महिलाले यो गर्न हुँदैन, त्यो गर्न हुँदैन भन्ने भनाईहरू केवल महिलालाई कुण्ठित पार्न रचिएका भ्रम मात्र हुन् ।
नुनुता राई
काठमाडाैं– जव छोरीहरू बाँसुरी बजाउने रहर गर्थे भनिन्थ्यो ‘छोरीमान्छेले बाँसुरी बजाए जुँगा पलाउँछ ।’ नेपाली समाजमा परापुर्वकालदेखि भनिँदै र सुनिँदै आएको वाक्य हो यो । यस्तो सुनेपछि छोरीहरू आफ्नो रहर यसै दवाउँथे र चुपचाप बस्थे । न कोही विद्रोह गर्थे न त उनीहरूको रहर बुझेर अभिभावकले बजाउन दिन्थे ।
तर, अहिले समय परिवर्तन भएको छ । बजाउँन हुँदैन भनेर उनीहरू चुप बस्दैनन् । यीनै मध्येकी हुन् भक्तपुरकी मुना धौबन्जार । उनलाई सानो छँदा अजाअजीले छोरीमान्छेले बाँसुरी बजाए दाँत खस्छ भन्ने गरेको याद छ । यस्तो सुनेर उनी चुप भने बसिनन् । बाँसुरी बजाउन सिक्न मन लागेपछि उनले घरमा आफ्नो रहर सुनाइन् । सबैले समर्थन गरेपछि उनले भक्तपुर इताछी बादक संघमा बाँसुरी बजाउन सिकिन् । अहिले उनी यसै संस्थामा बाँसुरीबादक छिन् । भन्छिन् ‘अजाअजीले सानो छँदा महिलाले बजाउनु हुन्न भनेपनि म सिक्छु भन्दा रोक्नु भएन, खुशी छु, अढाई वर्ष भो बजाउन थालेको पनि ।’
समुदाय अनुसार छोरीलाई लगाउने बन्देज समेत फरक छन् । नेवारी समुदायमा धेरै चाडपर्व छन् । जस्मा विभिन्न बाजागाजा बजाउने प्रचलन छ । ती पुरुषलेमात्रै बजाउँदै आएका थिए । तर, केही वर्षदेखि महिलाले समेत बजाउन थालेका छन् । भक्तपुर इताछी बादक संघले बाँसुरी बादनमा रुची राख्ने महिलाको संख्या बढेपछि सिकाउन थालेको प्रशिक्षक रामप्रसाद धोँजुले बताए ।
उनले भने ‘खै महिलाले बजाउन हुँदैन नभने पनि बजाउन थालेको चाँही धेरै भएको छैन ।’ मानसिकता विस्तारै परिवर्तन हुँदै गएकाले यस्ता भनाईलाई मनन् गरेर बस्ने महिला कमै भेटिने उनको अनुभव छ ।
भक्तपुरका नेवारी समुदायमा मनाईने चाडवाड बिस्केट जात्रा, इन्द्रजात्रा, दशैंलगायतका कार्यक्रममा बाँसुरीलगायतका बाजागाजा बजाउने प्रचलन रहेको छ । यस्ता चाडपर्वमा अहिले बाँसुरी बजाउने महिलाको बाक्लो उपस्थिति देख्न सकिन्छ । तिनै मध्येकी एक हुन सबिना श्रेष्ठ । भक्तपुर इताछी बादक संघमा बाँसुरी बादक छन् उनी ।
भन्छिन् ‘हामीले बाँसुरी बजाउँदा ‘ओेहो छोरी मान्छेले पनि बाँसुरी बजाएको’ भन्दै मान्छे अचम्म मानेर हेर्ने मान्छे देखेर रमाईलो लाग्छ ।’ अहिले समाजमा सकारात्मक परिवर्तन हुँदै गइरहेको उनको अनुभव छ ।
बाँसुरी बजाउन गाह्रो भएपनि इच्छा लागेपछि सकिने उनको अनुभवले सिकाएको छ । उनका अनुसार महिलाले यो गर्न हुँदैन, त्यो गर्न हुँदैन भन्ने भनाईहरू केवल महिलालाई कुण्ठित पार्न रचिएका भ्रम मात्र हुन् । भन्छिन् ‘यस्ता भनाई महिलाको रहरलाई लगाम लाउन बनाईएका हुन्, अब हामी यस्ता भनाईको पछि नलागि काम गर्नुपर्छ, अहिले नभए कहिले ?’
इताछी बादक संघले २२ जना भन्दा बढी महिलालाई बाँसुरी बजाउन तालिम दिईसकेको छ । महिला विभिन्न समूहमा रहेर आफ्नो बाँसुरी बादनकला प्रस्तुत गरिरहेका छन् । तर, अझै यस्को संख्या कम छ । सपना दुवालले भनिन ‘बाँसुरी बजाउने महिला एकदमै कम छन् काठमाडाैंमा ।’ कम भए पनि उनीहरूको प्रस्तुती जोडदार छ । सपना थप्छिन् ‘पुरुषले बजाउन सक्ने भएपछि हामीले किन नसक्ने भनेर सिकें अनि बजाउन थालेें ।’
Comment Here!