यमुना खनाल
लहान। आघर देबी रामलाई पढाउन सक्यो भने छोरी पनि हाकिम हुन सक्छे भन्ने कुरा थाहा छ। दिनभरी ज्याला मजदुरी गरेर दैनिक गुजारा गर्ने उनलाई मजदुरी गरेरै भएपनि छोरी पढाएर हाकिम बनाउने ठुलो इच्छा छ। उनी भन्छि्न्, ‘छोरीलाई सिडीओ बनाउछु, त्यो नभए डाक्टर।’
छोरीलाई पनि छोरालाई जस्तै समान शिक्षा दिनुपर्छ भन्ने उनले राम्रोसँग बुझेकी छन्। उनकी एक्ली छोरी कल्पना राम नजिकैको लेखनाथ माविमा कक्षा ७ मा पढ्छिन्। उनका एक दाजु र एकजना भाई पनि उनीसँगै त्यही स्कुलमा पढ्छन्।
आर्थिक अवस्था कमजोर भएकाले छोराछोरीलाई सोचे जस्तो पढाउन सक्दिन कि भन्ने चिन्ता आघर देबीलाई छ । छोरालाई एउटा र छोरीलाई अर्को खालको ब्यबहार उनले गर्दिनन्। ‘छोरालाई जे पढाउछु ,छोरीलाई पनि त्यही पढाउँछु’ उनी भन्छिन्।
बिहारी राम लहानकै एउटा आईएमईमा काम गर्छन्। बैदेसिक रोजगारीका शिलशिलामा तीन वर्ष कतार बसेर फर्केका बिहारी राम विदेश बस्दा आफूले बुझेकोे ज्ञानलाई परिवारसँगैै बसेर सदुपयोग गरिरहेका छन्।
उनका दुई छोरी र एक छोरा छन्। तीनै जना स्कुल जान्छन्। बिहारी रामको छोरालाई भन्दा छोरीलाइ राम्रो शिक्षा दिनु पर्छ भन्ने बुझाई छ। “छोरा आफूसँगै बस्ने , आफ्नो सम्पत्ति छोराले पाउने, तर छोरी अर्काको घरमा जाने हुँदा छोरीलाई छोरा भन्दा राम्रो शिक्षा दिनुपर्छ” बिहारी राम भन्छन् ।
छोराछोरीमा मात्र समान व्यवहार होईन, बिहारी रामको परिवार सुखी र सम्पन्न परिवारको लागि पनि उदारणिय छ। शिक्षित परिवारमा समेत देख्न नपाईने कामको बिभाजन रामको परिवारमा देख्न पाईन्छ।
बिहारी रामको परिवारमा न त छोरा छोरीमा नै विभेद छ, न त श्रीमान र श्रीमतीले गर्ने काम भनेर छुट्याईन्छ। श्रीमती काममा गएका बेला काखको बच्चालाई स्याहार्ने कपाल कोरिदिने , छोरीलाई स्कुलको लागि तयार गर्ने , खाना बनाउने र बच्चालाई खुवाउने काम बिहारी राम आफैँ गर्छन्। श्रीमती दाउरा लिन जंगल गएकीले उनी खाना बनाउँदै थिए । कुनैपनि काम गर्न आफूलाई अल्छी नलाग्ने बिहारी रामले सुनाए। आफ्नो काम गर्न अल्छी गर्न नहुने र काम श्रीमानको र श्रीमतीको भनेर छुट्याउनु नहुने उनको बुझाइ छ।
श्रीमानले गर्ने काम र श्रीमतीले गर्ने काम छुटट्यायो भने घर परिवारमा समस्या थपिने र घर झगडा हुन्छ भन्छन् बिहारी राम। …श्रीमती जंगलबाट आएर खाना बनाउदा मेरो काम छुट्थ्यो ,एक जनाको भरोसामा बसेको भए न त मेरो काम हुन्थ्यो नत छाराछोरी स्कुल समयमा जान पाउछन, तर मैले श्रीमतीले गर्ने काममा सहयोग गर्दा सबै काम सजिलो भयो’ रामले भने।
राम परिवारले जस्तै एक अर्काको काममा सघाउने र छोराछोरीलाई यसरी नै समान व्यवहार गर्ने हो भने लंैगिक विभेद हट्न धेरै समय लाग्दैन।
उनीहरू मात्रै होइन शिक्षाबाट बन्चित तराइका मुहर, चमार समुदाय, छोरीलाई छोरा सरह शिक्षा दिनुपर्छ भन्ने कुरामा आजभोली सचेत हुन थालेका छन्। सानै उमेरमा आफ्ना छोराछोरीको विवाह गर्ने परम्परागत चलन भएको यो समुदायमा छोरा छोरी दुबैलाई शिक्षादिक्षा दिनुपर्छ भन्ने कुरा राम्रोसँग बुझ्न थालेका छन्।
Comment Here!