तीन वर्षभित्र अण्डा, दुध र मासुमा आत्मनिर्भर बन्ने : मन्त्री मानवी
लक्ष्मी गौतम
पाँचथर। पशुपंक्षी विकास मन्त्री शान्ता मानवीले भाषण र गफ गर्ने जमाना अन्त्य भइसकेको भन्दै तत्काल परिणाम आउने काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ।
जिल्ला पशु सेवा कार्यालय पाँचथरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मानवीले पशु र कृषि विकास कार्यालय जनतासँग प्रत्यक्ष सम्वन्धित रहेकाले यसक्षेत्रमा आमुल परिवर्तनका लागि सवै लाग्नु पर्ने वताउनुभयो।
संविधान जारी भएसँगै मुलुकको राजनीति पनि संस्थागत भइसकेकाले अव राजनेताले समेत मुलुकको समृद्वीका लागि सोचेर योजना तर्जुमा गर्नु पर्ने बेला आएको उहाँको भनाई थियो।
पशुपंक्षी विकास मन्त्रालयको गठनसँगै मन्त्रालयले सरोकारवाला र विज्ञहरूसँग सुझाव लिएर कृषक केन्द्रित कार्यक्रमलाई जोड दिने योजना अगाडी सारेको जानकारी उहाँले दिनुभयो।
“उत्पादन बढाएर निर्यात घटाउने लक्ष्य अनुसार नै मन्त्रालयले पहिलो वर्ष अण्डा,दोस्रो वर्ष दुध र तेस्रो वर्षदेखि मासुमा आत्मनिर्भर बन्ने योजना वनाएको छ” – उहाँले भन्नुभयो।मासु र दुग्ध उत्पादनलाई प्रर्वद्धन गर्न गोठदेखि ओठसम्म स्वच्छ र स्वस्थ दुध तथा बधशालादेखि भान्छासम्म स्वस्थ र स्वच्छ मासु भन्ने कार्यक्रम अगाडी वढाएको पनि उहाँको भनाई थियो।
यसैविच मन्त्री मानवीले यसैवर्षदेखि निर्माण हुन लागेको जिल्ला पशु सेवा कार्यालय पाँचथरको भवनको सिलान्यास पनि गर्नुभयो।।
Comment Here!