भूकम्पपछि बढेको महिला हिंसाको डरलाग्दो रुप


प्रकाशित मिति :2016-05-01 14:59:26

गायत्री खतिवडा

Gayetri‘मेरी छोरी २६ वर्षकी भइन्। उनी पूर्ण अपाङ्गता,अति असक्त छिन्। उनलाई खाना खुवाउने, कपडा फेराइदिने, दिसापिसाब गराइदिने सवै हामीले गर्नुपर्छ। उनलाई पाल भित्र छोडेर मकै गोड्न गएकी थिएँ। घरमा अरु नभएको मौका छोपेर छिमेकी ६५ वर्षीय एक व्यक्तिले मेरी छोरीमाथि जवरजस्ती करणी गरेछ। करणी गरेको अवस्थामा ११ वर्षीया कान्छि छोरीले देखिन्। उसकाविरुद्ध उजुरी गर्न प्रहरीमा आएँ, तर उ समाजको प्रतिष्ठित मान्छे भएकोले उजुर गरेपछि मैले धेरै धम्कि र डरमा बस्नुपर्‍यो। घरमा भएको भए यस्तो हुँदैनथ्यो होला, पालमा बस्नु परेकोले मेरी अपाङ्ग छोरी लुटिइन्।’

‘मेरी छोरी ८ वर्षकी भइन्। श्रीमान विदेशमा हुनुहुन्छ। छोरीलाई टहरामा छोडेर मेला गएको मौका छिमेकी २२ वर्षीय यसवकले जवरजस्ती करणी गरेछ। उसले मेरी छोरीलाई बहिनी भन्ने गर्थ्यो। १२ कक्षामा पढ्ने त्यो युवकले मेरी छोरीलाई यस्तो गर्ला भनेर सपनामा पनि चिताएकी थिइनँ। घर भएको भए यस्तो हुँदैनथ्यो होला। टहरामा बस्नु परेकोले मेरी कलिली छोरीको घाँटी निमोठियो।’

‘भूकम्पका कारण विस्थापित भएर सदरमुकाम झरेको हो मेरो परिवार। अहिले शिविरमा बस्छौं। म बजारबाट शिविर (क्याम्प) फर्कदै थिएँ। साँझको समय थियो। बोलेरो गाडीमा आएका दुई व्यक्तिले हामी पनि क्याम्प जान लागेको हो, गाडीमा बस् भने। होला भनेर बसें। तर, बजारबाट २ किलोमिटरको दुरीमा रहेको क्याम्पमा नपुग्दै म लुटिएँ। भूकम्प नआएको भए विस्थापित हुन पर्ने थिएन। म लुटिनु पर्ने पनि थिएन। दैवले ठगेको बेला नियतिले पनि लात हान्यो। मेरो जिन्दगी च्यातियो।”

२०७२ साल वैशाख १२ गते भूकम्प गएपछि भएका यौन हिंसा प्रभावितहरूको केही प्रतिनिधि उदाहरण मात्र हो यो। भूकम्पपछि धादिङ जिल्लामा महिलामाथिको जोखिम निकै बढ्यो। भूकम्पले घर त भत्काएको थियो नै, सामाजिक रुपमा धेरैको जिन्दगीका पत्र पनि च्यातिदियो।

धादिङ जिल्लाको ४६ गाविस र एक नगरपालिका सवै भूकम्पको चपेटामा पर्‍यो। पाँच वटा गाविस झालाङ्ग, तिप्लीङ्ग, रि, लापा र दार्खा गाविसका प्रायः सवै परिवार विस्थापित भए। भूकम्पले धेरै जनमानसमा डर, त्रास र तनाव बढायो। खुल्ला बासका कारण असुरक्षा बढ्यो। जस्ले गर्दा समाजमा हिंसाका घटना बढेको देखियो।

महिला, बालबालिका, बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्ति प्रत्यक्ष प्रभावित भए। भूकम्प गएको एक वर्षको अवधिमा धादिङ्गमा यौन हिंसाका घटना अत्यधिक भएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कलाई हेर्दा गत वैशाखदेखि यो वैैशाखसम्म २७ वटा जवरजस्ती करणीको घटना भएको छ। त्यस्तै ११ वटा जवरजस्ती करणी उद्योगको घटना भएको छ। घटनामा ४ वर्षीया बालिकादेखि ४५ वर्षकी महिलासम्म परेका छन्। त्यस्तै ६ जना अपाङ्गता भएका महिला यौन हिंसाको शिकार भएका छन्।

देशमा प्राकृतिक विपत्ति होस् या मानव सिर्जित द्वन्द्व। यस्तो संक्रमणको अवस्थामा महिला र बालबालिका सवैभन्दा धेरै प्रभावित हुने गर्छन्। धादिङ्ग जिल्लामा एकवर्षको अवधिमा १ सय २४ वटा घरेलु हिंसाको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ। हाम्रो समाजले छोरा या छोरी भएकै कारण उनीहरूको भूमिका र जिम्मेवारी फरक फरक हुन्छ भन्ने सोचाइ राख्छ र त्यसै अनुसारको व्यवहार निर्देशित गर्दै आएको छ। समय र समाज बदलिँदै गएको भनिएपनि त्यस्ता व्यहार जुन धर्म, संस्कृति, परम्परासँग जोडेर महिला र पुरुषलाई हेर्ने गरिएको छ।

जन्मेदेखि नै हुर्काइ, बढाई, शिक्षा, सूचना, अवसर, रोजगारी, श्रम, सहभागितालगायत हरेक कुरामा छोरालाई भन्दा छोरीलाई कम प्राथमिकता दिइने गरिन्छ। स्वतन्त्र रुपमा हिडडुल गर्ने, बोलचाल गर्ने र निर्णय गर्ने कुरामा समेत महिलाले भन्दा पुरुषले एक कदम अगाडी बढ्न पाउने अवस्थाले महिलालाई कमजोर साबित गराइरहेको छ।

समय बदलिए पनि हाम्रो सोच र व्यवहार बदलिन सकेको छैन। समाजिक संरचनाको कारण संक्रमण या विपत्तिको मार सवैभन्दा पहिला र धेरै महिला र बालबालिकामाथि परेको देखिन्छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा १ सय ५ कुटपीट, खानलाउन नदिएको ७४, गालीगलौज र्दुव्यवहार ७, घर निकाला ४, शारिरीक तथा मानसिक यातना २४ र बोक्सी आरोपको १० वटा घटनामा उजुरी आएको देखिन्छ। बहुविवाहको १५ वटा उजुरी परेका छन्।

तथ्याङ्कमा भूकम्पपछि महिला र बालबालिकाको बेचविखन तथा ओसारपसारको घटना बढेको देखियो। पढाउन लैजाने, पाल्न लैजाने, रोजगारीका लागि लैजाने प्रलोभनमा पारेर धेरै किशोरी र बालबालिकालाई ओसार पसार गरियो।

नागढुङ्गा, मुग्लिन र अन्य नाकाबाट जोखिममा पर्न सक्ने आशंकामा यस्ता धेरै व्यक्तिहरूलाई उद्धार गरियो। यस अवधिमा मानवबेचविखन तथा ओसार पसारको ५ वटा मुद्दा दर्ता भएको छ। अझै पनि ५९ जना महिला, ८ जना बालक र ११ जना बालिका हराइरहेका छन्।

भूकम्पले डर र त्रास मात्र बढाएन मनोसामाजिक समस्या पनि बढायो। परिवारमा झै–झगडा, बेमेल, खाना, बास र सुरक्षाको अभावले व्यक्तिमा तनाव बढ्यो। जस्ले हिंसाको रुप लियो। हिंसाले व्यक्तिलाई आत्महत्या गर्न बाध्य बनाएको देखिन्छ। एक वर्षको अवधिमा झुन्डिएर १८ जना, विष सेवन गरि १० र त्रिशुली नदीमा हाम फालेर २ जना महिलाले आत्महत्या गरेका छन्। एक वर्षमा ३० जना महिलाले आत्महत्या गर्नु डरलाग्दो अवस्था हो।

