सर्मिला बुढाथोकी
दोलखा। वैशाख महिनाको चर्को घाम र मकै छर्ने चटारो, आफ्नै दिनचर्यामा व्यस्त दोलखाली गत साल वैशाख १२, १३ र २९ गतेको प्रलयकारी महाभूकम्प र त्यसपछि आइरहेका पराकम्पनको असह्य पीडा खेप्न बाध्य भए ।
गर्ल्यामगुर्लुम ढलेका घर, आफन्त गुमाएको पीडा, छोराछोरीको चित्कार ! जोहो गरेर राखेका अन्न माटोसँग मिसिएपछि भोलीको कल्पना गर्ने कुनै आधार नदेखेर निराश भएका दोलखाका ६ वटा गाविसबासी यतिखेर अस्थायी आवसमा बस्न पाएपछि खुशी भएका छन्। अझ जिल्लामै पहिलो पटक महिलाको पूर्ण स्वामित्व रहने गरी अस्थाई आवास पाएपछि ग्रामीण महिलाको मुहारमा थप खुशी देखिएको छ।
डिएफआईडीको सहयोग तथा प्लान नेपाल र सहमति संस्थाको साझेदारीमा यी अस्थाइ आवास बनाइएको हो।
भूकम्पले घर क्षति भएपछि विचल्लीमा परेका दोलखाका ६ वटा गाबिस सुस्पा क्षमावति, बोच, मागापौवा, पवटी, घ्याङसुकाठोकर र मार्बुमा रहेका ३ हजार ३ सय सत्तरी घर परिवारलाई महिलाको पूर्ण स्वामित्व रहने गरी अस्थायी आवास बनाएर हस्तान्तरण गरिएको सहमति नेपालका सल्लाहकार भीमप्रसाद शर्माले जानकारी दिनुभयो।

महिलाका स्वामित्तमा रहेको अस्थाई आवास
अस्थायी आवस निर्माण भएपछि महिला घरमुलीको नाम ढोकामा टाँसेर हस्तान्तरण गर्ने व्यवस्था गरिएको सल्लाहकार शर्माले जानकारी दिनुभयो। नेम प्लेटमा महिलाको नाम अगाडी लेखेपछि स्थानीय महिला खुशी देखिएका छन्, तर केही पुरुषले भने महिलाको नाम किन अगाडि राखेको भनेर प्रश्न गरेको शर्माले बताउनुभयो। धेरै पुरुषले भने जमाना फेरीएकाले जस्को नाममा रहेपनि एकै परिवारको भएकोले समस्या नहुने प्रतिक्रिया दिएका थिए ।
गाउँघरमा अहिले पनि परिवारमा भएको चल अचल सम्पत्तिको स्वामित्व अधिकांश पुरुषकै नाममा रहेने प्रचलन छ। …यस्तो प्रचलनलाई न्युनिकरण गर्न आफ्नो हैसियत र सम्पत्तिमा अपनत्वको भाव बढाउनका लागि महिलाको स्वामित्वमा रहने गरी अस्थाई आवास बनाएर हाम्रो आत्मबल बढाउने काम भएको छ, दोलखा मार्बु गाविस वडा नम्बर ८ सिक्पाश्वरकी लफुटी शेर्पाले भन्नुभयो – यो अस्थायी टहरो पाएपछि हामी ५ जनाको परिवारलाई ठुलो राहत मिलेको छ।’
दोलखा बोच गाविस वडा नम्बर ७ की इन्दिराकुमारी बुढाथोकी संस्थाले महिलाको स्वामित्व रहने गरी अस्थाई आवास निर्माण गरिदिएकोले आफूलाई निक्कै खुशी लागेको बताउँदै परिवारको सबै सम्पत्तिमा महिलाको पनि स्वामित्व रहनुपर्ने बताउनु हुन्छ।
त्यसैगरी दोलखा बोच गाविस वडा नम्बर ९ की शारदा थापा हरेक कुरामा पुरुषको स्वामित्व रहने समाजमा यो नयाँ सुरुवातले महिलाको स्वामित्व कायम गरेकाले निक्कै खुशी लागेको बताउनुभयो। यस्तो अभियानले निरन्तरता पाउनु पर्ने उहाँको भनाइ छ ।
सहमति संस्थाले दाताको सहयोगमा दोलखाको ६ गाविसका सबै घर परिवारको लागि प्रति परिवार ३३ हजार रुपैयाँ खर्च गरेर अस्थाई आवास निर्माण गरेको सल्लाहकार शर्माले जानकारी दिनुभयो। उक्त संस्थाका अनुसार ०७२ मङि्सरदेखि ०७३ बैशाख भित्र ६ वटा गाविसका सबैलाई अस्थाई आवास निर्माण गरिएको छ।
Comment Here!