महिला खबर
बाजुरा । प्रसूति व्यथा लागेकी जगन्नाथकी २२ वर्षीया बसन्ती बिष्ट आईतवार रगत नपाएर जिल्ला अस्पताल बाजुरामा जिवनमरणको दोसाँधमा छटपटाइरहेकी थिईन् । चारदिनसम्म कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि उनलाई जिल्ला अस्पताल बाजुरामा रिफर गरिएको थियो ।

परिवार नियाेजन सुपरभाइजर दुर्गा बजगाइ
जिल्ला अस्पताल बाजुरा पुग्दासम्म उनको रगतमा २.८ हेमोग्लोबिनको मात्रा थियो । उनी बेहोस थिईन् । पेटमा बच्चा मरिसकेको थियो । उनलाई ‘अो’ पोजेटिभ रगतको सक्त आवश्यकता थियो ।
उनका देवर राम बहादुर बिष्ट र जिल्ला अस्पताल बाजुराले रगतको खोजी गर्यो, तर तत्काल कहीँ पाईएन । उनको अवस्था गम्भिर हुँदै गयो । कतैबाटपनि रगतको व्यवस्था हुन नसकेपछि स्त्री रोग बिशेषज्ञ तथा आकस्मिक प्रसूति सेवाका डा. राजन न्यौपाने आफैँ रगत दिन तयार हुनुभयो ।
रगत पाएपछि बसन्तीको अवस्थामा सुधार भयो । पेटमा मरेको बच्चा समेत डा. राजनले झिकेर आमालाई बचाउन सफल हुनुभयो । ‘रगतका लागि धेरै पहल गरें, तर कतैबाट पनि व्यवस्था नभएपछि डाक्टरले रगत दिएर भाउजु होसमा आउनुभयो’ बसन्तीका देवर राम बहादुर विष्टले भन्नुभयो ।
आकस्मिक प्रसूति सेवाका लागि आएका डा. राजनले शल्यक्रिया गरेर बसन्तीलाई बचाउने मात्र काम गरेनन्, उनले आफैँ रगत दिएर सुत्केरीको ज्यान बचाउन समेत सफल भए ।
‘तत्काल रगतको व्यवस्था नभएपछि उनलाई मर्न दिनु भन्दा आफैँ रगत दिएर बचाउनुपर्छ भन्ने भयो, त्यसैले आफैँले रगत दिएको हुँ’ डा. न्यौपानेले भन्नुभयो ।

डा.राजन न्यौपाने रगत दिँदै
बसन्ती जस्तै बाजुरा बडिमालिकाकी ३४ वर्षीया शारदा बिक पनि सुत्केरी हुन अस्पतालमा आईन् । उनलाई पनि रगतको आवश्यकता थियो । दुईदिनदेखि रगत खोजेपनि उनका आफन्तले जुटाउन सकेनन् । उनलाई ‘बी’ पोजेटिभ रगतको आवश्यकता रहेको थियो ।
उनको रगतमा हेमोग्लोबिनको मात्रा ५.५ मात्र थियो । दुबैजना महिला रगत अभावले छटपटिएपछि स्वास्थ्यकर्मीले आफैँ रगत दिन तम्सिएको अस्पतालका बरिष्ठ अहेब टेक बहादुर खड्काले वताउनुभयो । कतैबाट रगत नपाएपछि आफूहरूले रगत दियौं ।
डा. न्यौपानेले रगत दिइसकेपछि बरिष्ठ अहेब खड्का, परिवार नियोजन सुुपरभाईजर दुर्गा बजगाई, अनमी गौमति कटुवालले समेत रगत दिए । त्यस्तै युनिसेफकी मिना थापा, बिके प्रसाई नेपाली सेनाका जवान गणेश सिंह ठगुन्ना, डबल तामाङ्ग, बद्रि बहादुर उपे्रती, रामकृष्ण नेपाली र रुपेश आले मगरले रगत दिएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
बसन्ती बिष्टलाईमात्रै ८ पोका रगतको आवश्यकता थियो । उनको अहिले हेमोग्लोबिनको मात्र ६.५ रहेको छ । शारदा बिकलाई ४ पोका रगत दिइएको छ भने उनको हेमोग्लोबिनको मात्रा अहिले ९ रहेको डा. राजन न्यौपानेले वताउनुभयो ।
स्थानियलाई रगत दिनुपर्छ भन्ने चेतना कम हुनुका साथै नेपाल रेडक्रस सोसाईटीले समेत रगतको व्यवस्था नगर्दा बाजुरासहित अन्य दुर्गम जिल्लामा रगतको समस्या निकै हुने गरेको छ । स्वास्थ्यकर्मीले उपचार मात्रै नगरी आफैँ रगत दिएर श्रीमतीको ज्यान बाँचेको शारदाका श्रीमान सुर्य बिकले वताउनुभयो ।
बाजुरामा रगत अभावले धेरै बिरामीले समस्या ब्यहोर्दै आएका छन् भने यस्तो अवस्थामा अस्पताल कै कर्मचारी विकल्प बन्ने गरेका छन् । जिल्लामा रक्त संचार केन्द्र नहुँदा समस्या हुँदै आएको छ । बाजुरामा आकस्मिक प्रसूति सेवा भएपनि रगत नपाउदा सेवा सञ्चालन गर्नमा निकै समस्या आउने गरेको जिल्ला स्वास्थ्य प्रमुख डा. मोहन नाथ वताउनुहुन्छ । कतैबाट रगतको व्यवस्था नभएपछि स्वास्थ्यकर्मी आफैँ रगत दिने गरेको उहाँले वताउनुभयो ।
Comment Here!