रुपा गहतराज
नेपालगन्ज। बाँकेको मटेहिया गाबिसमा हुन लागेको बालविवाह नाटकिय रुपमा रोक्न प्रहरी सफल भएको छ । इलाका प्रहरी कार्यालय भगवानपुरले गत शनिवार रातभरि कार्वाही चलाएर बालविवाह रोकेको हो।शनिवार सम्पन्न हुने विवाहलाई २ दिन अघिदेखि नै निगरानी गर्दै आएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय भगवानपुरका अनुसार विवाह हुने निश्चित भएपछि सोही बमोजिम प्रहरी दस्ता बाहिरबाट पनि बोलाइएको थियो ।
राति ४ बजेसम्म दरलाहा दुलहीको गाउँदेखि बाटोसम्म प्रहरी तैनाथ गरिएको थियो। यसो हेर्दा त कुनै उच्च अधिकारी आउन लागेको संकेत देखिन्थ्यो, तर त्यस्तो नभएर प्रहरी कारवाही बालविवाह रोक्न भएको हो।
‘मटेहिया गाबिस वडा नं.४ बस्ने केशवराम यादवले आफ्ना १३ वर्षीय छोराको विवाह गर्न लागेको सूचनाको आधारमा कारवाही थाल्यौं र विवाह हुने भनिएको केटी पक्षको गाउँ मटेहिया ८ जमुनाहा गाउँको नाका सिल गर्यौं, जन्तीलाई बाटोबाटै फर्कायौं’ बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राईले भन्नुभयो, ‘जे होस सफलता प्राप्त भएको छ बालबिबाह रोक्न सफल भइयो।’
प्रहरीका अनुसार केटीको उमेर भने २० वर्ष रहेको बताइएको छ। केटा पक्षले बालविवाह रोके विवाद गर्ने चेतावनी दिएपछि इलाका प्रहरी कार्यालय भगवानपुरले फत्तेपुर देखि कटकुईंया सम्म ७ वटा प्रहरी चौकीबाट समेत प्रहरी दस्ता मगाएर विवाह स्थलदेखि केटी पक्षको घरसम्म कब्जा गरेको थियो।
‘जमुनाहा गाउँ तिर जाने व्यक्तिबाट पनि सोधपूछ र खानतलाशी भयो, जन्ती जानेहरू विच बाटो बाटै फर्किए, दुलही पक्षले गरेको व्यवस्थापन सबै खेर गयो’ एक निम्तालु ले भने –’यस्तो कसैको विहेमा नहोस्।’
स्थानीयको सहयोगमा नै प्रहरीले सफलता हात पारेको स्थानीयहरुको बुझाई छ। बालविवाह रोक्न झण्डै ३६ जनाभन्दा बढी प्रहरी परिचालित गरिएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ।
यसअघि इलाका प्रहरी कार्यालय भगवानपुरले बालविवाहको आरोपमा दुलहा दुलही पक्ष, जन्ति समेतलाई थुनामा हालेर कारवाही अघि बढाएको बाँके प्रहरी प्रमुख एसपी टेक प्रसाद राईले जानकारी दिनुभयो।
Comment Here!