५ महिनामा ५७ जना महिला सुरक्षित आवासमा
चेतनाका कारण घटना बाहिर आउन थाले
ज्ञानु पंगेनी
नवलपरासी । नवलपरासीको महिला तथा बालबालिका कार्यालयद्वारा सञ्चालित सुरक्षित आवासमा ५ महिनाको अवधिमा ५७ जना हिंसा पीडित महिला तथा बालबालिकाले आश्रय लिएका छन् ।
यीमध्ये घरपरिवारबाटै कुटपिटमा परेका २६ जना महिलाले सुरक्षित आवासमा आश्रय लिएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख उर्वरा लुईटेलले बताउनुभयो ।
तथ्यांक अनुसार गाली बेइज्जतीका १३ ,बेवारिसे फेला परेको १ जना, बहुविवाहको १ जना, घरनिकाला ५ जना, सम्बन्ध विच्छेदका १ जना र छिमेकीबाट हिंसामा परेका ६ जना महिलाले सुरक्षित आवासमा आश्रय लिएको प्रमुख लुईटेलले जानकारी दिनुभयो ।
२०६६ सालदेखि कार्यालयले सुरक्षित आवास सञ्चालनमा ल्याएपछि नवलपरासी र रुपन्देहीका हिंसा पीडित महिलाहरू आश्रय लिँदै आएका छन् । हालसम्म कुल १ हजार ४ सय ८२ जना महिला आवासमा आश्रय लिइसकेको छन् । त्यसमध्ये कुटपिटबाट ५ सय ९३ र गालीबेइज्तीका ३ सय ७७ जना हिंसामा परेका थिए । त्यसैगरि यौन दुव्र्यहारमा परेका ३४,बेवारिसे २०,बहुविवाहका ६७,सम्बन्ध विच्छेदका ६९, छिमेकीबाट हिंसा ५५, प्रभावित १ सय २९, आर्थिक हिंसाका ३७, श्रमशोषणका ३, बैदेशिक रोजगारका ६ र अन्य नाता कायमका १२ जना महिला सुरक्षित आवासमा आश्रय लिई कानुनी र स्वास्थ्य उपचार गराई पुर्नस्थापित भएको प्रमुख लुईटेलले जानकारी दिनुभयो ।
लैगिंक हिंसाविरुद्ध कामहरू भएपनि नवलपरासीमा हिंसामा कमी आउन नसकेको प्रमुख लुईटेलको भनाई छ ।
महिलाहरू अन्यायविरुद्ध बोल्न र लड्न थालेकाले पनि घटना धेरै देखिएको हुनसक्ने उहाँको भनाई छ ।
गएका वर्षको तुलनामा हिंसाका घटना पछिल्लो वर्षमा धेरै दर्ता हुनुले महिलाहरू हिंसा सहेर बस्ने छाडेको हिंसा विरुद्ध लड्न थालेको पाईएको उहाको बुझाई छ ।
महिला हिंसाका घटनामा कमी ल्याउन र निर्मुल पार्नका लागि राजनीतिक दल, समाजिक अगुवाहरूसँगसँगै सञ्चार क्षेत्रले पनि महत्वपुर्ण भुमिका खेल्नु पर्ने लुइटेल बताउनुहुन्छ ।
Comment Here!