महिला खबर
चितवन । नेपाली महिला पत्रकारको अवस्थाको बारे एकजना अमेरिकन पत्रकारसँग चितवनमा छलफल भएको छ । सञ्चारिका समूह चितवनको आयोजनामा महिला पत्रकारको अबस्था र चुनौतीका विषयमा अनुभव आज आदान प्रदान गरिएको हो ।
चितवनको भरतपुरमा भएको छलफल कार्यक्रममा बोल्दै अमेरिकी पत्रकार जिल फिलियोभिचले ५१ प्रतिशत महिला जनसंख्याको समाचारको स्रोतका लागि पनि महिला पत्रकार आवश्यक रहेको बताउँदै अहिले पत्रकारितामा महिलाको सहभागिता विश्वभर नै गर्व गर्ने लायक भएको बताउनु भयो ।
जन्म संस्कारदेखि नै महिला र पुरुष बिच गरिएको असमान व्यवहारको परिणामनै पत्रकारिता जस्ता क्षेत्रमा महिलाको सहभागिता र पहुँच कम भएको उहाँको ठम्माई छ । नेपालमा मुल प्रवाह मानिने समाचारका विटमा महिलाको सहभागिता कम हुने जस्तै अमेरिकामा पनि समस्या रहेको भन्दै उहाँले सहभागिता र अवसरका सम्भावना भने राम्रो रहेको बताउनुभयो ।
महिलाअधिकार , राजनीति र कानुन विषयमा कलम चलाउँदै अमेरिकी पत्रकार फिलियोभिचले भन्नुभयो, ‘समाचार संकलन खोजमा पत्रकार बिच विभिन्नता रहनुपर्छ , अरुले नदेखेको विषय आफूले देख्न सक्नुपर्छ ।’
अमेरिकामा पनि महिला पत्रकारको अवस्था करिव करिव नेपालकै जस्तो रहेको प्रतिक्रिया उहाँले दिनुभयो ।
तल्लो तहमा महिला पत्रकारको सहभागिता राम्रो रहेको पाईएपनि माथिल्लो तहमा घट्ने क्रम अमेरिकामा पनि रहेको उहाँले बताउनुभयो । ‘विशेषत सम्पादकमा २० प्रतिशत पनि महिला छैनन्, फिलियोभिचले भन्नुभयो । तर मुख्यगरी सरकारी मिडिया पनि नभएको र पूर्ण स्वतन्त्रता रहेकाले विशेष व्यवस्था केही पनि नरहेको उहाँले जानकारी दिनुभयो । छलफलका क्रममा चितवनको पत्रकारितामा क्रियाशिल रहेका महिला पत्रकारले नेपाली महिला पत्रकार र उनीहरूका समस्याका विषयमा जानकारी दिएका थिए ।
सञ्चारिका समूह चितवनकी अध्यक्ष सिर्जना अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा लैंगिक समानताका विषयमा फिचर लेख्दै आउनुभएका पत्रकार नारायण ढुंगाना, डव्लु डव्लुजेकी उपाध्यक्ष प्रमिता ढकाल, महासचिव सरिता पौडेल, नेपाल प्रेस युनियनकी महिला विभाग संयोजक अनिता खनाल, फोनिज चितवनकी सदस्य कमला गुरुङलगायतका चितवनमा क्रियाशिल महिला पत्रकारको सहभागिता रहेको थियो ।
Comment Here!