महिला खबर
काठमाडौं। बालविवाह एवं दाइजोविरुद्घ समाज र परिवारमा विद्रोह गर्ने किशोरकिशोरी तथा अभिभावक सम्मानित भएका छन् । २०७२ मा बालविवाह एवम् दाइजोविरुद्ध विद्रोह गरेर परम्परागत मान्यतालाई चूनौति दिएका ५ जनालाई बीरगन्जमा सम्मान गरिएको हो ।
सम्मानित हुनेहरूमा उमेर नपुगी विवाह गराउन खोज्ने आफ्ना परिवारविरुद्ध लागेर घर छोडी माईती नेपालको आश्रयमा बसिरहेकी पर्साकी रिंकु कुमारी ठाकुर, दाईजो नलिई विवाह गरेका पर्साका जटाधारी वर्णवाल, घर परिवारले बाल विवाह गराईदिन लागेका बेला विदेशमा रहेका आफ्ना बुवालाई पत्र मार्फत विवाह रोेक्न र पढाउन याचना गरेकी र आफ्नै विवाह रोक्न सफल भई अहिले पढिरहेकी बारा लिपनीकी सायमा खातुन, दाईजो नलिई विवाह गरेका बारा, बुनियादका रामप्रवेश मण्डल र समाजले बहिष्कार गर्दागर्दै छोरीको इच्छा अनुसार अन्तर्जातिय विवाह गरिदिएका पर्साका डा. रविन्द्र सिंह रहेका छन् । बालविवाह एवं दाइजो उन्मूलन राष्ट्रिय अभियान, नेपालले उनीहरूलाई सम्मान गरेको हो ।
नेपालमा विद्यमान बालविवाह एवम् दाइजो जस्ता कुप्रथाको अन्त्यको लागि विभिन्न पेशामा आबद्ध व्यक्तिले सन् २००५ अक्टोबर ११ देखि जनकपुरबाट दाइजो तथा बालविवाहविरुद्ध अभियान सुरु गरेका थिए ।
अहिले देशभरी यो अभियान बिस्तार भएकोे अभियानका संयोजक राजकुमार महतोले जानकारी दिनुभयो। कार्यक्रममा यी अभियन्ताहरूलाई हौसला बढाउन सहयोग र योगदान गर्ने सञ्चार संस्था, पत्रकार एवं अधिकारकर्मीलाई पनि सम्मान गरिएको संयोजक महतोले जानकारी दिनुभयो ।
Comment Here!