सर्मिला बुढाथोकी
दोलखा। भूकम्पले घर भत्किाइदियो। राहतमा पाएको जस्ताले कटेरो बनाएर बस्दै आएकी छन् दोलखा भिरकोटकी २६ वर्षीया सलिना माझी। २३ वर्ष कै उमेरमा चार छोराछोरीकी आमा बनेकी सलिनालाई छोराछोरीको भविष्यको चिन्ताले सताउन थालेको छ।
चेतनाको अभावका कारण १३ वर्षकै उमेरमा भागी विवाह गरेको उनी बताउँछिन्। अनि २३ वर्षमै ४ सन्तानकी आमा बनिन्। उनले ३ छोरी लगातार जन्माइन। छोराको चाहना तिब्र थियो। चौंथो सन्तानका रुपमा छोरा जन्मियो। छोराछोरी सा—साना छन्। उनीहरूलाई हुर्काउन बढाउन संघर्ष गर्दै गर्दा ३ वर्ष अघि श्रीमानले आत्माहत्या गरे।
यस्ता लालाबाला र मलाई दुःखमा छोडेर श्रीमान एक्लैले किन मृत्यु रोजे उनले पत्तो पाउन सकिनन्। श्रीमानको मृत्युपछि उनको जीवनमा अन्धकार छायो। चार सन्तानको पालनपोषण उनको एक्लो काँधमा आयो। बनीबुतो गरेर चुल्हो बाल्न उनलाई गाह्रो परिरहेको छ । यो बाहेक सवै भन्दा ठुलो चिन्ता छ छोराछोरीको पढाइको ।
माइतीको आर्थिक अवस्था कमजोर भएको र छोरीले पढ्नु हुँदैन भन्ने पारिवारिक पृष्ठभुमिमा हुर्किएकी माझीलाई आफूले पढ्न नपाएकोमा पछुतो छ।
‘सामाजिक परिवेश र बाबु आमाको आर्थिक अवस्था कम्जोर भएकोले पढ्न पाईनँ, उनी भन्छिन्– पढेको भए सानोमा विवाह गर्नु हुँदैन भन्ने बुद्धि आउँथ्यो र अहिलेको अवस्था खेप्नु पर्दैनथ्यो।’ त्यसैले उनको सवैभन्दा ठुलो चाहना हो छोराछोरीलाई पढाउने।माछा मारेर आम्दानी गर्ने श्रीमान् हुँदा गुजारा चलाउन खासै समस्या थिएन उनलाई।
अहिले साना साना छोरा छोरीको सम्पुर्ण जिम्मेवारी आफ्नो काँधमा आएपछि उनलाई छाक टार्न समेत मुस्किल परेको छ । १२ वर्षकी जेठी छोरी एलिसा बिरामी भएर उपचारका लागि उनी अहिले चरिकोटमा छन्। उनी भन्छिन् – केटाकेटीलाई अहिलेसम्म जेनतेन स्कुल पठाएकी छु।
दैनिक ज्यालादारीबाट आएको तीन सय रुपैयाँँले यी छोराछोरीको पढाइ अघि बढाउन सक्दिन कि भन्ने उनलाई लागेको छ। ‘परिवारका सदस्या वा आफू विरामी परेमा भोकै भइन्छ’, उनले भनिन्। मैले पढ्न नपाएर यस्तो दुःख बेसाउनु पर्यो, यी चार सन्तानलाई पढाउन सके भविष्यमा सुख पाइन्थ्यो कि, तर खै कसरी पढाउने हो – सलिनाले मनको भारी बिसाइन्।
Comment Here!