महिला खबर
काठमाडौं । सरकारले महिला तथा बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन ‘सुनौला हजार दिन’ जागरण अभियान थालेको छ ।
महिला गर्भवती भएदेखि बच्चा दुई वर्ष हुदाँसम्मको अवधिलाई ‘सुनौला हजार दिन’ भन्दै अभियान थिलएके हो । अभियानको शुरू गर्दै स्वास्थ्यमन्त्री रामजनम चौधरीले महिला, बालबालिका, किशोरकिशोरीका लागि ये अभियान फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले देश समृद्ध हुन गर्भवती , सुत्केरी आमा र बच्चाको स्याहार गर्नुपर्नेमा जोडदिनुभयो ।
सबै विषयगत मन्त्रालयले बहुक्षेत्रीय पोषण योजना अन्तर्गत सुनौला हजार दिन अभियानमा केन्द्रीत भई नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्नेमा उहाँले जोड दिनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले पोषणमा लगानी मानव पुँजीमा लगानी भएको बताउदैँ दीगो विकासको लक्ष्य हासिल गर्नका लागि पनि पोषणमा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
सरकारले मातृशिशु पोषण स्थितिमा सुधार ल्याउन बहुक्षेत्रीय पोषण योजना सुरु गरेको छ । अझै पनि आमा तथा बालबालिकाको मृत्युको मुख्य कारण कुपोषण भएकाले उक्त योजनाले आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउने लक्ष्य राखेको छ ।
एक हजार दिनको अवधिमा उचित पोषणले महिला तथा बालबालिकाको स्वास्थ्य सुधार्न सकेमा रोगबाट हुने मानवीय र आर्थिक भारलाई घटाउनसक्ने पनि अपेक्षा सरकारको छ । नेपालमा ३७ प्रतिशत बालबालिका दीर्घकालीन कुपोषण पुड्कोपनबाट पीडित छन्, जसको असर अपरिर्वतनीय र दीर्घकालीन हुने विज्ञहरू बताउँछन् ।
व्यवस्थापिका संसद, महिला, बालबालिका ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झाले सुनौला हजार दिन जनजागरण अभियानले भोक, रोग, अशिक्षा र गरिबीको कारण व्याप्त कुपोषणको समस्या हल गर्न व्यवस्थापिका संसदका सबै समिति र सरोकारवाला मन्त्रालय समन्वयात्मक रुपमा अघि बढ्नुपर्ने बताउनुभयो ।
युरोपेली सङ्घका नेपाल प्रतिनिधि रेन्जे टिरिङकले पोषण बहुआयामिक विषय भएकाले यसका लागि पनि बहुक्षेत्रीय पहल गर्न आवश्यक पर्ने बताउनुभयो । उहाँले भन्नुभयो—‘‘ यो अभियानले मातृशिशु तथा बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउने विश्वास लिएको छु ।’’
युनिसेफका नेपाल प्रतिनिधि टोमो होजुमीले १००० दिनको संवेदनशील समयमा उचित पोषण र हेरचाह गर्दा बालबालिकाको शारीरिक तथा मानसिक क्षमतामा गहिरो प्रभाव पार्ने उल्लेख गर्नुभयो । सोही अवसरमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई पोषण, खाद्य सुरक्षा तथा सुनौला हजार दिन जनजागरण राष्ट्रिय अभियानका लागि राष्ट्रिय सद्भावना दूत घोषणा गरियो ।
नवघोषित सद्भावना दूत खड्काले आफ्ना घरपरिवारका गर्भवती महिला, सुत्केरी आमा तथा बालबालिकाको उचित हेरचाह, पोषिला खाना तथा सरसफाइमा ध्यान दिन सबै पुरुषलाई आग्रह गर्नुभयो ।
सो अभियान नेपाल सरकार (राष्ट्रिय योजना आयोग, स्वास्थ्य मन्त्रालय) युरोपेली सङ्घ र संयूक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को सहकार्यमा सुरू गरिएको हो ।
Comment Here!