निरज सापकोटा
रामेछाप । जिल्लामा घरेलु तथा साना उद्योग विकास समिति रामेछापमा उद्योग दर्ता गर्ने महिला उद्यमीको संख्या बढ्दै गएको छ । यस आर्थिक वर्षको चैत मसान्तसम्ममा ४३ जना महिलाले उद्योग दर्ता गरेको समितिको तथ्यांकमा उल्लेख छ । यो अवधीमा कार्यालयमा जम्मा १ सय ५२ उद्योग दर्ता भएका छन् । यीमध्ये ४३ जना महिला उद्यमी हुन् ।
घरेलु तथा साना उद्योग विकास समितिका सूचना अधिकारी रमेश थापाका अनुसार १५२ वटा उद्योगमा १ सय ८६ जना महिलाले रोजगारी पाएका छन् । महिलाले ढाका कपडा उद्योग, सिलाई उद्योग, कम्प्युटर प्रशिक्षण केन्द्र तथा पशु जन्य र कृषिजन्य उद्योगहरू दर्ता गराई सञ्चालन गरेको थापाले बताउनुभयो ।
थापाका अनुसार सबैभन्दा बढी उद्योग कृषि तथा पशुपालनको क्षेत्रमा दर्ता भएको तथ्यांक छ । अहिले कृषि तथा पशुपालनमा नेपाल सरकारले अनुदान दिने गरेको छ । त्यसका लागि युवा उद्यमीको आवश्यकता पर्दछ । घरमा पुरुषको भन्दा महिलाको उमेर कम हुने गरेकाले पनि महिलाको नाममा उद्योग दर्ता गर्नेको संख्या बढेको थापाको अनुमान छ । यसका साथै अधिकांश पुरुषहरू वैदेशिक रोजगारीमा गएका कारण पनि उद्योग दर्ता गर्ने महिलाको संख्या बढेको थापाले बताउनुभयो ।
Comment Here!