धादिङ्ग जिल्लामा लामो समयदेखि महिला अधिकार, सामाजिक न्याय र हिंसाविरुद्धमा काम गरिरहेको संस्था सहयात्री समाज नेपालले भूकम्पपछि गर्भवती, सुत्केरी र हिंसामा परेका महिलालाई सहयोग तथा परामर्श गर्ने काम गरिरहेको छ।

जिल्लाको पाँच स्थानमा महिला सुरक्षित स्थान मार्फत जोखिममा परेका जुनसुकै उमेरका महिलाका लागि कानुनी सहयोग तथा परामर्श, मनोसामाजिक विमर्श, यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परामर्श र सुरक्षित आवास सेवा प्रदान गर्दै आएको छ। भूकम्प यता हालसम्म सहयात्री समाज नेपालमा लैङ्गिक हिंसाको ५ सय २७ वटा घटना अभिलेखिकरण गरिएको छ। यी घटनामा घरेलु हिंसाको धेरै छ भने त्यसपछि यौन हिंसाका घटना रहेको छ।

कुटपिट, बहुविवाह, खानलाउन नदिएको, घर निकाला, श्रोत साधनबाट बञ्चित गरिएको र अरुसँग लागेको अरोपका घटना अत्यधिक रहेका छन्। यस्तै २ सय ५ जना मनोसामाजिक समस्या भएका महिलालाई मनोविमर्श प्रदान गरिएको छ। सहयात्री समाज नेपालले लामो समयदेखि पुर्नस्थापना गृह सञ्चालन गरिरहेको छ। भूकम्पपछिको अवधिमा विभिन्न प्रकारको हिंसा र जोखिममा परेका ३ सय २५ जना महिला, किशोरी र बालिकालाई पुर्नस्थापना गरिएको छ।

हरेक गाउँ, टोल र घर घरमा दिनहुँ महिलामाथि हिंसाका घटना भइरहेका छन्। कसैसँग बोलेको, हिँडेको आरोपमा या आफूले भने जस्तो नभएको आरोपमा आफ्नै घरका छोरी बुहारी र आमा हिंसाको शिकार भइरहेका छन्।

जुनसुकै उमेरमा पनि महिालालाई आफ्नो जिवन सुरक्षित र स्वतन्त्र जिउन पाउने अधिकार छैन। जन्मेदेखिनै एउटा साँघुरो दायराभित्र छोरीलाई हुर्काउने र सिकाउने गरिन्छ। जस्ले गर्दा ठूलो भैसकेपछि जब उनीमाथि कुनै खालको दुःख या आपत आइलाग्छ त्यसपछि प्रतिकार गर्न सक्ने अवस्था नै रहँदैन। घटनाबाट प्रभावित भैसकेपछि पनि सुरक्षा र संरक्षण पाउने वातावरण छैन।

प्रभावितलाई मात्र होइन उनका पक्षमा बोल्नेलाई पनि घर निकाला गर्ने, गाउँ निकाला गर्ने, बहिष्कार गर्ने र मार्नेसम्मको धम्कि दिने गरिन्छ। बिभिन्न राजनीतिक विचारका आडमा उभिएर पीडकलाई संरक्षण गर्ने र पीडितलाई झन पीडा दिने गरिन्छ। बलात्कार जस्तो जघन्य अपराधमा समेत पीडकलाई उन्मुक्ति दिने, मिलापत्र गर्ने र पैसाको लोभमा फसाउने गरिन्छ।

उजुरी गरिसकेपछि पनि खाना र बासको समस्या, जीविकोपार्जनको कुनै आधार नहुँनु र असुरक्षाका कारणले हिंसा प्रभावित महिलाहरु अझ धेरै जोखिममा पर्ने गरेका छन्। जबसम्म महिलामाथि हुने कुनै पनि प्रकारको हिंसालाई अपराधको रुपमा बुझिँदैन र त्यस अनुसारको पीडकलाई कारबाही र पीडितलाई सुरक्षा, संरक्षण र न्याय प्रदान गरिँदैन तबसम्म महिलामाथि हुने हिंसा जारी रहनेछ।

गायत्री रेडियो धादिङकी कार्यक्रम उत्पादक हुन्  ।

                                                                                                                                                      [email protected]

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: