महिला खबर
काठमाडौं। राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । सातदोबाटोस्थित एन्फा खेल मैदानमा सुपर लिगअन्तर्गत सोमवार भएको अन्तिम खेलमा पुलिसले पूर्वाञ्चल महिला टोलीलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । महिला लिगमा पुलिसको यो तेस्रो उपाधि हो । यसअघि भएका दुवै संस्करणको खेलमा पुलिसले उपाधि जितेको थियो ।
पुलिसले उपाधिसँगै रु दुई लाख प्राप्त गर्यो । त्यसैगरी उपविजेतामा चित्त बुझाएको त्रिभुवन आर्मी क्लबले भने रु एक लाख हात पार्यो ।
प्रतियोगितामा उत्कृष्ट डिफेन्डरको उपाधि पुलिसकी खेमकुमारी घलेले पाइन् ।
त्यस्तै गोलकिपर आर्मीकी लीला लाम्घाडे, मिडफिल्डर एपिएफका अनिता बस्नेत, फरवार्ड एपिएफकै सावित्री भण्डारी र प्रशिक्षकमा पुलिसका सन्देश श्रेष्ठ उत्कृष्ट चुनिए ।
उनीहरुले जनही रु २५ हजार प्राप्त गरे ।
राउन्ड रोबिन लिगका आधारमा भएको सुपर लिगमा तीनवटै विभागीय टोलीको समान ६–६ अङ्क भएपनि नेपाल पुलिस हेड टु हेडका आधारमा च्याम्पियन बनेको हो ।
त्यसैगरी सुपर लिगमा पूर्वाञ्चल अङ्क बिहिन बन्यो । सुपर लिगमा पुलिस आर्मीसँग पराजित भएको थियो भने आर्मी एपिएफसँग हारेको थियो ।
विजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो । राष्ट्रिय लिगमा तिन विभागीय टोलीसहित पाँच क्षेत्रीय टोलीको सहभागिता रहेको थियो ।
Comment Here!