हिंसाले छुट्याउँदैन शिक्षित–अशिक्षित


प्रकाशित मिति :2016-05-05 10:36:05

पितृ सत्तात्मक नेपाली समाजमा शिक्षित या अशिक्षित दुवै प्रकारका महिला पीडित हुने गरेका छन् । समाजको अपेक्षा र महिलाको बुझाइको स्तर नमिलेका कारण शिक्षित महिला पीडित छन् भने धेरै कुरा नबुझ्दा अशिक्षित र ग्रामीण भेगका महिला पारिवारिक र सामाजिक अपहेलना र हिंसा सहन बाध्य छन् । 

सलोजा दाहाल

ओखलढुड्गा सिस्नेरीकी सविता खड्कासँग परम्परागत विवाह गरेका सुरेश कार्कीले विवाहपछि श्रीमतीलाई घरमा त ल्याए तर विधिपूर्वक भित्र्याएनन् । हिन्दूधर्मअनुसार विवाह गरेर ल्याएपछि साइत जुराई विधिपूर्वक भित्र्याउनुपर्ने परम्परा छ ।

बेहुला पक्षले विवाहमा जन्तीको इज्जत नराखेको र दाइजो नदिएको भन्दै बेहुली अन्माएको करिब १५ मिनेटपछि नै सविताका बाबुलाई गाली गर्न थाल्यो । ‘एकातिर बाबुको घर छोडेर नयाँ परिवेशमा जाँदै गरेको चिन्ता अर्कोतिर केटा पक्षको त्यस्तो व्यवहार म साह्रै आत्तिएकी थिएँ,’ सविता भन्छिन्, ‘समाजमा बढेकी छोरी राख्नुहुँदैन भन्ने परम्पराले पढ्ने उमेरमा विवाह भयो । अहिले त्यो समाज मूकदर्शक भएर मेरो दुःख हेर्दै बसेको छ ।’

उनी परिवारलाई मात्र होइन, सामाजिक परम्परा र संस्कारका कारण पनि आफूले दुःख पाएको महसुस गर्छिन् । ‘हाम्रो समाजमा महिलाका लागि सामाजिक बन्धन नहुँदो हो त अहिलेको परिस्थितिको सिर्जना नै हुने थिएन,’ उनी भन्छिन् ।

गाली गर्दै भए पनि काठमाडौंसम्म ल्याए । २१ वर्षको उमेरमा नै परिवारको दबाबमा विवाह गरेकी उनलाई काठमाडौं नयाँ थियो । उनी भन्छिन्, ‘विवाह गरेको रात घरको छिँडीमा राखे । एक दिन श्रीमान् आएर आमाले केही गरे पनि मान्नुभएन, विवाहलाई सफल बनाउने भए १२ लाख रुपैयाँ ल्याउनु भने ।’ विवाहमा नै आठ तोला सुन दिइसकेको थियो ।

‘मैले थप पैसा बुबाले दिन नसक्ने बताएँ । उनी केही नभनी बाहिरिएका थिए । फेरि अर्को दिन आएर आमाले काठमाडौंमा घर भएको केटोलाई छोरी दिनेले दाइजो दिन पनि जान्नुपथ्र्यो, माग्नैपर्दैन भनेको सुनाए । र, तुरुन्तै बैंक खातामा पैसा जम्मा गर्न अह्राए । मैले मानिनँ । केही दिनमा सम्बन्धमा सुधार आउला भन्ने लागेको थियो । तर सोचेजस्तो भएन,’ उनी भन्छिन् । उनलाई सुरेशकी आमाले बुहारीको जिब्रो कालो भएकाले उनी बोक्सी भएको र त्यसैले आफू पटकपटक बिरामी हुने गरेको आरोप लगाउन थालिन् । ०५८ सालको असारमा विवाह गरेकी सवितालाई अहिलेसम्म पनि घर भित्र्याएका छैनन् । अहिले घरमा आउँछु भन्दा सुरेशसहित बाबुआमा र बहिनीले समेत जथाभावी गाली गर्छन् ।

परिवारले स्वीकार नगरेपछि सिस्नेरी नै फर्किएर जागिर खान थालेकी सवितालाई नेपाल आर्मीको जवान पदमा कार्यरत सुरेशको परिवारले धम्की दिन थालेको छ । उनी भन्छिन्, ‘म भागेर आएकी होइन । विवाहको कुरा छिनेको पनि एक महिनापछि मात्र विवाह भएको । उनीहरूलाई म चित्त नबुझेको भए विवाहअघि नै भन्नुपथ्र्यो ।’

परिवारबाट धम्की आउन थालेपछि उनी अहिले कानुनी उपचारको खोजीमा छिन् । काठमाडांै आएर महिला आयोगदेखि आर्मी अफिसमा समेत निवेदन दिएकी उनी भन्छिन्, ‘मैलेजस्तो अर्की महिलाले सुरेशकै नाममा प्रताडना खेप्न नपरोस्, त्यसैले उसलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’

०५६ सालमा लभम्यारिज गरेकी सिर्जना बानियाँ अहिले छोरा विभूषणसँगै चाबहिलमा डेरा गरी बस्छिन् । सिर्जना भन्छिन्, ‘सँगै बसे पनि श्रीमान्ले कुनै कुरामा सहयोग गर्दैनथे । बरु भएको पैसा चोरेर हिँड्थे । विवाह गरेको केही समयपछि नै बेवास्ता गर्न थालेका श्रीमान्ले छोरा जन्मिएको समयमा केही समय राम्रो व्यवहार गरे । तर, त्यसले निरन्तरता पाएन ।’

बाहिर केटी लिएर हिँड्ने, समयमा नआउने र आफूसँगै छोराको समेत वास्ता नगरेपछि उनी अहिले छुट्टिएर बसेकी छिन् । ‘केही समयदेखि त डिभोर्स दे भनेर हैरान पार्छन् । तर दिन्नँ,’ उनी भन्छिन्, ‘के गर्नु पहिलोपटक माया गरेको मान्छे हो, माया त लागिहाल्छ नि ।’

श्रीमान् राम दाहालले पटकपटक आएर अर्को केटासँग विवाह गरसमेत भन्ने गरेका छन् । सिर्जना भन्छिन्, ‘मैले डिभोर्स नदिएसम्म अर्की ल्याउने बाटो नखुल्ने रहेछ । त्यसैले डिभोर्स नदिएपछि अर्को विवाह गर भनेर दबाब दिन थालेका हुन् ।’ लभम्यारिज गरेका कारण सिर्जनाका माइती पक्ष पनि उनीसँग सन्तुष्ट छैनन् । दुःख पाएँ भन्दै गयो भने रोजेर गएकी होस् भन्छन् । त्यसैले दुःख बिसाउने ठाउँसमेत छैन ।

बेरोजगार र अशिक्षित महिला मात्र होइन, काठमाडाैं सहरमा शिक्षित महिला पनि घरेलु हिंसा खेप्न बाध्य छन् । काठमाडौंमा बसेर नौ वर्षदेखि कलेज पढाउँदै आएकी ईश्वरी बुझेर पनि अन्याय सहेर बस्नुपरेकोमा चिन्तित छिन् । ‘नबुझेको भए पनि थाहा छैन, जे छ त्यही संसार हो भनेर रमाउन सकिन्थ्यो नि । बुझी–बुझी पनि नजानेझैँगरी बस्नुपर्दा सबैभन्दा बढी पीडा हँुदोरहेछ,’ ईश्वरी भन्छिन् ।

कीर्तिपुरमा बसेर स्नातकोत्तर पढ्दै गर्दा सँगै पढ्ने सञ्जयसँग प्रेमविवाह गरेकी उनी अहिले दोधारमा छिन् । ‘जति पढेर बुझे पनि व्यवहारमा त्यही कार्यान्वयन नहुँदोरहेछ । हामीले बुझेको संसार र वास्तविकतामा धेरै फरक पर्ने रहेछ,’ उनी भन्छिन् ।

समाजशास्त्रमा स्नातकोत्तर ईश्वरी र अर्थशास्त्रमा स्नातकोत्तर सञ्जयको पाँच वर्षकी एक छोरी पनि छिन् । ‘हरेक दिन कुनै न कुनै निहुँ खोजेर झगडा गर्छन्, अझ विवाहपछि मान–सम्मान नगरेको भन्दै पिट्नसमेत पछि परेनन् सञ्जय । त्यसबेला साह्रै असह्य भएको थियो । घरमा बाबुआमाले ठूलो स्वरमा गालीसमेत गरेनन्, तर जीवनसाथीले पिटे,’ उनी भन्छिन्, ‘डिभोर्स गर्न मन छैन । सँगै बस्न सकिन्छजस्तो पनि लागेको छैन ।’

उनी विवाह गर्दा हतारमा नभई सबै कुरा बुझेर मात्र गर्नुपर्ने सुझाउँछिन् । सञ्जयसँग मिलेर परिवार सञ्चालन गर्न नसक्नुमा आफ्नै कमजोरी औंल्याउँछिन् । भन्छिन्, ‘यो सबै मेरो हतारको परिणाम हो ।’ शिक्षित परिवारकी छोरी ईश्वरी र गाउँबाट सहर छिरेका सञ्जयबीच सोचाइ नमिलेकै कारण हरेक दिन झगडा हुने गरेको ईश्वरीको विश्लेषण छ । ‘उनी साना/साना कुरामा पनि गरिब परिवारको भएकाले हेपेको भन्दै असन्तुष्ट हुन्छन् । तर, त्यस्तो गर्ने भए परिवारको सहमतिविपरीत किन विवाह गर्थें ?’ उनी भन्छिन् ।

जुनसुकै स्तरका भए पनि सामाजिक परिवेश र पारिवारिक रूपमा धेरै महिला पीडित हुने गरेका छन् । भर्खरै विवाह गरेकी सविता, प्रेमविवाह गरेकी सिर्जना र ईश्वरी मात्र होइन चार सन्तानकी आमा देविका थापा पनि श्रीमानबाट पीडित छिन् । कारण नै केही नभए पनि पटकपटक निहुँ खोज्ने श्रीमानबाट दिक्क भएकी उनी ६ महिनादेखि कान्छी छोरीसँगै अमेरिका बस्दै आएकी छिन् । पछिल्लो एक दशकदेखि श्रीमानसँग सम्बन्ध चिसिएपछि दिक्क भएकी उनी छुट्टिएर बस्ने सोचमा थिइन् । तर, छोराछोरीले नै छुट्टिन नदिएकाले सँगै बसे पनि सन्तुष्ट भने थिइनन् । तीन छोराछोरीको विवाह गरिसकेकी उनी श्रीमानसँगको खटपटकै कारण कान्छी छोरीसँग अमेरिका बस्न गएकी हुन् । फेसबुकको च्याटमा भेटिएकी देविका भन्छिन्, ‘डिभोर्स गर्दा हल्ला हुन्थ्यो । अब सन्चो भएको छ ।’ ४८ वर्षकी देविका नेपाली समाजमा विवाहपछि श्रीमान् छाडे महिलाकै कमजोरी देखाउने र महिलाको कुरा काट्ने परम्पराको अन्त्य भए महिला पीडित हुने क्रम घट्ने बताउँछिन् ।

पितृ सत्तात्मक नेपाली समाजमा शिक्षित या अशिक्षित दुवै प्रकारका महिला पीडित हुने गरेका छन् । समाजको अपेक्षा र महिलाको बुझाइको स्तर नमिलेका कारण शिक्षित महिला पीडित छन् भने धेरै कुरा नबुझ्दा अशिक्षित र ग्रामीण भेगका महिला पारिवारिक र सामाजिक अपहेलना र हिंसा सहन बाध्य छन् । हुन त राष्ट्रिय महिला आयोगमा दैनिक एक दर्जन महिला हिंसासम्बन्धी गुनासो लिएर आउने गरेका छन् । श्रीमान्ले अपहेलना गरेको, अर्की श्रीमती ल्याएको वा कुटपिट गर्ने गरेको भन्दै आउनेहरू धेरै भएको आयोगको तथ्याङ्क छ ।

महिला अधिकारका पक्षमा वकालत गरिरहेका अधिवक्ता दलबहादुर धामीका अनुसार शिक्षित, अशिक्षित दुवै वर्गका महिला हिंसाको गुनासो लिएर आउने गरेका छन् । पछिल्लो समयमा डक्टर, इन्जिनियरदेखि क्याम्पस पढाउनेहरूसमेत घरेलु हिंसा भएको भन्दै न्याय माग्न आउँछन् । अधिवक्ता धामी आफूले हेर्दै गरेको मुद्दा सम्झँदै भन्छन्, ‘अस्ट्रेलियामा बस्ने एकजना डक्टर महिलाले समेत घरेलु हिंसा भएको अधिकृत वारेसनामामार्फत मुद्दा लडिरहेकी छिन् ।’ आएकामध्ये केही मेलमिलापमा टुङ्गिने गरे पनि धेरै मुद्दा अदालतबाट सम्बन्धविच्छेद भएका छन् ।

अधिवक्ता धामी भन्छन्, फास्ट ट्रयाक कानुनको अभावमा घरेलु वा महिला हिंसाका मुद्दा लड्नेहरूमध्ये धेरैले बीचैमा छोड्ने गरेका छन् । लामो समयसम्म एउटै विषयमा काम गर्दा समय र पैसाको नास भन्दै पीडितले न्यायको अनुभूति नै नगरी छोडे पनि कानुनी उपचारका लागि आउनेहरूको सङ्ख्या भने बढ्दै गएको छ ।

सबै पीडितको नाम परिवर्तन गरिएको छ ।

संचारिका फिचर सेवा
(दाहाल राजधानीमा कार्यरत पत्रकार हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: