १२ वर्षदेखि श्रीमानले बेवास्ता गरेर पाएको दुःख, ३ वर्षदेखि नागरिकताकै लागि भौंतारिदा पाएको दुःख र अर्काको काम गरेर कमाएको २५ हजार
सकिए पनि नागरिकता पाएको दिनले उनलाई ति सवै दुःख बिर्साइदियो। उनको आँखामा आँशु छचल्किएको थियो। नागरिकताको प्रमाणपत्र हातमा लिएपछि सुन्तलाको अनुहार चम्कियो। उनले भनिन् ‘आज मसँग बोल्ने शब्द छैन। कति खुशी छु, भनेर देखाउन मिल्ने भए देखाउँथें।
नागरिकता पाएपछि उनको सबैभन्दा पहिलो योजना नै छोरीको जन्मदर्ता गर्ने छ। मेरी छोरीलाई १२ कक्षा पास गराउँछु। अव मपनि शिर ठाडो गरेर बाँच्न पाउने भएँ। अब मेरो पनि नाम र परिचय भयो। अव म पनि मान्छे भएँ।’
Comment Here!