रमला सिंगक

इमान्दारिताको नमूना बनेकोमा सुनिता ,ज्योती राई र टिका पाख्रिन सम्मान र प्रमाणपत्रका साथमा । तस्बिर सौजन्यः उपेन्द्र चाम्लिङ
धरान । ‘हामीले त्यत्रो महान काम गर्यौं भन्ने त लाग्दैन, जसको पैसा थियो उसैलाई फिर्ता मात्र गरेका हौं ।’ सुनीता राई र ज्योती राईको सम्मान भएपछिको अभिव्यक्ति हो यो । प्रशंसनीय र इमान्दार काम गरेको भन्दै विभिन्न संघ संस्थाहरुले सम्मान गर्दै उनीहरूलाई पुरस्कृत गरेका छन् ।
वैशाख १६ गते इटहरीबाट धरानतिर स्कुटरमा फर्किरहेका यी दुई किशोरी ज्योती र सुनिताले सेउती पुल नजिकै मोटरसाइकल दुर्घटनामा परि गम्भिर अवस्थामा रहेका दुई जना पुरुषलाई उद्घार गर्न हारगुहार गरी उपचारको लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान पठाए ।
घाइते नजिकै रहेको कालो झोला टिपेर घाईतेसँगै राख्न खोज्दा पैसा देखेपछि झोला आफूसँगै राखेर घाइतेका आफन्त खोजी बुझाए ।
उनीहरुको यो इमान्दारिताको सवैतिर चर्चा भयो । चर्चासँगै सुरु भयो उनीको सम्मान । विभिन्न संघसंस्था तथा व्यक्तिहरूले उनीहरुको इमान्दारीको प्रसंशा गर्दै सम्मान गरिरहेका छन् ।
दुर्घटनामा परि घाईते भएका धरानका आई एम ई सञ्चालक ओमबहादुर गेलाल र जग्गा व्यवसायी विनोद दियाली थिए । उनीहरू व्यवसायको सिलसिलामा इनरुवा पुगेर धरानतर्फ फर्किरहेका थिए । विनोदले हाँकेको मोटरसाईकलमा गेलाल पछाडी बसेका थिए । तीनकुनेमा विपरीत दिशाबाट आएको टेम्पोसँग उनीहरु चढेको मोटरसाइकल जुधेपछि दुर्घटना भएको थियो ।
गम्भिर घाईते भएका आईएमई सञ्चालक ओमबहादुर गेलाल अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए । विभिन्न व्यक्तिको सहयोगमा धेरै सोधखोजपछि झोला मृतक ओमबहादुरको भन्ने पत्ता लागेपछि यी दुइ किशोरीले खोजेर उनका बुवा दलबहादुरलाई दिएका थिए । मृतक ओमबहादुर दलबहादुरका जेठा छोरा थिए ।
ज्योतीले ती मृतक ओमको आफन्त भेट्न निक्कै खोज्नुपरेको बताइन् । त्यो दिनको अनुभव सुनाउदै ज्योतीले भनिन् ‘एक लाख रुपैयाँ होला जस्तो लागेको थियो हेर्दा १२ लाख रहेछ, त्यसपछि हामी झन् आत्तियौं ।’
ज्योतीले हतार हतार आफ्ना श्रीमान रुपेश राई र काका टिका पाख्रिनलाई पैसाको झोला दिएर वीपी कोइराला विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पठाइन् । उनीहरू त्यहाँ पुग्दा घाइते मृत्यु भईसकेको र मर्चरीमा राखेर आफन्त पनि घर फर्किसकेको जानकारी पाएछन् । तर उनीहरूको घर कहाँ भन्ने पत्ता लागेन । फेरी त्यही झोला बोकेर उनीहरू घर फर्के ।
राईले भनिन्, ‘हाम्रै अगाडी मृत्युसँग छट्पटाईरहेका ती दाईको मृत्युको खवर सुनेपछि साह्रै नरमाईलो लाग्यो । भेटिएको पैसा उहाँलाई नै दिन पाए भन्ने सोचेका थियौं, जुरेन ।’
भेटेको पैसा कसरी सुरक्षित राख्ने भन्ने पिरलोले निद्रा नलागेको अनुभव सुनिताले बाँडिन् । उन्ले भनिन् ‘भेटेको पैसा कसको थाह छैन, कसको हो भनेर खोज्दै थियौं पत्ता लागेको छैन । उल्टै चोरीको आरोप लाग्यो भने के गर्ने भन्ने डरले त्यो रात सुत्नै सकिएन ।’
घटनाको भोलिपल्ट उनीहरूले छिमेकी टिका पाख्रीनको सहयोगमा सम्बन्धित व्यक्तिबारे पत्ता लगाएका थिए । सुनिता र ज्योतिले मृतक ओमका भाई र बुुवालाई आफूहरूले भेटाएको १२ लाख रुपैयाँ दिएका थिए ।
मृतकका बुवाले महान कार्य गरेको भन्दै उनीहरूलाई एक लाख रुपैयाँ दिने निर्णय गरेपनि आफूहरूले नलिएको ज्योती र सुनिताले बताए ।
उनीहरूले लिन नमानेपछि सुनिता र ज्योतिको नाममा ओमबहादुरको परिवारले ५० हजार रुपैयाँ उदय सामुदायिक वनलाई दिने घोषणा गरेका छन् । यो घोषणा सुनेपछि टिका पाख्रिनले भने ‘पैसा भेट्नेहरू पनि इमान्दार परे, पैसाको हकदार पनि इमान्दार परे ।, राम्रो दुवैले राम्रो काम गरे ।’
उनीहरूको इमान्दारिताबाट प्रभावित भएको भन्दै पूर्व राजदुत डा. नवलकिशोर राईले फोन गरेर स्यावासी दिनुका साथै जनही १० हजार रुपैयाँ पुरस्कार दिएका छन् । उनीहरूले आफूले पाएको पुरस्कार र सम्मानले अरुलाई पनि इमान्दार हुन प्रेरित गर्ने बताए ।
ज्योति र सुनितालाई पैसा फिर्ता गर्न सहयोग गर्ने टिका पाख्रीनको इमान्दारितालाई सबैले प्रशंसा गर्नुका साथै धन्यवाद सहित सम्मान गर्नेको संख्या बढिरहेको छ । उनीहरुको इमान्दारिताको सह्रहनीय भएको भन्दै धरानका महिला अधिकारकर्मीहरू, किरात राई यायोख्खा, नेपाली काँग्रेस धरान उपमहानगर कमिटी लगायतले खादा तथा सम्मानपत्रले सम्मान गरेका छन् ।
Comment Here!