महिला खबर
काठमाडौं। ‘एक रुपैयाँको चक्लेट खाने पैसा माग्दा पनि मैले पटक पटक बाबुबाट बलात्कृत हुनुपर्थ्याे। प्रतिकार गर्दा मेरो पेटमा लात्तै लात्तले हान्थ्यो। म बेहोस हुन्थेँ। आमासँग गुहार माग्दा पाइनँ। यस्तो जीवन बाँच्नुभन्दा मर्नु बेश भनेर सबै कुरा लेखेर मर्नलाई विष खाएँ र पनि मरिनँ।’अर्न्तराष्ट्रिय मजदुर दिवसको अवसरमा आईतवार रक्षा नेपालले आयोजना गरेको कार्यक्रममा एक किशोरीले आफ्ना बेदना पोखिरहँदा कार्यक्रमका प्रमुख अतिथि काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले आँशु थाम्नै सकेनन्।
ती किशोरी भन्दै थिइन् ‘त्यो बलात्कारी बाबुको नाम भएको नागरिकताले मलाई पटक पटक थप पीडित बनाउँछ। जति पीडा भुलौँ भन्यो त्यति बल्झाउँछ, त्यसैले मेरो नागरिकताबाट उसको नाम हटाई पाउँ।’ उनले भक्कानिदैँ आफ्ना व्याथा सुनाइरहँदा कार्यक्रममा उपस्थित कसैलेपनि मन थाम्न सकेनन्।
‘म अहिले एकदमै खुशी छु, मरेर बाँचेकी मैले नयाँ जीवन, आशा र भरोसा पाएकी छु, तर त्यो बलात्कारी बाबुको नाम मेरो नागरिकताबाट हटाएर शान्तसँग बाँच्न चाहन्छु, जबसम्म उसको नामको नागरिकता बोकेर मैले हिँड्नुपर्छ तबसम्म म यो पीडाबाट बाहिर आउन सक्दिन’ उनले भनिन्।
ती किशोरीको कुरा सकिएपछि कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुबेदीले कुरा असाध्य मर्मस्पर्शी भएको र सुन्दा आफूले मन थाम्न नसकेर भक्कानिएको भन्दै, तर विद्यमान कानुनले यो मागलाई सम्बोधन गर्न नसक्ने बताउनुभयो। सबै निकायको साथ र समर्थन भएर एजेण्डा आएमा असंभव भने नभएको उहाँको भनाइ थियो।
१२७ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर श्रमिक महिला रक्षा संघको समन्वय र रक्षा नेपालद्वारा आयोजित सम्मान तथा सचेतना कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले सबैले आ आफ्नो ठाउँबाट इमान्दारिता देखाएमा राम्रा कुरा कार्यान्वयन गर्न कठिन नहुने औंल्याउनुभयो।
महिला विकास तथा बालबालिका कार्यालय प्रमुख अधिकृत अनिता अधिकारीले आमाले साथ नदिनु, बाबुले कुटी कुटी बलात्कार गर्नु एउटी छोरीको लागि यो भन्दा बढी हृदय विदारक घटना अरु हुन नसक्ने भन्दै परिवारबाट टुटेको मन र टुक्रिएको जीवन बाँचेका छोरीहरूको जीवनको भरोसा बनेको रक्षा नेपालले उर्जा थपेको बताउनुभयो। ‘यस्ता पीडकलाई घरबाट मात्र होइन समाजबाट नै लखेट्नु पर्छ’ उहाँको आक्रोश थियो।
अनेरास्ववियुकी अध्यक्ष नविना लामाले बलात्कार पीडित छोरीहरूको अधिकारका लागि आफूले सकेको सहयोग खुला मनले गर्ने प्रतिबद्धता जनाउनुभयो।
राजनीति पनि अपराधी, दलाल र भ्रष्टाचारीको चंगुलमा भएकोले पीडितलाई न्याय दिलाउन पनि गाह्रो हुँदै गएको उहाँले स्पष्ट पार्नुभयो।
कार्यक्रममा रक्षा नेपालका अध्यक्ष मेनुका थापाले महिला, त्यसमा पनि मनोरञ्जन क्षेत्रको श्रमिक भएर नेपाली समाजमा बाँच्न सजिलो नभएको बताउनुभयो ।
सामाजिक दृष्टिकोणदेखि कार्यस्थलको व्यवहारसम्मले मनोरञ्जन क्षेत्रका श्रमिक महिलामाथि विभेद तथा शोषण हुने गरेको अध्यक्ष थापाको भनाइ थियो । बलात्कर महिलाको भन्दा पनि पुरुषको समस्या भएको बताउँदै आमाको सम्मानका लागि बलात्करीलाई मृत्यदण्डको सजाय व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो।
Comment Here!