आत्मविश्वासको कमाइ


प्रकाशित मिति :2016-05-06 10:41:18

इन्जिनबिना हावाको तालमा प्याराग्लाइड उडाउने जोखिमपूर्ण पेसामा रमाउने महिला पाइलट देशी–विदेशी यात्रुलाई सेवा दिइरहेका छन् । यसबाट उनीहरूको आत्मविश्वास र कमाइ दुवै बढेको छ ।  
  राधिका कँडेल
पोखराकी प्रतिभा बोगटीले ६ वर्षअघि श्रीमानसँग भनिन्, ‘मलाई प्याराग्लाइडिङ पाइलट बन्ने इच्छा छ ।’ उनले तालिममा जान मन लागेको छ भनेर जिद्दी गरिन् । जोखिमपूर्ण काम गर्ने तालिममा जाने भनेको सुरुमा श्रीमानले पत्याएनन्, हुन्न भनेर पन्छाए । उनका श्रीमानले मात्र होइन त्यसबेला तालिम दिने र प्याराग्लाइडिङ कम्पनी सञ्चालन गर्नेहरूसमेत महिलालाई पत्याउँदैनथे । किनकि महिला प्याराग्लाइडिङ गर्नसमेत डराउँथे । प्याराग्लाइडिङ पाइलट बन्ने त कुरै थिएन ।

महिलालाई जोखिमको काम गर्न नपत्याउने र घरबाट जान अनुमतिसमेत नदिइने अवस्थामा प्रतिभाको जिद्दी असामान्य नै थियो । तर पनि प्रतिभाले प्याराग्लाइडिङ पाइलट बनेरै छाड्ने आँट लिएर तालिममा जाने निर्णय गरिन् । पटकपटक आग्रह गरेपछि उनलाई श्रीमान्ले पनि साथ दिए । तालिमका लागि एक लाख ५० हजार रुपैयाँ तिर्नुपथ्र्यो । उनीसँग पैसा थिएन । कक्षामा जान थालेपछि श्रीमान्ले पैसा जुटाइदिए । निकै मिहिनेत गरेर उनले तालिम सकिन् । तीन वर्षसम्म एक्लै हावामा उडिन् । लामो अभ्यास र आत्मविश्वासपछि अहिले उनी प्याराग्लाइडिङ पाइलट भएकी छिन् । उनी भन्छिन्, ‘आँट भयो भने गर्न सकिँदोरहेछ ।’

उनले यात्रु उडाउन थालेकी छिन् । उनीभन्दा पहिला तीनजना महिलाले तालिम लिएका थिए । दुईजनाले बीचमै छोडेको र एकजना बच्चा भएपछि तालिम अवधिमै पलायन भएकी थिइन् । तालिम लिने महिलामा चौथोमा परे पनि प्रतिभा नेपालको पहिलो प्याराग्लाइडिङ पाइलट हुन् । आफन्त र छिमेकी मात्र होइन, धेरैले अहिले उनलाई चिन्छन् । आफूले नचिनेका व्यक्तिले समेत चिन्दा उनलाई असाध्यै खुसी लाग्छ । दैनिक उडाउने यात्रुले त चिनिहाल्ने भए । चिनाइको तरिका पनि फरक छ । कसैले पाइलटभन्दा पहिला महिला मात्र भनेर चिन्छन् । महिला भएको कारण पहिलो प्रश्न उठ्छ विश्वसनीयताको । उनी भन्छिन्, ‘धेरैले सुरुमा म तपार्इंसँग उड्दिनँ है ‘माइन्ड’ नगर्नु भन्छन्, तर अहिलेसम्म कोही नउडी फर्किएका छैनन् ।’ प्रतिभाले भनिन्, ‘सम्झाउन सक्नुपर्‍यो नि !’ उडाउन सक्नुभन्दा ठूलो क्षमता हो यात्रुसँग गर्ने व्यवहार । त्यसमा राम्रोसँग बुझाउन सक्ने अनुभव छ प्रतिभासँग ।

प्याराग्लाइडिङमा हावाले ३० मिनेटको उडान निर्धारण गर्छ । इन्जिनबिना उड्ने यस खेलमा पाइलटले हावाको तालमा उडाउने हो । कसैलाई आठ मिनेटमै झार्नुपर्छ । धेरै पैसा तिरेर रमाइलो गर्न आएका यात्रुलाई कम समयमै झार्नुपर्दा पाइलटलाई दुःख लाग्छ । तर, यो उनीहरूको वशमा हुँदैन । अर्की पाइलट तृशा बमजन भन्छिन्, ‘यात्रु खुसी हुँदा खुसी लाग्छ र दुःखी हुँदा दुःख लाग्छ ।’ यात्राको बेला सुख र दुःख आफ्नो कुराले होइन, यात्रुको व्यवहारले निर्धारण गर्छ ।’

यात्रुका रुचि फरक–फरक हुन्छन् । लामो दूरीको प्याराग्लाइडिङ मन पराउने बमजनले यस्ता थुप्रै अप्ठ्यारा यात्रुको सामना गरेकी छिन् । उनी भन्छिन्, ‘माथि उडायो भने पनि किन माथि ? तल झारे पनि किन तल ? भनेर हैरान पार्छन् ।’ कहिलेकाहीँ फोटो बिग्रिएर आएन भने फेरि उडाइदेऊ पनि भन्छन् । भाषा नबुझ्दाको पीडा त कति हो कति । ‘कतिवटा पो भाषा सिकेर सक्नु ? दुई–चारवटा देशको भए पो ।’

यो खेल पाइलट र यात्रु दुवैको सहयोगमा सुरक्षित हुन्छ । उड्ने बेला अलिकति दौडनुपर्छ । केही यात्रु भन्छन्, ‘हामीले पैसा तिरेको छ, किन दौडनु ?’ यस्तो व्यवहार गर्ने यात्रुलाई सम्झाएर उनीहरूको सुरक्षाको जिम्मा लिनु, खुसी बनाएर उडाउनु र भाषा नबुझ्नु चुनौतीका विषय हुन् । यी चुनौती स्वीकार गरेरै अगाडि बढेका छन् महिला । अहिले चारजना महिला दैनिक तीन–तीन उडान गर्छन् ।

जोखिम, घरपरिवारको असहयोग र न्यून आर्थिक अवस्थाले गर्दा यो पेसामा महिला कम भएको तृशा बताउँछिन् । उनका श्रीमान राजेश बमजन नेपालकै पहिलो प्याराग्लाइडिङ पाइलट हुन् । उनको आफ्नै कम्पनी छ । परिवारले बुझेको कारण उनलाई पेसामा सजिलो भएको छ । ‘म पनि पाइलट बन्छु भन्दा उहाँले ‘तिमीले सक्दिनौँ’ भन्नुभयो । उनीभन्दा अगाडि तालिम लिएका दुई महिलाले बीचमै छोडेको कारण महिलाले गर्न सक्छन् भन्ने विश्वास गुमेको थियो । उनलाई महिलाले पनि गर्न सक्छन् भन्ने विश्वास जगाउनु थियो । उनी तालिम लिएपछि उडिन् । उनका श्रीमानले चाहिँ नदेख्ने गरी श्रीमतीले प्याराग्लाइडिङ गरेको फोटो खिचेर फर्केछन् । घर आएपछि श्रीमानले गर्व अनुभव गरी खुसी भएको देखेर तृशाको आत्मविश्वास झन् बढ्यो । सफल रूपमा तालिम लिने पहिलो महिला भए पनि बच्चा भएको कारण उनले केही समयपछि मात्र व्यावसायिक उडान गर्न थालिन् । घर, बच्चा र जागिर धान्नु निकै गाह्रो कुरा हो । यसलाई पनि व्यवस्थापन गरेर यी महिला राम्रो आम्दानी गरिरहेका छन् ।

यो पेसामा जोखिम छ, तर कमाइ पनि राम्रो छ । उडाउने सबै सामान आफैँ किन्नुपर्ने कारण सिकाइका क्रममै पाँच लाखदेखि व्यावसायिक उडान गर्ने बेलासम्म १० लाख रुपैयाँसम्म खर्च हुन्छ । सम्पत्तिमा महिलाको पहुँच कम हुने कारण उनीहरूलाई सिक्न गाह्रो छ । यसमा सिनियर पाइलटको समेत भूमिका महत्वपूर्ण हुन्छ । सबैजनाले सहयोग गरेको कारण अप्ठ्यारो पर्दासमेत उनीहरूलाई टिक्न सजिलो भएको छ । आत्मविश्वास भएका र समय दिन सक्ने महिलाको यस क्षेत्रमा अझै खाँचो छ । कम्तीमा १५ जना प्याराग्लाइडिङ पाइलट महिला आवश्यक रहेको महिला पाइलट बताउँछन् ।

पहिचान र पैसाले यस क्षेत्रमा महिलालाई टिकाउन सजिलो हुने उनीहरूको बुझाइ छ । जोखिममै अवसर धेरै हुने कारण यी पाइलट महिला यही क्षेत्रमा रहने विश्वास गर्छन् । ‘कुनै समय थियो, ला म बाँचेँ भनेर फस्र्ट फ्लाइटमा रमाएकी थिएँ,’ तृशाले सात वर्ष पहिलाको क्षण सम्झिइन् । धानखेतको आँठामा, बस्ती नभएको डाँडामा ल्यान्ड गरेर १८ केजीको ग्लाइडर बोकेर तीन–चार घन्टा हिँड्नुपरेको क्षणले आफूलाई बलियो बनाउँदै लगेको तृशा बताउँछिन् । हरेक उडानले उनीहरू नयाँ कुरा सिक्छन् । दिनमै तीनवटा व्यक्तिको भाषा, मनोविज्ञान, संस्कृति र उनीहरूसँग गर्नुपर्ने फरक व्यवहारले यी पाइलटलाई थप व्यावहारिक बनाएको छ । प्रतिभाले भनिन्, पाइला–पाइलामा सिक्ने हो । जस्तो कि ‘सेफ ल्यान्डिङ’ गर्दा नि ऊर्जा मिल्छ, गल्ती हुँदा पनि के कारण यस्तो भयो भनेर सिक्ने मौका मिल्छ ।’

हुन पनि गल्तीबाटै सिकिने हो, कसले जन्मँदै जानेको थियो र ? सफलता र असफता दुवै भोगेर आत्मविश्वासका साथ जसले काम गर्न सक्यो उही यस्तो जोखिमपूर्ण पेसामा टिक्ने हो ।

(सञ्चारिका फिचर सेवा)
(राधिका, पोखराबाट पत्रकारिता गर्छिन् ।)    
 

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: