कुवेतको जेलबाट आमालाई निकालिदिन छोरीको विलौना


प्रकाशित मिति :2016-05-11 16:46:04

महिला खबर
111

नवलपरासी । लागु औषध कारोवारको अभियोगमा  कुवेतमा जेल सजाय भोगिरहेकी नवलपरासीकी गोमा दराईले छोरीसँग वारम्वार आफूलाई नेपाल झिकाउन फोन मार्फत आग्रह गरिरहेकी छन् ।

छोरी आकृती दराईले  गएको शुक्रवार राती  मात्रै आमाले फोन गरेर आफूलाई जेलबाट छुटाउन बारम्वार आग्रह गरेको बताइन् ।
आकृतिले भनिन् ‘आमाले कसरी, कहाँ पुगेर आफू जेलबाट छुट्न मिल्छ पहल गर्न भन्दै अनुरोध गर्नुहुन्छ । हामीले यहाँबाट के गर्न सक्छौ ? एकदम तनाव भइरहको छ ।’

 गोमाले छोरीलाई ९६५५०६५४९९७  फोन नम्बर  टिपाउँदै  फेसबुक र संचार माध्यमलाई दिन मलाई जेलबाट छुट्न सहयोग पुग्छ भनेर भनेको आकृतीले बताईन् ।

नवलपरासीको कावासोती नगरपालिका १० निवासी ४८ वर्षीया  गोमा २ वर्षदेखि कुवेतमा जेल सजाय काटिरहेकी छन् ।
कुवेतमा उनले काम गर्ने घरबाट लागु औषधसहित उनलाई प्रहरीले पक्राउ गरेको थियो । तर, गोमाले आफू लागुऔषध कारोवारमा संलग्न नभएको बताउँदै आएकी छन् ।

लेखपढ गर्न नसक्ने गोमा काठमाडौंमा बस्ने दलाल लीला गुरुङमार्फत ३ वर्षअघि घरेलु कामदारको रूपमा कुवेत पुगेकी हुन् । उनले आफू गएको ८ महिनासम्म २ लाख रुपैयाँ घर पठाएकी थिइन् । तर त्यसपछि उनी एकाएक सम्पर्क विच्छेद भइन् ।

आमाको खोजखवर गर्न आकृति काठमाडौं गइ एजेण्टलाई भेटेर कुराकानी गरेकी थिइन् । तर एजेण्टले आफूले उनलाई खोज्न सहयोग गर्न नसक्ने भन्दै उनलाई फर्काइदिए ।

त्यसको १० दिनपछि गोमाले अकस्मात जेलबाटै फोन गरिन् । आमाले आफूलाई घरमालिकले फसाएको कुरा फोन भनेको छोरी आकृति बताउँछिन् । ‘घरमालिकले झोलामा कुनै वस्तु कोठामा राख्न आफूलाई दिएर बाहिर गएको र त्यही समयमा प्रहरीले छापा मारेर त्यो सामानसहित आफूलाई पक्रेर जेलमा हालेको गोमाले बताएको छोरी आकृतिको भनाई छ ।

 गोमालाई कुवेत जाने प्रकृयामा सघाएका एजेण्ट गुरुङका अनुसार गोमा एक बंगलादेशी नागरिकको प्रलोभनमा फसेर समस्यामा परेकी हुन् । उनका अनुसार कुवेतमा चिनजान भएका एक बंगलादेशी नागरिकले गोमाले काम गर्ने घरमा केही सामान राखिदिएमा एकमहिना मै ठूलो कमाई हुने प्रलोभन देखाएका थिए ।

त्यसपछि उनले नियमित रुपमा उनको सामान आफूले काम गर्ने घरमा राख्न थालेकी थिइन् । यसबीचमा ती वंगलादेशी नागरिक र गोमाबीच टेलिफोनमा लगातार कुराकानी भइरहन्थ्यो ।

यहिबीच ती बंगलादेशी नागरिक लागु औषध कारोवारमा पक्राउ परे ।  प्रहरीले टेलिफोन सम्पर्क केलाउँदै गोमा कामगर्ने घरसम्म पुगेको थियो र उनलाई घरबाट लागु औषधसहित  पक्राउ गरेको थियो ।

उनलाई २५ वर्षको जेल सजाय तोकिएको छ । जेलबाटै आमाले फोन गरेर आफूलाई नेपाल झिकाउन छोरी आकृतीसँग भनेपछि आकृतीले संचार माध्यम र कावासोतीमा रहेकोे सामी हेल्भेटासद्वारा सञ्चालित सूचना केन्द्रमा आग्रह  गरिन् ।

सूचना केन्द्रले उनको उद्धारका लागि पहल सुुरु गरेको छ ।  छोरी आकृतीका अनुसार गोमाले २, ३ महिनाको फरकमा एकपटक शुक्रवारको दिन पारेर राती ८ बजेतिर  फोन गर्ने गर्छिन् । ‘लुकेर फोन गरेको हो भन्दै एक/दुई  मिनेटभन्दा बढी समय बोल्दिनन’ छोरीले भनिन् । उनका अनुसार फोनमा जहिले पनि आफूले धेरै दुःख पाएको भन्दै  नेपाल झिकाउन पहल गर्न आग्रह गर्छिन् ।

गोमा दराई

गोमा दराई

गोमाले आफू बसेको जेलमा अन्य नेपाली महिला पुरुषहरू समेत रहेको बताउने गरेकी छन् । जेलमै रहेकी  एक नेपाली महिलाले फोन लुकाएर राखेको र सोही फोनबाट आफूले फोन गर्ने गरेको आमालाई उधृत गर्दै छोरी आकृतीले बताईन । शुक्रवारको दिन  फोन गर्न केही सहज हुने आमाले बताएको आकृती बताउँछिन् ।

उनले गत फागुनमा फोन गरेकी थिईन्, त्यसपछि एकैचोटी वैशाख २४ गते शुक्रवार  फोन गरेकी हुन् । गोमाको आम माफीका लागि कावासोतीमा रहेकोे सामी हेल्भेटासद्वारा सञ्चालित सूचना केन्द्रले समेत  पहल गरिरहेको छ । सूचना केन्द्रकी परामर्शदाता रञ्जना लम्सालका अनुसार  उनलाई आममाफी दिलाए नेपाल फर्काउन सकिन्छ की भन्ने बारे  काठमाडौंको प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) मार्फत् नेपाली दुतावाससँगको समन्वयमा पहल भैरहेको छ । तर, गोमा कुवेतको कुन ठाउँमा कुन जेलमा छन् भन्ने थाहा पाउन गाह्रो छ , दुतावासलाई जेल गएर  बुझ्ने अनुमती दिईदैन । उनी कहाँ छन् भन्ने मात्रै थाहा हुन सके  पहल गर्न सजिलो हुने दुतावासलाई उधृत गर्दै लम्सालले बताईन् ।   कुवेतमा लागुऔषध कारोवारमा समातिएकालाई छुटाउन त्यति सजिलो छैन । लागुऔषध सम्बन्धि विदेशी नीतिनियम ज्यादै कडा भएकाले विदेशमा जो कोही पनि लागु औषध कारोवारमा समातिए भने उनीहरूलाई छुटाउन गाह्रो हुने लम्सालको भनाई छ ।

गोमाले छोरीलाई टिपाएको नम्बरमा समेत फोन सम्पर्क गर्ने प्रयास गरेपनि सम्पर्क हुन नसकेको लम्सालले जानकारी दिएकी छन् ।
‘हामीले सम्पर्क गर्न खोजेका छौं, यो नम्बर  कहाँ र कस्को हो तर, सम्पर्क हुन सकेन नट रिचेवल भनिरहेको छ । फोन सम्पर्क भयो भने थप जानकारी हुन्थ्यो र उद्धार गर्न  सहयोग हुन्थ्यो’ लम्सालले भनिन् ।

आमाकै चिन्ताले पढाई समेत विग्रेको छोरी आकृतीले गुनासो छ । ‘आमालाई छुटाउन ,  कहिले सूचना केन्द्र, कहिले संचार माध्यम त कहिले एजेन्टकोमा पुग्दा  पढाईलाई समय दिन पाईनँ, एसएलसी परीक्षा पनि विग्रियो । पोहोर पनि दिएँ राम्रो भएन, अहिले त परीक्षा दिनै मन लागेन’ उनले भनिन् ।

घरमा अहिले उनी वुवासँगै बस्दै आएकी छन् । वुवाले  नजिकैको मिलमा काम गर्छन् , एउटा भाई काठमाडौंमा घरेलु श्रमिकका रुपमा  काम गर्छन् ।  अर्का भाइ भारतमा रोजगारीका लागि गएका छन्  । दिदीको विहे भैसकेको छ ।

‘आमाले घरव्यवहार चलाउँदा घरमा सबै कुरा ठिक थियो । वुवा विरामी भैरहने हुँदा घरको आर्थिक अवस्था कमजोर भएकाले आमा विदेश जानुपर्‍यो । केही समय  पैसा पनि पठाईदिनुभयो दिदीको विहे गर्न,  भाई र मलाई पढ्न सजिलो भएको थियो, तर अहिले घरको आर्थिक   अवस्था  कमजोर छ । भाईहरू सानै छन्, पढ्ने वेला हो, तर पैसा नभएपछि  पढाई छोडेर काम गर्न गए , सबै लथालिङ्ग भयो , वुवाले मिलमा काम गरेकोले जेनतेन गुजारा चलेको छ,’ उनले भनिन् ।

‘छोराछोरी आमालाई सम्झेर बसेका छन् । जहान पराईको भूमिमा जेलमा परेकी छन्, म यता मिलमा घोटिइरहेको छु । जहान कुरिरहेको छु । उनलाई कसरी बोलाउने हो, केही थाहा छैन । पैसा पनि छैन । दौडधुप गर्न पनि पाउँदिन । सरकार र ठूलो मन भएको मान्छेले सहयोग गर्ला कि भनेर आशा गरेको छु’ गोमाका श्रीमान गोपाल दराइले भने ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: