निरज सापकोटा
रामेछाप । जिल्लामा आफ्नो नाममा जग्गा दर्ता गर्ने महिलाको संख्या बढेको छ ।यस आर्थिक वर्षको चैत महिनासम्म आफ्नो नाममा जग्गा पास गराउने महिलाको संख्या ८ सय ८१ रहेको तथ्याकं जिल्ला मालपोत कार्यालयसँग छ । सरकारले महिलाका नाममा जग्गा दर्ता पास गर्दा लाग्ने शुल्कमा दिएको छुटका कारण महिलाको नाममा जग्गा दर्ता गर्ने क्रम बढेको हो ।
यस वर्ष जिल्ला मालपोत कार्यालय रामेछापमा भएका कूल ३ हजार १ सय ३७ वटा कारोवारमध्ये ८ सय ८१ वटा कारोवार महिलाको नाममा भई १८ लाख २० हजार रुपैयाँ राजश्व छुट पाएको जिल्ला मालपोत कार्यालय रामेछाप जग्गा दर्ता फाँटका नायव सुव्वा प्रेम बहादुर कार्कीले बताउनुभयो । गत आर्थिक वर्षको तुलनामा यस वर्ष महिलाको नाममा जग्गा दर्ता भने कम छ । गतवर्ष महिलाको नाममा जग्गा दर्ता गर्नेको संख्या १ हजार ५९ रहेको थियो ।
अघिल्लो आर्थिक वर्षसम्म श्रीमान श्रीमतीको नाममा संयुक्त रुपमा जग्गा दर्ता गर्दा ३० लाख रुपैयाँसम्मको कारोबारमा लाभ कर नलाग्ने व्यवस्था थियो । यही व्यवस्थाका कारण जग्गा बेच्ने बेलामा एकै घरका श्रीमान श्रीमतीको नाउँमा जग्गा दर्ता गरी जग्गा किनबेच गर्ने चलन बढेको र महिलाको नाममा समेत जग्गा दर्ता बढी हुने गरेको थियो । तर, जग्गा प्राप्ती ऐन २०१८ मा यसपाली भएको संशोधनले एउटा कारोबार जति जनाको नाममा भएपनि एउटै कारोबार मानेर लाभ कर लिने भन्ने नीति आयो । त्यसै कारण पनि यसवर्ष गत वर्षको तुलनामा महिलाको नाममा कम जग्गा दर्ता भएको हुन सक्ने जिल्ला मालपोत कार्यालय रामेछापका कार्यालय प्रमुख राज राजेश्वर प्रसाद त्रिवेदीले बताउनुभयो ।
Comment Here!