महिला खबर
चितवन । नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा चितवनमा सुरु भएको छ । राष्ट्रपति विद्या भण्डारीले साधारणसभाको उद्घाटन गर्नुभयो । उहाँले देशको बिद्यमान सामाजिक तथा आर्थिक अवस्थामा परिवर्तन ल्याउने दायित्व पत्रकारको भएको बताउनुभयो । संविधानको रक्षा गरी सामाजिक परिवर्तन ल्याउने भुमिका निर्वाह गर्न पत्रकारलाई उहाँको आग्रह थियाे । सरकारले गरेका गलत कामका बारेमा लेख्नु पत्रकारको अधिकार भएको भन्दै उहाँले सँगै सकारात्मक कामहरूको सूचना पनि प्रवाह गर्नुपर्ने उहाँले बताउनुभयाे ।
‘देशमा संचारक्षेत्रमा संख्यात्मक तथा गुणात्मक विकाश भइरहेको छ बलियो संचार क्षेत्रले देशलाई अविभाकत्व दिनुपर्छु’ उहाँले भन्नुभयो ।
दुई दिनसम्म चल्ने साधारणसभामा देशभरका शाखा, प्रतिष्ठान, एसोसिएट तथा विदेशी शाखाका सभासद् तथा शाखा अध्यक्ष गरी एक हजार ६५१ जना पत्रकार सहभागी छन् ।
साधारणसभामा प्रादेशिक संरचनाअनुसार विधान संशोधनको प्रस्तावमाथि छलफल हुनेछ । महासङ्घले ल्याएको विधान संशोधन प्रस्तावमा हाल नेपाल भौगोलिक हिसाबले सात प्रदेशमा विभाजन भएपनि महासङ्घले १० वटा प्रादेशिक संरचनाको प्रस्ताव गर्दैछ जसमा सात वटा प्रदेश, उपत्यका एक, एसोसिएट एक र प्रतिष्ठान एक गरी १० पुर्याउने गरी प्रस्ताव ल्याएको छ ।
यस्तै, केन्द्रीय सभामा चयन हुने सभासद् यसअघि १० बराबर एक रहेकोमा प्रस्तावित विधानमा १५ बराबर एक रहने व्यवस्था गरिएको छ ।
हाल महासङ्घका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा रहेका छन् । यस्तै, प्रस्तावित विधानमा अब पत्रकार बन्नका लागि कम्तीमा पनि उच्च माध्यमिक तह वा सोसरहको पढाइ हुनुपर्ने प्रस्ताव ल्याइएको छ । यसअघिको विधानमा एसएलसी उत्तीर्ण गरेका व्यक्तिले पत्रकार बन्न पाउने व्यवस्था थियो ।
पत्रकार महासङ्घको विधान २०६० को चौथो संशोधनका लागि उक्त प्रस्ताव ल्याइएको महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिनुभयो ।
Comment Here!