शर्मिला बुढाथोकी

पीडित प्रजिना बुढाथाेकी
दोलखा। श्रीमानले नागरिकता पनि नबनाई दिएको, विवाह दर्ता पनि नगरेको र आर्थिक सहयोग समेत नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय दोलखामा न्याय माग्न गएकी एक महिलालाई दोलखाका प्रमुख जिल्ला अधिकारीले सार्वजनिक अपराधको मुद्दा लगाई ५ दिन हिरासतमा राखेका छन्।
प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीसँग न्याय माग्न पुगेकी दोलखा शैलुङ्गेश्वर गाविसकी प्रजिना बुढाथोकीलाई प्रमुख जिल्ला अधिकारी शाहीले सार्वजनिक अपराधमा मुद्दा दर्ता गरेर हिरासतमा राखेका हुन्।
घरेलु हिंसा पीडित न्याय माग्न पुगेकी प्रजिना बुढाथोकीलाई आफूले पटक पटक यो विषय आफ्नो कार्यक्षेत्रमा नपर्ने भएकोले पहिले नाता प्रमाणीत गरेर आउन भनेपनि उनले उल्टै आफूलाई फोनबाट गालीगलौज गर्ने, पैसा खाएर न्याय नदिएको भन्दै आरोप लगाएका कारण सार्वजनिक अपराधको मुद्दा लगाएको दाबी प्रमुख जिल्ला अधिकारी शाहीले गरेका छन्।
उनले आफ्नो मानमर्दन गर्ने जस्ता कृयाकलाप गरेकोले प्रहरीमा जानकारी गराएको र प्रहरीले सार्वजनिक अपराधमा मुद्दा चलाएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी शाहीले प्रजिनाले आफूले गालिगलौज गरेर ठूलो गल्ती गरेको भन्दै माफी मागेकोले पाँच सय रुपैयाँ जरिवाना तिराएर रिहा गरिएको बताएका छन् ।
डेढ महिनादेखि न्यायका लागि पटक पटक जिल्ला प्रशासन कार्यालय दोलखा धाएकी बुढाथोकीलाई प्रमुख जिल्ला अधिकारी शाहीले गत बुधवार गालीबेईज्जती गरेको आरोपमा सार्वजनिक अपराधमा मुद्दा दर्ता गरी हिरासतमा राखेका थिए।
तत्कालीन नेकपा माओवादीका जिल्ला सेक्रेटरी रेशमराजश्वराज रिमालले २०६० सालमा विवाह गरी पोखरामा पसल समेत राखेरसँगै बसेको र पछि खटपट भएपछि आर्थिक सहयोग समेत नगरेको पीडितका बुबा भरतबहादुर बुढाथोकीले बताए। प्रजिनाका श्रीमान रिमालले नागरिकता बनाउने र नाता प्रमाणित गरिदिने आश्वासन पटक पटक दिएपनि बिभिन्न बहानामा पन्छाउने गरेको पीडितका बुवा भरतको भनाइ थियो ।
रेशम र प्रजिनाकी एक छोरी छन्। चैत महिनादेखि न्यायको लागि प्रमुख जिल्ला अधिकारीकोमा धाउँदै आएकी प्रजिनालाई समस्या बुझेर न्याय दिनुपर्नेमा उल्टै सार्वजनिक मुद्दा लगाएर प्रहरी हिरासतमा राखेर राणाकालिन शासनको झल्को दिएको नेकपा एमाले दोलखाले लगाएको छ।
एमाले दोलखाले शुक्रवार पत्रकार सम्मेलन गरी पीडित महिलालाई टेलिफोनमा भएको कुराकानीको आधारमा सार्वजनिक मुद्दा लगाएर हिरासतमा राख्नु हदैसम्मको अन्याय भएको भन्दै एमालेले यस्ताखाले हरेक अन्याय, अत्याचारविरुद्ध संघर्ष गररिहने जनाएको छ।
प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेले शैलुङ्गेश्वरको प्रजिना बुढाथोकीले प्रमुख जिल्ला अधिकारीलाई धम्की दिँदै गालीबेईज्जती गरेको दाबी गर्दै सार्वजनिक अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको र उनले माफी मागेकोले सोही अनुसार मुद्दा अगाडि बढेको बताएका थिए।
पीडित प्रजिनाको श्रीमान रेशमराजश्वराज रिमालले विज्ञप्ति जारी गर्दै आफुसँग जोडिएको विषयमा प्रजिनालाई मुद्दा लगाएर थुनेको खबरले दुःखी बनाएको उल्लेख गर्दै उनलाई रिहा गर्न माग गरेका थिए ।
Comment Here!