विजुली रिक्सा चलाउने निर्मला


प्रकाशित मिति :2016-05-11 12:11:08

IMG_9252

ज्ञानु पंगेनी
नवलपरासी । ‘हजुरले नै हो रिक्सा चलाउने ? यात्रुले प्रश्न गर्थे । म सहजै जवाफ दिन्थेँ । मैले नै चलाउछु , बस्नु न कहाँ जाने हो ?
कोही हाँस्थे , कोही एकछिन अलमल पर्थे अनि भन्थे ल हिड्नुस न त जाउँ । कोही भने सँगै रोकिराखेको पुरुष रिक्सा चालकलाई सोध्न पुग्थे । कोही महिला भएर पनि रिक्सा चलाउनु भएको है ! कति हिम्मतवाली हजुर त  भनेर हौसला दिन्थे ।

कावासोतीमा विद्युतीय रिक्सा चलाउने निर्मलाले आफ्ना शुरुका दिन सम्झेर यसरी मनका भाव व्यक्त गरिन्  । ‘आफूलाई समस्या परेपछि जे पनि गर्न आँट आउँदो रहेछ , यो पुरुषले यो महिलाले गर्ने काम भनेर सोचिने रहेनछ’
निर्मलाले भन्छिन्  ।

नवलपरासी कावासोती २ शान्तिटोल निवासी ३३ वर्षकी निर्मला तिमिल्सिनाले कावासोतीमा विद्यूतीय रिक्सा चलाउन थालेको एक वर्ष भयो   । उनले चलाउने रिक्सा अहिले कावासोतीको गल्लीगल्लीमा दौडिरहन्छ ।

निर्मलाले यसअघि एउटा चकलेट कारखानामा  काम गरिन्, तर  त्यसबाट खान पुगेन । अनि रिक्सा चलाउन सुरु गरेकी हुन् ।

 उनी भन्छिन्, ‘व्यवसाय गरुँ, लगानी गर्ने पैसा थिएन । मेरो अवस्थालाई बुझेर  सृजनशील सहकारी संस्थाले रिक्सा किन्न ऋण दिएपछि रिक्सा किनेर चलाउन थालेकी हुँ ।’

कामको खोजीमा थिइन् उनी । एकदिन कावासोती कै  सृजनशिल बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय रिक्सा किनिदिने प्रस्ताव उनलाई गर्‍यो ।

‘संस्थाका व्यवस्थापक उषा घिमिरेले एक्कासी रिक्सा चलाउनुहुन्छ ? हामी तपाईलाई  सहुलियत  ब्याजदरमा ऋण उपलब्ध गराउँछौ भन्नुभयो एकछिन त केही बोल्नै सकिनँ, तर सोचें, किन नचलाउने आँटेपछि त सकिहालिन्छ नि जस्तो लाग्यो र हुन्छ भनें ।  २ दिनसम्म रिक्सा चलाउन सिके  र तेश्रो दिनबाट चलाउन शुरु गरें’ उनले स्मरण गरिन् ।

अहिले उनी दैनिक एक हजारदेखि २ हजार रुपैयाँसम्म आम्दानी गर्छिन्  । हाटबजार लाग्ने  दिन त अझ धेरै नै हुन्छ ।  एक हजार रुपैयाँ  दैनिक बचत गर्ने गरेको उनी बताउँछिन् । उनको यो पेसाले अहिले  घरको आर्थिक अवस्थामा केही सुधार आएको छ ।

उनले सुरुका दिन सम्झिन्, ‘केही दिन त निकै दुःख भयो । म एकल महिला, अनि माईत बसेको । त्यसैमाथि रिक्सा चलाउन थालेपछि त समाजका कतिपयले हेयको दृष्टिले हेरे । मनमा धेरै चोट पुग्थ्यो, तरपनि आफ्नो छोराको भविष्य, घरपरिवारको बाध्यतालाई सम्झिएर नडग्मगाइ त्यस्ता कुराको पर्वाह नगरी कामलाई निरन्तरता दिएँ ।’

यो काम गर्न उनलाई वुवा हौंसला थपे । उनको रिक्सा विहान १० बजेसम्म र साँझ ४ बजेपछि  वुवाले चलाउने गरेका  छन् ।

उनकी आमा  रोगी छन् । त्यसैले उनले विहानबेलुका  घरधन्दा भ्याउनुपर्छ । त्यसले गर्दा यो समयमा वुवाको साथले उनलाई केही सहज भएको छ ।

‘पुरुषहरू उठ्नेवित्तिकै फुत्त काममा निस्कन सक्छन्, तर हामी जति बोले पनि घरधन्दाले छोड्दैन’ उनी भन्छिन् ।

उनका श्रीमानलाई निकै औषधी उपचार गर्दा पनि रोग निको भएन । रोग कै कारण  २ वर्षअघि उनको मृत्यु भयो ।अलि अलि भएको सम्पत्ति पनि औषधी उपचारमा खर्च भयो । न श्रीमान रहे न सम्पत्ति, उनलाई ठूलो बज्रपात पर्‍यो । श्रीमानको मृत्यु भएको ४५ दिनपछि नै ६ वर्षको छोरो  लिएर उनी माईतीको शरणमा गइन् ।

‘माइतमा वुवाको आम्दानीको श्रोत छैन । मसहित ३ दिदी वहिनीको विहे भैसक्यो । दाजुभाई छैनन्, त्यसैले विरामी आमाको हेरचाह गर्न र  औषधी उपचारका लागि खर्च जोहो गर्न पनि मैले यो काम गर्नु जरुरी थियो, गरें र सफल पनि भइरहेकी छु ’ उनले भनिन् ।

घर परिवार धान्ने काम पुरुषको मात्रै हो भन्ने मानसकिता पछिल्लो समय धेरै हदसम्म हटेको छ । तैपनि समाजमा कतिपय  पुरुषले मात्रै गर्दै आएका काम महिलाले गर्न सक्दैनन् र गर्नहुन्न  भन्ने मानसकिता रहेको छ । यस्तो मानसिकतालाई महिलाले विस्तारै चिर्न  सफल भएका छन्  ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: