सडक विस्तारमा पुरुषसँगै महिला पनि जुटेपछि..


प्रकाशित मिति :2016-04-24 11:03:35

प्रकाश सिलवाल

ओखलढुङ्गा, । ‘महिला भएर यस्तो काम गर्न गाह्रो हुँदैन ?’ चर्को घामको पर्वाह नगरी सडक विस्तारमा व्यस्त प्राप्चा गाविसकी शम्भुकुमारी सार्कीको जवाफ छ – ‘आफ्नै गाउँको बाटो हो । हामी पुरुष र महिला सबै मिलेर बनाउन लागेका छौँ ।‘

पहिरोले ल्याएका ठूल्ठूला ढुङ्गा फोर्ने र ढुङ्गा बोक्ने काममा पनि पुरुष जत्तिकै सक्रिय शम्भुकुमारीको अर्को पनि बाध्यता छ । भूकम्पले घर भत्किएको छ । खेतीपातीले मात्र खान पुग्दैन । गाउँमा बाटो बनाउने परियोजनामा उपभोक्ता समितिसँग मिलेर काम गर्दा सन्तोषजनक पारिश्रमिक पनि मिल्ने गरेको छ । त्यसैले उहाँ भन्नुहुन्छ – ‘पाएको काम नपाएर के गर्नु ? खानु पनि त पर्यो नि !’

शम्भुकुमारीले झैँ सडक विस्तारको काममा जुटिरहनुभएको श्रीचौर निवासी हिसिला शेर्पा  । महिलालाई यस्तो काम गर्न केही असहजता भएपनि गाह्रो नहुने, काम गर्ने सबैले बराबरी पैसा बाँडेर लिने भएकाले यसमा खट्नुको बेग्लै उत्साह रहेको बताउनुहुन्छ ।

road

प्रौढ महिलामात्र होइन विद्यालय उमेरका महिला पनि यो काममा खटिएका देखिन्छन् । कक्षा ५ मै पढाइ छाडेर सडक विस्तारमा होमिएकी श्रीचौरकी १९ वर्षीया डोमा शेर्पा पैसा कमाउन काममा आएको बताउनुहुन्छ । पढाइ किन छाडेको त ? भन्ने प्रश्नमा डोमाको भनाइ छ – ‘काम नगरी खान नपाइने भयो । पढ्न गए काम छुट्ने भयो ।‘

गरिब, विपन्न र सीमान्तकृत समुदायसमेत रहेका प्राप्चा, श्रीपुर र हर्कपुरलगायत गाउँका बासिन्दा समूह समूहमा बाँडिएर जिल्लाको रामपुरदेखि खिजी फलाटेसम्म जोड्ने सो हर्कपुर–प्राप्चा–श्रीचौर सडक विस्तार र स्तरोन्नतिमा लागेका छन् । जिल्ला सदरमुकाम ओखढुङ्गाबाट खिजी फलाटेसम्म कुल ६७ किमीको सो बाटोअन्तर्गत ४४ किमीको रामपुर–खिजी फलाटेखण्डमा जनश्रमदानबाट नमुनाका रुपमा सडक विस्तार कार्य जारी छ । गत वर्षको भूकम्पपछि केही समय रोकिएको सडक अहिले धमाधम पुनःनिर्माण भइरहेको छ । यसअघि विकास र सहकार्यका लागि स्विस नियोग (एसडिसी) कार्यक्रमअन्तर्गत रामपुरबाट प्राप्चासम्मको खडक विस्तार भएको थियो ।

सडकबीचको विभिन्न खोलामा पहिरोको अवरोधबाट गाडी चल्न नसक्दा स्थानीय जनताले खच्चरसमेतको प्रयोग गरी बालुवा बोक्नेजस्ता काम गरिरहेका छन् ।

स्विस सरकारको अनुदान र स्थानीय सरकारको सहकार्यमा सञ्चालित स्थानीय सडक पुल परियोजना (एलआरबिपी) कार्यक्रमले यो सडकखण्ड सन् २०१८ सम्म पूरा गर्ने लक्ष्य लिएको छ । सडक निर्माणमा मानव स्रोतमात्र लगाई जनसहभागिता र आयआर्जनमा वृद्धि गर्ने यसको लक्ष्य देखिन्छ । यसमा ब्लास्टिङ नगरिने, डोजर, स्काभेटरजस्ता आधुनिक मेसिन प्रयोग नगरी कुटो, कोदालो, गैती, बेल्चाजस्ता सामग्री मात्र प्रयोग गरिन्छ । यो परियोजनाको नीतिअनुसार एउटा समूहमा १५ देखि २५ जना कामदार हुन्छन् । यस्ता समूह ४५ वटा छन् ।

जिल्लाको क्षेत्र नं १ का सांसद यज्ञराज सुनुवार दुई वर्षभित्र जिल्लालाई सबै गाविसमा सडक सञ्जाल जोड्ने लक्ष्य लिइएको बताउनुहुन्छ । एलआरआइसी कार्यक्रमअन्तर्गतका सडक विस्तारमा डोजरभन्दा जनताका हात बलियो देखिएको उहाँको भनाइ छ । नेकपा (एमाले) केन्द्रीय सदस्यसमेत रहनुभएका उहाँले भन्नुभयो – ‘पूर्वाञ्चलको कर्णाली मानिने ओखलढुङ्गामा यस्ता कार्यक्रमले गरिबी निवारण र आयआर्जनमा प्रत्यक्ष लाभ दिइरहेको छ । म जनसहभागिताको प्रशंसा गर्न चाहन्छु ।‘

हर्कपुर–प्राप्चा–श्रीचौर सडक उपभोक्ता समितिका अध्यक्ष दयाराम सुनुवार जनश्रमको नमुनाका रुपमा सडक विस्तार कार्यक्रम सञ्चालन भएकाले यसमा सबैको उत्साहजनक सहभागिता रहेको बताउनुहुन्छ । उहाँले यसमा ३५ प्रतिशत महिलाको अनिवार्य सहभागिता हुने सर्तले पनि महिलाको उपस्थिति देखिएको जनाउनुभयो । परियोजनाले हालसम्म  १६ करोड रुपैयाँको जनश्रम खर्चमा वितरण गरिसकेको छ ।

स्विस सरकारको आर्थिक तथा स्थानीय सडक पुल कार्यक्रमको प्राविधिक सहयोगमा जिल्लामा अन्य पाँच सडक तथा पुल निर्माण भइरहेका छन् । ओखलढुङ्गा–घोराखोरी–साँघुटार सडकअन्तर्गत सेरा खोला र पत्ताले खोला तथा फेदिखोला, ओखलढुङ्गा–निशङ्खे–रवुवा–खानीभञ्ज्याङ सडकअन्तर्गत ठोट्ने खोला र रामपुर–प्राप्चा–श्रीचौर सडकअन्तर्गत हर्कपुर र प्राप्चाको सिमानामा पर्ने खोलामा पनि यिनै समूहका कामदार सक्रिय छन् । परियोजनाले समय समयमा यी कामबारे सार्वजनिक परीक्षण पनि गर्दै आएको छ ।

करिब डेढ दशकको समय लगाएर माथिल्लो सगरमाथाको प्रवेश ढोका मानिने सुनकोसीमा पुल बनाइएपछि जिल्लामा सडक सञ्जाल विस्तारको क्रम बढेको हो । सडक विस्तार पूर्ण भई स्तरोन्नति भएमा एक सय किलोवाटको स्थानीय मोलुङ खोला कात्तिके लघुलजविद्युत् आयोजनाले पनि लाभ लिने देखिन्छ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: