महिला खबर
नेपालगन्ज । आज मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ। १ सय २७ औं मजदुर दिवसका अवसरमा आज विभिन्न मजदुर संघसंगठनहरु ले विभिन्न कार्यक्रम गर्दैछन्। १९ औं शताब्दीमा अमेरिकारको सिकागो सहरमा ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग पुरा भएको दिनलाई अन्तर्राष्ट्रिय मजदुर दिवस अर्थात मे दिवस मनाइँदै आएको छ।
आजको मजदुर दिवसमा विभिन्न क्षेत्रका मजदुर नेताहसँग महिला खबर डट कमका लागि रुपा गहतराजले गर्नुभएको कुराकानीका केही अंश ।
हामी हरेक काममा सक्षम छौं : रुकमणि शाही, इरिक्सा चालक
कोहलपुर । तरकारी व्यवसाय छाडेर रिक्सा चलाउन लागेको वर्ष दिन पुग्यो। पुरुषले मात्र चलाउने रिक्सा महिलाले पनि चलाउन सकिन्छ होला भनेर रिक्सा चलाउन सुरु गरें। कुनै पनि काम सजिलो र गाह्रो हुँदैन।
सबै काम राम्ररी नै गर्नु पर्छ। रिक्सा चलाएर दिनको ८०० देखि हजार रुपैयाँसम्मको आम्दानी गर्छु। त्यसैबाट घर चलाउन केही सजिलो भएको छ। आफ्नै रिक्सा भएर भाडा तिर्ने भन्झट छैन। श्रीमान घर बनाउने काम गर्नुहुन्छ।
दुबै जना मिलेर परिवार चलाउँछौ। रिक्सा चलाउँदा कुनै पनि विभेदको सामना गर्नुपरेको छैन। तर, प्रशासनले कहिले सवारी चालक अनुमतिपत्र त कहिले ट्राफिक नियमका नाममा दुःख दिँदा गरिखानेलाई दुःख लाग्छ।
मजदुरको अधिकार, हक हुन्छ भन्ने सुनेको छु। त्यो कहाँ र कसरी प्राप्त हुन्छ केही थाहा छैन।
मजदुर दिवसबारे बेखबर छन् मजदुर : तारा पाठक, केन्द्रीय सदस्य, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन
मजदुर दिवस मजदुरका लागि भएपनि धेरै जसो मजदुर आजका दिन बारे बेखेबर छन्।
मजदुर भनेको के हो। आफना हक अधिकारका बारे बुझने लड्ने दिनका रुपमा यसलाइ मनाउनुपर्छ। मजदुरका लागि आजको दिन एउटा पर्व हो।
मजदुरका हक अधिकार का सबै मजदुरहरू संगठित हुन जरुरी छ। यातायात व्यवसायमा अभैपनि तलब नियुक्ति पत्रको अभाव बिच धेरै मजदुर काम गर्न बाध्य छन्,भने आफ्नो अधिकारबाट समेत बन्चित छन्।
अझैपनि ज्यालामा महिला पुरुष बिच विभेद कायमै छ। त्यसको अन्त्य हुनुपर्छ। यातायात व्यवसायमा महिलाको संख्या कम छ। जसले गर्दा यस क्षेत्रमा महिला सहभागिता बढाउन सबैले पहल गर्न आवश्यक छ। हाल इ रिक्सामा महिलाको आकर्षण बढ्दो छ। यसलाइ निरन्तरता दिन जरुरी छ।
श्रमको मुल्य पाउनुपर्छ : सुमन गिरी, सचिव, नेपाल स्वाथ्य तथा कर्मचारी युनियन
मजदुरका लागि न्युनतम ज्याला लागू हुनुपर्छ। मजदुर जुनसुकै बिचारधाराको भएपनि श्रमको मुल्य पाउनुपर्छ। श्रम र पुँजी लगाउँने ब्यक्तिको समान मुल्याकंन हुनुपर्छ।
युवाहरूको हकहितमा जोड दिनुपर्छ। धेरै युवा अझै पनि विना ज्याला निःशुल्क काम गरिरहेका छन्। यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ। योग्यत र क्षमताका आधारमा कामको बर्गिकरण र मुल्याकंन हुनुपर्छ।
कामको मुल्याकंन हुनुपर्यो : नुमा थापा, स्वास्थ्य स्वयंसेविका
निःशुल्क रुपमा काम गरिरहेका छौं। मासिक तलब तोकिएको छैन। गाडी भाडाको रुपमा केही रकम उपलब्ध हुनुपर्छ।
रहरले लागेको पेशा छोड्न सकिएन। दिनरात नभनी आफ्नो काममा जुट्नुपर्छ। स्वास्थ्य स्वयंसेविका ले राखेका धेरै माग पुरा हुन सकेका छैनन्।
ती माग यथासिघ्र पुरा हुनुपर्छ। विभेदको अन्त्य हुनुपर्छ। जिवनभर स्वास्थ्य सेवा दिइरहेका स्वयंसेविकाले आफूले गरिरहेको काम छोडेको अवस्थामा कुनै पनि सुबिधा छैन।
केही सुबिधा र रकम को व्यवस्था राज्यले गर्नुपर्छ। स्वयंससेविकाको कार्यकालमा मासिक रुपमा भत्ताको व्यवस्था हुनुपर्छ।
स्वास्थ्य स्वयंसेविका वास्तविक मजदुर : मनकुमारी सिलवाल, अध्यक्ष नेपाल स्वास्थ्य स्वयंसेवी संघ, नगर कमिटी
स्वास्थ्य स्वयंसेविकाहरू वास्तविक मजदुरका रुपमा काम गरिरहेका छन्। कुनैपनि सेवा सुविधा बिना आफ्नो समाज प्रतिको कर्तब्य निभाइरहेका छन्। स्वयंसेविकाले उठाएका ११ माग मध्ये ३ वटा माग मात्र पुरा भएका छन्। अरु मागहरू प्रति राज्य गम्भीर भएको छैन।
गतवर्षदेखिमात्र काम गरेको खण्डमा ४०० रुपैयाँ भत्ता पाउँदै आएका छाैं । संगठनलाई पार्टीगत रुपमा छुट्याउँदा विवादको रुप लिँदै आएको छ।
जिफन्ट ले केन्द्रलाईमात्र सहयोग गरेको छ। जिल्ला र नगर का मजदुरका लागि जिफन्टको भुमिका खासै क्रियाशिल देखिँदैन।
विना पारिश्रमिक काम गर्न बाध्य : सानु ओझा,अध्यक्ष,राष्ट्रिय सौन्दर्यकर्मी युनियन
ब्युटीसियन स्वरोजगार पेशा हो। थोरै लगानीमा थोरै आम्दानी गरी आत्मनिर्भर हुने पेशा हो यो। समयको कुनै सीमा नहुने यो पेशाामा सेवाग्राहीको माग बमोजिम सेवा प्रदान गर्नुपर्छ।
च्याउ उम्रे सरी खोलिएका पार्लरले यसको साख ओझेलमा पार्दै आएको छ। कर्मचारी थोरै र सिक्ने धेरै हुँदा यस क्षेत्रमा बिना पारिश्रमिक धेरै महिला श्रम गर्न बाध्य भएका छन्। जसको अन्त्य हुन आवश्यक छ। न्युनतम एसएलसी पास को मापदण्ड राख्नुका साथै सिटीइभिटी अर्न्तगत दर्ता प्रमाणपत्र ,एवम सीप परिक्षण को प्रमाणपत्र नयाँ खोलिने ब्युटिपार्लरका लागि राख्न जरुरी छ।
पेशालाई मर्यादित तथा अनुशासित बनाउन ब्युटीपार्लर संचालकलाई तालिम अभिमुखिकरण सम्बन्धित निकायले दिने व्यवस्था गर्न जरुरी देखिन्छ। जिफन्टले अरुलाई जस्तै सौन्दर्यकर्मी युनियन संघलाई पनि साथ सल्लाह निरन्तर दिन जरुरी छ।
Comment Here!