छोरो पाउन भ्रूणहत्या : सरकारी निकाय मूकदर्शक


प्रकाशित मिति :2016-05-11 13:35:05

सुदूरपश्चिमका पहाडी भेगमा अवैध रूपमा, दक्षता नभएका व्यक्तिले गर्भपतन गराउने काम बेरोकटोक भइरहेको छ । सुरक्षित गर्भपतनको अवधारणा विपरीत महिला स्वास्थ्यमा गम्भीर असर पार्ने यो मामिलामा सरकारी निकाय पूरै मूकदर्शक छन् ।

प्रकाश सिंह

२०७१ वैशाखमा अछाम नन्देगडा–१ की ३५ वर्षीया मनकला साउदले स्थानीय औषधि पसलेको सल्लाह बमोजिम औषधि खाएर गर्भपतन गराइन् । तर औषधि खाएपछि उनको योनीबाट निरन्तर रगत बगिरह्यो । परिवारका सदस्यले चार घण्टा टाढाको बयलगडा अस्पताल लगे । उपचारको क्रममा उनको मृत्यु भयो । उपचारमा संलग्न एक स्वास्थ्यकर्मीले भने, “पूरा गर्भपतन भइसकेको थिएन, रक्तस्रावका कारण हेमोग्लोविनको मात्रा न्यून थियो । बचाउन सकिएन ।”

गाउँको औषधि पसलमा गर्भपतनको औषधि सेवन गरेर अप्ठयारो भएपछि उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र आएकी एक महिला । फोटो -डा.कुलराज शाही

गाउँको औषधि पसलमा गर्भपतनको औषधि सेवन गरेर अप्ठयारो भएपछि उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र आएकी एक महिला । फोटो -डा.कुलराज शाही

भदौ महीनामा कञ्चनपुर झलारी पिपलाडी नगरपालिका–५ बस्ने २६ वर्षीया राजमती भट्ट गर्भपतन गराउन झलारी बजारमा रहेको कामना क्लिनिक गइन् । भारतीय नागरिक जगपालको सल्लाह बमोजिम क्लिनिकबाट औषधि किनेर खाइन् । औषधि खाएपछि रगत बग्न थाल्यो । दुई दिनपछि उनको मृत्यु भयो । त्यसयता जगपाल फरार छन् ।

२०७२ जेठमा बाजुराको जगन्नाथ गाविस–८ बस्ने ३५ वर्षीया जमुना रोकायाले स्थानीय मेडिकल पसलबाट औषधि खाएर गर्भपतन गराइन् । रगत बग्न नरोकिएपछि उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज ‘रेफर’ गरियो । केन्द्रका चिकित्सक डा. कुलराज शाहीका भनाइमा, “हेमोग्लोविनको मात्रा ज्यादै न्यून थियो, रगतको आवश्यकता भएकाले अन्यत्र ‘रेफर’ गर्नुपर्यो ।”

२०७२ असारमा कोटिला गाविस–१ की खत्री थरकी एक महिलाले गाउँको मेडिकलकै औषधि खाएर गर्भपतन गराइन् । तर, गर्भ आधा पेटमै रहेकाले थप उपचार गर्न कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुगिन् । यहाँ सम्भव नभएपछि उनलाई नेपालगञ्ज ‘रेफर’ गरियो । केन्द्रकी स्टाफ नर्स हेमु श्रेष्ठका भनाइमा, “उनको हालत यति बिग्रिसकेको थियो कि त्यहाँ उपचार हुन सम्भव थिएन ।” तर जगन्नाथ–२ की २५ वर्षीया मनसरी नाथको उपचार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमै गरियो । स्टाफ नर्स श्रेष्ठका भनाइमा, “तीन दिनको उपचारपछि उनी घर फर्किएकी थिइन् ।” बाजुराको उत्तरी क्षेत्रमा एक दिनको पैदल दूरीमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुगिन्छ । त्यहाँ महीनामा तीन÷चार जना महिला गाउँमा असुरक्षित गर्भपतन गराएर अप्ठ्यारो भएपछि थप उपचारका लागि आउने गर्छन् । श्रेष्ठका भनाइमा, “उपचारमा आउने धेरै महिला रक्तअल्पता, रक्तस्राव, आधा गर्भ पेटमै रहेको जस्तोे समस्या लिएर आउने गर्छन् ।”

छिमेकी अछाम जिल्लाको अवस्था पनि उस्तै छ । बयलगडा अस्पतालमा महीनामा ३० जनाभन्दा बढी यस्ता महिला आउँछन् । अस्पतालका अनुसार “गर्भपतन गराएर अप्ठ्यारोमा परेपछि उनीहरू अस्पताल आउने गर्छन् ।” अस्पतालमा अछाम, बाजुरा र डोटीतिरका महिला धेरै आउने गरेका छन् । शहर–बजार आसपासका भन्दा पनि दुर्गम गाउँका महिला धेरै यस्तो समस्या लिएर आउने गर्छन् । “अप्ठ्यारो भएर आउनेमध्ये धेरैलाई रगतको जरूरत पर्छ”, एक कर्मचारीले भने ।

दुर्गम पहाडी जिल्लामा मात्र नभई सुदूरपश्चिमका तराईका जिल्लामा पनि गर्भपतन गराउने काम जथाभावी भइरहेको छ । कैलालीको धनगढी नगरपालिका-१ बस्ने ३० वर्षीया गीता श्रीवास्तवले स्थानीय मेडिकल पसलेले दिएको औषधि खाएर गर्भपतन गराइन् । तर जब उनलाई धेरै रक्तस्राव भयो त्यसपछि उपचारका लागि १८ साउन २०७२ मा सेती अञ्चल अस्पताल भर्ना गरियो । रगतमा हेमोग्लोविनको मात्र कम भएकाले उनलाई रगत दिएपछि सञ्चो भएको अस्पतालकी नर्सिङ निरीक्षक सुनिता खत्रीले बताइन् । त्यसै दिन धनगढी नगरपालिका-२ बस्ने २१ वर्षीया भुल थर भएकी महिला पनि अस्पताल भर्ना भइन् । उनको समस्या पनि उही थियो– औषधि पसलबाट किनेको औषधि खाई गर्भपतन गराएपछि रगत नरोकिएको । उनलाई पनि रगत दिएपछि सञ्चो भएको अस्पतालले जनाएको छ ।

सेती अञ्चल अस्पतालमा पहाडी जिल्लाबाट यस्ता समस्या धेरै आउने अस्पतालका प्रमुख डा. गणेशबहादुर सिंह बताउँछन् । अस्पतालबाट प्राप्त जानकारी अनुसार, २ जेठ २०७२ मा डडेल्धुरा आलिताल गाविस–३ बस्ने २६ वर्षीया गौरी बोहोरा गाउँमा असुरक्षित गर्भपतन गराएर अप्ठ्यारो भएपछि सेती अञ्चल अस्पतालमा भर्ना भइन् । एक हप्ता उपचार पछि सञ्चो भएर घर फर्किन् । त्यस्तै २१ जेठमा डोटी घायल–७ बस्ने २६ वर्षीय बुढा थर भएकी एक महिला आधा गर्भ पेटमै रहेको अवस्थामा अस्पताल आइपुगिन् । १२ साउनमा कञ्चनपुरको बेल्डाँडी–५ बस्ने ३६ वर्षीय पण्डित थर भएकी महिला पनि यस्तै समस्या लिएर सेती अञ्चल अस्पताल पुगिन् । केही समयको उपचारपछि उनीहरू घर फर्किएका थिए ।

३० असारमा कैलालीको विकट गाविस साढेपानी ६ बस्ने ३२ वर्षीया सागरानी चौधरी पनि अस्पताल भर्ना भइन् । उनको पनि समस्या उही थियो– गाउँको पसलमा किनेको औषधि खाएर गर्भपतन गराउनु । उनलाई रगत दिएपछि सञ्चो भएको थियो । ५ साउनमा कैलाली सहजपुरकी २४ वर्षीया तारादेवी साउद रक्तअल्पता र रक्तस्राव भएपछि अस्पताल भर्ना भइन् । गाउँमा गर्भपतन गरेपछि उनी समस्यामा परेकी थिइन् । नर्स सुनिता खत्रीका भनाइमा, “चार पोका रगत दिएपछि उनलाई सञ्चो भएको थियो ।” सेती अञ्चल अस्पतालमा मात्रै महीनामा ३० जनाभन्दा बढी जथाभावी गर्भपतन गराएर अप्ठ्यारो अवस्थामा पुगेका महिला आउने गर्छन् । अञ्चल अस्पताल प्रमुख डा. सिंहका भनाइमा “गएको चैत महीनादेखि १६ साउनसम्म यस्तो समस्या बोकेर ९० जना महिला अस्पताल आएका थिए ।” डा. सिंह भन्छन्, “यो अवस्था देशभरि छ, तर यहाँ समस्या गम्भीर छ भन्ने देखिसक्यो ।”

कैलाली नजिकै भारतको पलियामा रहेको सक्सेना अस्पताल- बाहिर भु्रण पहिचान गर्नु पाप भने पनि भित्र भु्रण पहिचान गर्ने काम हुन्छ । फोटो- प्रकाश सिंह

कैलाली नजिकै भारतको पलियामा रहेको सक्सेना अस्पताल- बाहिर भु्रण पहिचान गर्नु पाप भने पनि भित्र भु्रण पहिचान गर्ने काम हुन्छ । फोटो- प्रकाश सिंह

महाकाली अञ्चल अस्पतालमा २०७२ असारदेखि पुस महीनासम्म ५९ जना महिला गर्भपतनका कारण समस्यामा परेर थप उपचार गर्न आएका थिए । महाकाली अञ्चल अस्पतालको विवरण हेर्दा महीनामा २० देखि ३० जना महिला यस्तो समस्या परेर उपचार गर्न आउने गर्छन् । महाकाली अञ्चल अस्पतालका प्रमुख डा. श्रीराम तिवारीका भनाइमा, “यसले समाजमा असुरक्षित गर्भपतन भयावह अवस्थामा छ भन्ने देखाउँछ ।” क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलले उपलब्ध गराएको विवरणले डा. तिवारीको अनुमानलाई पुष्टि गर्छ । निर्देशनालयका शाखा अधिकृत बन्दना भट्टका भनाइमा, “२०७१÷७२ मा मात्रै ६४२ जना महिला यस्तो समस्या लिएर विभिन्न अस्पताल पुगेको देखिन्छ ।” (हे.बक्स)

बच्चा धेरै, चेतनाको अभाव, परिवार नियोजनका साधन प्रयोग नगर्ने लगायतका कारणले यस्तो समस्या आउने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ अहेब टेकबहादुर खड्का बताउँछन् । खड्का भन्छन्, “बच्चा बढी भएपछि गर्भपतन गराउन खोज्छन्, परिवार नियोजनका साधन प्रयोगमा कुनै मतलब गर्दैनन् । अनि समस्या पर्छ ।”

अझ हिजोको भोगाइका आधारमा अहिले भइरहेको गर्भपतनको तरीकालाई तुलनात्मक रूपमा वैज्ञानिक र सुरक्षित मान्नुपर्छ । केही वर्ष अघिसम्म सुदूरपश्चिमको पहाडी जिल्लामा योनीमा जडीबुटी अथवा काठ राखेर पनि गर्भपतन गराउने गरिन्थ्यो । बाजुरा कुल्देवमाण्डौकी देवु खाती भन्छिन्, “पहिला त काठ अथवा जडीबुटी राखेर गर्भपतन गराइन्थ्यो । अहिले सजिलो छ, गाउँमै औषधि पसल छन्, त्यहीं औषधि पाइन्छ ।”

जथाभावी गरिने गर्भपतनले महिलाको स्वास्थ्यमा कस्तो असर पर्छ ? जिल्ला स्वास्थ्य कार्यालय बाजुराकी स्टाफ नर्स रूपा बिक भन्छिन्, “सेतो पानी बग्ने, रक्तअल्पता हुने, बाँझोपन, तल्लो पेट दुख्ने, रगतको कमी हुने गर्छ ।” रूपा थन्छिन्, “त्यसमाथि पोषणको अवस्था पनि कमजोर हुने हुँदा यस्ता महिलाको पाठेघर खस्ने, क्यान्सर हुने अथवा रगत गएर मृत्यु समेत हुन सक्छ ।”

गैरकानूनी धन्दा

गर्भपतन गर्न पाउनु वा कानूनी मान्यता पाउनु भनेको जथाभावी गर्न पाउनु भन्ने होइन । यसका लागि गर्भपतन गराउन नर्स, डाक्टरहरूले तालीम लिएको हुनुपर्छ । त्यसैगरी गर्भपतन गराउने स्वास्थ्य संस्था पनि सूचीकृत भएको हुनुपर्छ । डा. सिंह भन्छन्, “तर गाउँघरमा गैरकानूनी रूपमा एचए, अहेब, अनमी र अरू स्वास्थ्यकर्मीले समेत गर्भपतन गराइरहेका छन् ।” कानूनतः १२ हप्तासम्मको मात्रै गर्भपतन गराउन पाइन्छ । सिंहका भनाइमा, “त्यसमा पनि शारीरिक, मानसिक अवस्था ठीक भए मात्र गर्भपतन गराउनुपर्छ । तर कुनै परीक्षण विना नै औषधि खुवाएर गर्भपतन गराउने आम प्रचलन छ । धेरै रगत बग्ने, तल्लो पेट दुख्ने, गन्हाउने पानी आउने समस्या हुनु यसैको परिणाम हो ।”

‘सुरक्षित गर्भपतन सेवा विस्तार रणनीतिक तथा कार्य सञ्चालन सेवा निर्देशिका–२०६६’ अनुसार स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाबाट गर्भपतन सेवा प्रदान गर्ने व्यक्ति र संस्था दुवैले प्रमाण–पत्र लिएको हुनुपर्छ । तर गाउँमा खोलिएका औषधि पसलबाट अदक्ष जनशक्तिका भरमा गर्भपतन गराउने काम भइरहेको छ । सुदूरपश्चिमको पहाडमा गर्भपतन गराउन धेरै प्रयोग गरिने औषधि ‘मिफेप्रिस्टोन २०० एमजी’ र ‘मिसोप्रोस्टल २०० एमसीजी’ हो । यो औषधि धनगढी, महेन्द्रनगर, नेपालगञ्ज र भारतका विभिन्न शहरबाट सुदूरपश्चिमका पहाडमा भित्रिने गरेको छ । अनुमति नलिएको पसलबाट यो औषधि खरीद वा बिक्री गर्न पनि पाइँदैन । भारत, गौरीफन्टाको जयमाता औषधि पसलका सञ्चालक विनित पाण्डेका अनुसार, “नेपाल भारतको आसपासका शहरमा गर्भपतनको औषधि किन्न जाँदा कुनै चिकित्सकको सिफारिश खोजिंदैन । आवश्यकता अनुसार किन्न पाइन्छ ।”

गाउँमा एचए, अहेबहरूले सञ्चालन गरिरहेका मेडिकल पसलबाट यो औषधि बिक्री भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. मोहन नाथ लाचारी व्यक्त गर्दै भन्छन्, “के गर्नु कानूनी रूपले नमिल्ने हो, तर उनीहरूले खुलेआम बिक्री गरिरहेका छन् ।” अझ कोल्टीका स्थानीय अनिल शाह त यतिसम्म भन्छन्, “कानूनका कुरा के गर्नु, यहाँका मेडिकलहरूमा बच्चा फाल्ने औषधि भनेर माग्नुस्, तुरुन्तै पाउनुहुन्छ । डाक्टरको सिफारिश न गर्भपतन गराउने योग्य व्यक्ति, केही चाहिंदैन ।” यसको पुष्टि गर्दै बाजुरा टाटे स्वास्थ्य चौकीका इन्चार्ज विष्णु जैसीले भने, “यो सबै काम पैसाका लागि भइरहेको छ ।”

औषधि बिक्री गर्न औषधि व्यवस्था विभागमा सूचीकृत हुनु जरूरी छ । सूचीकृत पसलले पनि नेपाल सरकारबाट मान्यताप्राप्त भएका कम्पनीको औषधि मात्रै बिक्री र प्रयोग गर्न पाइन्छ । विभागले ३० फागुन २०७० मा सार्वजनिक सूचना जारी गरेर गर्भपतनका लागि दुई वटा नेपाली कम्पनी र दुइटा भारतीय कम्पनीको औषधि मात्र चलाउन अनुमति दिएको छ । तर मार्तडीमा रहेको खप्तड फार्मेसीले योभन्दा फरक भारतीय ‘जग्सो नपाल फर्मास्युटिकल लिमिटेड इण्डिया’ को औषधि बिक्री गरिरहेको भेटियो । सञ्चालकले हाकाहाकी भने, “मलाई कुन कम्पनीको बिक्री गर्न पाउने, कुन नपाउने जानकारी नै थिएन ।”

गैरकानूनी रूपमा गर्भपतन गराउने वा गर्न सहयोग गर्नेलाई कारबाही गर्ने व्यवस्था भए पनि अहिलेसम्म कसैलाई पनि कारबाही गरिएको छैन । कानून व्यवसायी गगन रावलका भनाइमा, “गर्भको भ्रूणको लिङ्ग पहिचान गर्नु नै अपराध हो । यसरी पहिचान गर्न खोज्ने व्यक्ति र गर्ने चिकित्सक दुवैलाई कारबाही हुन्छ ।” रावलका भनाइमा, “भ्रूणको लिङ्ग पहिचान गराउनेलाई तीन महीनादेखि ६ महीनासम्म कैद र पहिचान गरी गर्भपतन गर्नेलाई ६ महीनादेखि तीन वर्षसम्म कैद हुने कानूनी व्यवस्था छ ।”

छोरो पाउने आश

‘छोराछोरी बराबर’ भन्ने व्यापक प्रचार भइरहे पनि सुदूरपश्चिमका जिल्लामा पहिचान गरेर छोरीलाई भ्रूणमै समाप्त गर्ने क्रम बढ्दो छ । कानूनले १२ हप्ता अर्थात् तीन महीनासम्मको मात्रै गर्भपतन गर्न पाउने व्यवस्था गरेको छ । तर चार महीनापछि परीक्षण गरेर गर्भपतन गराउने काम व्यापक मात्रामा भइरहेको छ ।

असुरक्षित गर्भपतनले समस्यामा परेकी एक महिला सेती अञ्चल अस्पताल धनगढीमा उपचार गराउँदै

असुरक्षित गर्भपतनले समस्यामा परेकी एक महिला सेती अञ्चल अस्पताल धनगढीमा उपचार गराउँदै

नेपाल र भारतमा गर्भमा भ्रूण पहिचान गर्न नपाइने कानूनी प्रावधान भए पनि गोप्य रूपमा पहिचान गरी गर्भपतन गर्ने गरिन्छ । सुदूरपश्चिमका धनगढी, महेन्द्रनगर, अत्तरिया, नेपालगञ्ज र भारतका पलिया, रूपैडिया, खटिमालगायतका बजारका निजी अस्पतालमा यो काम गरिन्छ । कञ्चनपुर बेलडाँडी बस्ने २४ वर्षीया मीना नेपाली (नाम परिवर्तन) ले भनिन्, “पहिलो छोरी भएपछि अर्की पनि छोरी हुने डरले पलिया गएर भ्रूण पहिचान गर्यौं । छोरी छ भनेपछि गर्भपतन गरायौं ।” स्वास्थ्य परीक्षण गर्न श्रीमान्सँग भारत पुगेकी मीनाले दुवैको सहमतिमा गर्भपतन गराएको बताइन् ।

बाजुरा बाह्रबिसकी जमुना थापा (नाम परिवर्तन) ले पनि भारतको पलिया गएर भ्रूण पहिचान गरेर छोरी रहेको थाहा भएपछि पाँच महीनाको गर्भ फालिन् । धेरै रगत बगेपछि उनले एक हप्तासम्म त्यहीं उपचार गराइन् । उनी भन्छिन्, “घरमा तीन छोरी छन् । अर्की पनि छोरी छ भन्ने थाहा पाएपछि गर्भपतन गराएँ, पाँच हजार भारु खर्च भो ।” बाजुराको कोल्टी बस्ने नन्दा रोकाया (नाम परिवर्तन) अर्को उदाहरण हुन् । उनले छोरो पाउने आशमा चार पटक गर्भपतन गराइसकेकी छन् । एक पटकमा रु.५ हजारदेखि रु.१० हजारसम्म खर्च भएको उनको भनाइ छ ।

गर्भपतन गर्न भारत जानु कति सहज काम भएको छ भने भारतको पलिया बसपार्कमा पुग्ने महिलालाई रिक्सा चालकले पनि ‘बच्चा पत्ता लगाउने अस्पताल पु¥याइदिने’ भन्छन् । दिनहुँ दश जना भन्दा बढी महिला भ्रूण पहिचान गर्न यहाँका अस्पतालमा पुग्ने गर्छन् । तर अस्पतालको भित्तामा चाहिं ‘भ्रूण पहिचान अपराध हो’ भन्ने बोर्ड राखिएको छ ।

महिला अधिकार मञ्च बाजुराकी अध्यक्ष रुक्मिणी शाहका भनाइमा, चेतनाको अभाव र छोरो पाउनुपर्ने सामाजिक मान्यताका कारणले भ्रूण पहिचान गर्न खोज्ने प्रवृत्ति बढ्दो छ । विभेद विरुद्ध थुप्रै संघसंस्थाले काम गर्दै आए पनि समाज परिवर्तन भइरहेको छैन भन्ने उदाहरण हो, यो ।” हुन पनि छोरो नभएमा श्रीमान्ले अर्को विवाह गर्ने, घरपरिवार र समाजबाट अपहेलित हुनुपर्ने चलन सुदूरपश्चिमको पहाडमा अझै छ । बाजुराकी शान्ता रोकाया भन्छिन्, “छोरो नभएपछि फरक दृष्टिले हेर्ने चलन छ । छोरो नभएकै कारण धेरै महिलाले सौता खेप्नु परेको छ । कति त घरबाट निकालिएका पनि छन् ।”

सुदूरपश्चिममा सुरक्षित गर्भपतन सेवाका लागि ३६ वटा स्वास्थ्य संस्था सूचीकृत रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार, यीमध्ये पनि धेरै संस्थामा तालीमप्राप्त व्यक्ति नहुँदा सबैमा यो सेवा छैन । तर यी सबै संस्था शहरबजार र सदरमुकामकेन्द्रित छन् । दुर्गमका स्वास्थ्य संस्थामा यो सेवा नभएकाले पनि गैरकानूनी गर्भपतन बढ्दै गएको हो । जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ अहेब दीपक शाह भन्छन्, “भौगोलिक विकटताले पनि बाध्य भएर असुरक्षित गर्भपतन गराउनेहरू धेरै छन् ।”

जो–कोहीले औषधि पसल चलाउन र बिक्री गर्न पाउँदैन । औषधि पसल सञ्चालन गर्न विभागमा दर्ता अनिवार्य छ । सुदूरपश्चिममा १५ सय ८६ औषधि पसल औषधि व्यवस्था विभाग नेपालगञ्जमा दर्ता भएको विभाग प्रमुख मेनु श्रेष्ठले बताइन् । सुदूरपश्चिममा सबैभन्दा धेरै कैलालीमा ८१७ र थोरै दार्चुलामा १८ वटा दर्ता छन् । गाउँमा सीएमए, एचए पढेकाले औषधि पसलहरू चलाउने मात्रै होइन, उनीहरू नै बिरामी जाँच गर्छन् र औषधि लेख्छन् । जिल्ला अस्पताल बाजुराका प्रमुख डा. मोहन नाथ भन्छन्, “औषधि खुवाएर सबैभन्दा धेरै गर्भपतन गराउने काम यस्ता पसलहरूबाट भइरहेको छ ।”

मध्य तथा सुदूरपश्चिमका औषधि पसलको अनुगमन गर्ने जिम्मा औषधि व्यवस्था विभाग नेपालगञ्जले पाएको छ । नेपालगञ्जले यो क्षेत्रका २४ जिल्लाको अनुगमन गर्नुपर्छ । विभागको कोही मानिस अहिलेसम्म बाजुरामा अनुगमन गर्न आएको आफूलाई थाहा नभएको जिल्ला अस्पतालका प्रमुख डा. मोहन नाथ बताउँछन् । औषधि व्यवस्था विभाग नेपालगञ्ज प्रमुख श्रेष्ठको आफ्नै तर्क छ । उनी भन्छिन्, “अनुगमन गर्न औषधि निरीक्षक अनिवार्य हुनुपर्ने हो । तर २४ जिल्ला हेर्ने तीन जना निरीक्षक छौं । त्यो पनि एक जना कार्यालय प्रमुखसहित ।” श्रेष्ठका भनाइमा, “एकजनाले अफिसको काम हेर्नुपर्छ । दुई जनाले सबै ठाउँमा कसरी अनुगमन गर्नु ?” सुदूरपश्चिममा महिलाको स्वास्थ्य माथि योविघ्न खेलबाड भइरहँदा पनि सरकारको अनुगमन कार्य प्रभावकारी छैन । डा. गणेशबहादुर सिंह भन्छन्, “अनुगमन नै हुँदैन भने पनि हुन्छ ।”

अस्पतालमा असुरक्षित गर्भपतनका समस्या

क्र.सं.     जिल्ला    संख्या 
 बाजुरा  ५१
बझाङ  २७
अछाम  १२८
डोटी  ५९
 कैलाली  १२७
 कञ्चनपुर  ११७
   ७  डडेल्धुरा २०
 बैतडी  ४१
 दार्चुला  ७२
 जम्मा  ६४२

स्रोत : क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल

याे लेख खोज पत्रकारिता केन्द्रबाट साभार गरिएकाे हाे 

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: