सर्मिला बुढाथोकी

डल्ली शेर्पा
दोलखा। एक वर्ष अघिको सम्झना ताजा छ डल्ली शेर्पाको मनमा। ०७२ बैशाख २९ गते, जुन दिन डल्ली शेर्पाको संघर्षले बुनेका सपना भताभुङ्ग भएका थिए।
भूकम्पको प्रहारले थिलथिलो बनाएकोे मुर्दा शरीर लिएर बाच्नेहरू छन् यहाँ, जो बाँचेर पनि पल पल मरीरहन्छन् अहिले पनि। तर पनि जिजिविषा मरेको छैन डल्ली शेर्पाको। यथार्थको अनुभूति भन्दा कल्पनाको संसारलाई अगाल्दै फेरी पनि जिउने जमर्को गर्दै छिन् उनी।
प्रकृतिको निर्दयीपनले गर्लल्याम आँखा अगाडी ढलेर भग्नावषेश भएको घरका अंश जति छिया छिया भएका छन् त्यती डल्लीको मन छिया छिया भएको छ, तरपनि हिम्मत नहार्नु गरेर खान सक्छु भन्ने आँटले उनलाई सधैँ साथ दिन्छ। उनी भन्छिन् – जीवन रही रहे १० वर्षमा यस्तै घर बनाएर छोड्छु, तर रोएर हिँड्दिनँ । दुःखले कमाएकी थिएँ र त गुमाए। धन्य ईश्वर मेरो परिवारलाई सकुशल छोड्यौ।
०७२ वैशाख २९ को भूकम्पले चरिकोटको सातदोबाटो नजिकै रहेको डल्लीको ४ तल्लाको १० कोठे पक्की भर निमेष भरमै खण्डहरमा परिणत भयो। छोरीलाई पढाउनु हँुदैन भन्ने शेर्पाको संस्कारमा हुर्किएकी डल्लीले औपचारिक शिक्षा लिन पाईनन् जति बेला उनको पारिवारमा आर्थिक अवस्था पनि कमजोर थियो। नोकरी गर्न योग्यता थिएन, तर पनि हिम्मत हारिनन्।
नपढ्नेले गर्ने काम पनि छन् भन्ने लाग्थ्यो। उनी थप्छिन् –सानो तिनो होटल व्यवसाय हाम्रो स्तरको मान्छेलाई उपयुक्त छ । सानैदेखि व्यवसाय गर्छु भन्ने सोचले उनलाई पछ्याईरह्यो र गरिन् पनि। जिन्दगीको उत्तारचढावमा केही समय व्यवसाय छोडर गाँउ फर्किन्। साथमा भएको पैसा सकिन थाल्यो। डल्लीको मन मानेन फेरी केही गर्छु भनेर चरिकोट फर्किईन्।
उनका श्रीमान् पनि विदेशिए, छोरा छोरीको उज्यालो भविष्य निर्माण गर्नका निम्ती। डल्ली श्रीमानको कमाई पर्खेर बसिनन्। अर्काको घरमा भाडामा बसेर बँगुर पाल्न थालिन्। डल्लीको बंगुर व्यवसाय विस्तारै फस्टाउदै गयो। सँगै उनले छ्याङ बनाउन शुरु गरिन् र बच्चा डोर्याउँदै होटल होटलमा पुर्याईन्। जस्ाले मह काट्छ उस्ले हात चाट्छ भनेझै परिश्रमको फल लिन थालिन्।
उनको मेहनतमा डाह गर्ने आहि्रसे भेटिए उनैका घरबेटी र कोठा छाड्न निर्देशन दिए। डल्लीको मन कहिल्यै निराश भएन। उनले तीन सय रुपैयाँ भाडामा बंगुरको खोर बनाईन्। तीन वर्ष खाडीमा श्रम गरेर उनका श्रीमान् घर फर्किए। सँगसँगै होटल व्यवसाय गरे। सधँै अरुको घरमा बसेर व्यवहार चल्दैन भन्ने लागेर ६ लाख रुपैयाँमा डल्लीले जग्गा किनिन्। जम्मा गरेको पैसा र अलि अलि ऋण काढेर घर बनाईन्। तर २१ वर्षको कमाई भूकम्पले क्षण भरमै ध्वस्त बनाइदियो उनको।
लाउने कपडा र खाने अन्न केही झिक्न सकिनन्। उनी भन्छिन– लोभी र पापीलाई भगवान्ले सजाय दिन्छ भन्थे, तर म र मेरो श्रीमान्ले एक एक थोपा पसिना बगाएर जम्मा गरेको सम्पत्ति एकै मिनेटमा ध्वस्त भयो।
आफूले औपचारिक शिक्षा नपाए पनि छोरा छोरीलाई राम्रो शिक्षा दिनु पर्छ भन्ने डल्ली अहिले चरिकोटमा पुनः होटल व्यवसायमै फर्किएकी छिन्। प्रकृतिले सवैलाई दुःख दिएको छ उनी भन्छिन् – हात खुटा सग्ला हुनेहरूले गरेर खानुपर्छ। तत्कालिन अवस्थामा राहतले काम गरे पनि यसले भविष्य टार्दैन। मर्ने मरेर गए बाँच्नेहरूले अरुको भर गर्नु हुन्न जे सकिन्छ काम गरेर खानुपर्छ हिम्मत हार्नु हुदैन।
Comment Here!