‘माई मदर इज हाउस वाइफ’


प्रकाशित मिति :2016-04-23 10:00:11

रमला सिंगक

ramala ggggसबै कामकाजी महिलाको प्रत्येक दिन हतारोमै वितिरहेको हुन्छ । साँझ, विहान र बेलुकीको फरक—फरक डिउटी । त्यही हतारोमा थपिन्छ वच्चावच्चीलाई (होमवर्क) गराउने काम । सामुदायिक विद्यालय र त्रिवि कलेज पढेकी मलाई नीजि विद्यालयको अंग्रेजी पाठ्यक्रम वुझ्न कहिलेकाहीँ अंग्रेजी शब्दकोष नै हेुर्नपर्छ ।

 एकदिन एलकेजीमा पढ्ने मेरो छोरोेले ‘होमवर्क’को भारी नै वोकेर आयो । कापी हेर्दा अंग्रेजीमा ‘अल एवाउट माइसेल्फ’ भन्ने खाली ठाउँ भर्नु पर्नेरहेछ । मैले छोरोलाई ‘माइ फादर इज जर्नालिष्ट । माइ मदर इज जर्नालिष्ट ।’ भनेर सामान्य रुपमा सिकाएर पठाएँ ।  त्यसैबेला छोरोले ‘जर्नालिष्ट’ भनेको के हो भनेर फेरि सोध्यो । उसले वुझ्ने गरी विभिन्न घट्नाको समाचार लेख्ने मान्छेलाई जर्नालिष्ट भनिन्छ भनेर सिकाएँ । हुन त उसले प्रत्येक विहान घरमा हकरले ल्याइदिने पत्रिकालाई समाचार भनेर वुझेको रहेछ । प्रत्येक विहान गेटमा आएको पत्रिका टिपेर ल्याउंदै ‘वावा तपाईको समाचार आयो ।’  भन्ने उसको  रुटिन जस्तै वनेको छ ।

बेलुकी छोराछोरी स्कुलदेखि फर्किएपछि ‘होमवर्क’ चेक गर्नु प्रत्येक महिलाको डिउटी नै वन्छ । यसमा कमै मात्र पुरुषले वच्चाको होमवर्क चेक गर्न भ्याउँदा हुन् । छोरो स्कूलदेखि आएपछि सदाझंै त्यो दिन पनि कापी किताव चेक गर्न थालें । त्यतिकैमा छोरोले मेरो हातमा भएको कापी तानेर ‘ममी तपाईले मलाई गल्ती सिकाउनु’ भएछ भन्यो ।

‘मैले के गलत सिकाएँ ?’ भनेपछि छोरोले त्यो पेज निकाल्यो । के रहेछ भनेर हेर्छु त हिजो मैले सिकाएको ‘माइ फादर इज जर्नालिष्ट’ र ‘माइ मदर इज जर्नालिष्ट’ भन्ने प्रश्नको उत्तर गलत रुपमा पो सच्चिएर आएको रहेछ । त्यो सच्चिएको ठाउमा ‘माइ फादर इज जर्नालिष्ट’ र ‘माइ मदर इज हाउस वाइफ’ भनेर रातो अक्षरले लेखिएको रहेछ । शायद स्कुलमा उसलाई पढाउने शिक्षक÷शिक्षिकाले सच्याइदिएको होला ।
मलाई मेरो छोरोले हाउसवाईफ भनेर नरमाईलो मानेको होईन । वच्चाले जे सिक्यो, उसलाई जे सिकाइयो त्यही वुझ्ने रहेछ । हामी अहिले समाज परिवर्तनको कुरा गर्छौं । महिला र पुरुष  समान हुन् । शारिरीक वनावट फरक भए पनि । समान अधिकार, समान जिम्मेवारीलगायतलैंगिक सन्तुलनका कुरा गरिरहँदा हामी  कतै न कतै चुकेका त छैनौं भन्ने कुराले मलाई च्वास्स घोच्यो ।

महिला अर्थात नारी के सधैं गृहिणी नै मात्र भएर बस्छन् ? के महिलाले अरु पेशा, पद प्रतिष्ठान, प्रगती गर्न सक्दैनन् ? गृहिणी  हुनु आफैँमा नराम्रो होइन । तर अरु पेशा अपनाइरहेको अवस्थामा हाउसवाइफ मात्र भनेर अरुले विल्ला लगाइदिँदा, स्कुलका कुनै शिक्षक शिक्षिकाले गृहकार्य कापीमा ‘योर मदर इज हाउस वाइफ’ भनेर सिकाइदिँदा बालबालिकामा आमा भनेको हाउस वाइफ, घरको चारघेरा भित्र बसेर खाना पकाउने, लुगा धुने र सरसफाइ गर्ने भन्नेमात्र सिक्न पुग्छन् भन्ने मेरो आशय हो । तैपनि अहिलेको गृहीणीको काम समेत जिडीपीमा गणना हुनुपर्छ भनेर वहस पनि भइरहेको छ ।

बच्चाका लागि पहिलो विश्वविद्यालय उसको आमा हो । अनि आमाको काख उसको कक्षा कोठा हो । त्यसपछि हुँर्कदै गएपछि प्री नर्सरी, नर्सरी, एलकेजी, युकेजी, हुँदै विद्यालयमा औपचारिक कितावी ज्ञान सिक्न थाल्छ । यसरी सिक्दा विद्यायलमा शिक्षक शिक्षिकाले जस्तो सिकायो वच्चाले त्यस्तै नै सिक्ने रहेछ भन्ने कुरा मेरो छोरालाई हेरेर वुझें । अचेल उसलाई घरमा आमा वाबु वा घरका अन्य सदस्यले सिकाएको कुरा भन्दा सर मिसले विद्यालयमा सिकाएको विषयले मनोवैज्ञानिक रुपमा चाँडो प्रभाव पार्दोरहेछ ।

त्यसैले प्रत्येक विद्यालयले सो विद्यालयमा पढाउने शिक्षक शिक्षिकालाई लैंगिक र लैंगिक समानता विषयमा प्रशिक्षित गरायो भने भविष्यमा हामीले सोचेको हामीले चाहेको जस्तै समतामुलक समाज र देश वन्न सक्छ । तर, कठै आधुनिक जमानामा पनि स्कुलमा बालमनोविज्ञानमा आधारित लैंगिक र लैंगिक समानता विषयको सिकाइ र प्रशिक्षित सर मिस भेटिन्न । शहरमा बालमनोविज्ञानकाआधारमा पठन पाठन हुने अव्वल दर्जाको स्कुल भनेर प्रचार गरिएका कतिपय स्कुलहरू समेत गफ र विज्ञापनमा सिमित छन् ।

लैंगिक र लैंगिक समानताका आधारमा बालबालिकालाई कुनै सिकाइ भएको मैले पाएको छैन । मेरै अनुभवमा भन्ने हो भने, वच्चाको कपडा फोहोर भए, किताव कापी च्यातिए, नङ लामो भए, कपाल लामो भए ममीलाई यसो गर्नु रे त्यसो गनु रे भनेर पठाईन्छ । घर आएपछि वच्चाले ममी ‘मिसले भन्नु भएको मेरो लुगा धोइदिएर सफामात्र लगाइदिनु रे, नङ काटी दिनु रे’ आदि सूचना लिएर आउँछ । ममीको ठाउँमा ममी र बावालाई भन्नु भनेर किन भनिएन भन्ने प्रश्नको उत्तर स्कुलमा लैंगिकतामा आधारित ज्ञान प्राप्त शिक्षक शिक्षिकाको  अभाव छ भन्दा अत्युक्ति नहोला ।

शिक्षक शिक्षिकाले ममीको ठाउँमा र वावा मात्र थपिदिए बच्चाले मेरो लालनपालन, पठन पाठन लगायत सबै काम तथा जिम्मेवारीमा आमा वावा दुवैको वरावरी भूमिका हुँदोरहेछ भन्ने बुझ्न सक्छ । र  त्यही विषयलाई जोड दिन्छ, तर उसले जहिले पनि घरधन्दालगायत उसको लालनपालनमा ममी मात्र देख्छ । भविष्यमा उसले हेर्ने दृष्टीकोण र व्यवहार पनि यसैले दिशानिर्देश गर्छ ।

विद्यालयका कति शिक्षक शिक्षिकाले लैंगिकताको  विषयमा वुझ्नु भएको होला भन्ने विषयमा कहिलेकाहीँ चिन्तन गर्छु । अहिले पनि हामी सवैलाई सामाजिक संरचना र पितृसतात्मक सोचले गाँजेको छ । त्यसैले पेशा खुलाएर दिएको उत्तरलाई पनि गलतरुपमा सच्चाएर पठाउँछौं । त्यतिमात्र होईन, साँच्चि नै महिला पुरुषलाई समान नजरले हेर्न र समान रुपमा कामको वाँडफाँटलगायतका विषयमा समानता भएको हेर्न चाहन्छांै भने यी मुद्दालाई औपचारिक शिक्षा र ज्ञान दिने स्कूलबाटै सुरुआत गर्नुपर्छ । लैंगिक समानता  विषयमा सानैदेखि आजका बालबालिका जानकार हुनेछन् भन्ने मलाई लाग्छ ।

वच्चाले समाज, परिवार र विद्यालयबाटै, नैतिक मूल्य र मान्यता सिक्ने हो । विद्यालय भनेको यस्तो पाठशाला हो जसमा गलत कुरालाई पनि सहि हो भनेर सिकायो भने वच्चाले त्यसलाई नै सहि हो भनेर सिक्न सक्छ । त्यसैले जरैदेखि वच्चालाई वाबा र ममीको भूमिका र जिम्मेवारी वरावरी हो भनी सिकाउँदै लैजाने हो भने मात्रै लैंगिक समानता व्यावहारिक रुपमै सफल हुन सक्छ । कुनै पनि बच्चाले घरमा अनौपचारिक शिक्षा हासिल गर्छ भने विद्यालयवाट औपचारिक शिक्षा प्राप्त गर्छ । यसर्थ, लैंगिक  विषयमा औपचारिक ज्ञान विद्यालयबाट बच्चाले पाउनुपर्छ । यसो गर्दा ‘माइ मदर इज जर्नालिष्ट’ भएको ठाउँमा गलत रुपमा सच्चिएर ‘माइ मदर इज हाउस वाइफ’ हुँदैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: