रसुवामा श्रीमानश्रीमतीको नाममा जग्गाको संयुक्त लाल पुर्जा बनाउने अभियान
हेमन्त खतिवडा
रसुवा । रसुवामा भएको लालपुर्जा वितरण शिविरमा २६ जोडी किसानले आफ्नो जग्गाको संयुक्त लालपुर्जा बनाएका छन् । जिल्ला भूमिअधिकार मञ्चको आयोेजनामा भएको लालपुर्जा वितरण शिविरमा यी २६ जोडीले संयुक्त पुर्जा बनाएका हुन् । पुरुषकोमात्रै स्वामित्वमा रहेको सम्पत्तिलाई संयुक्त बनाउने अभियान मञ्चले रसुवामा सञ्चालन गरिरहेको छ ।
शिविरमा आएका दम्पत्तीले खुसीसाथ जग्गाको संयुक्त लालपुर्जा बनाएका थिए । उनीहरूले एकल स्वामित्वमा रहेको घरजग्गा दोहोरो (पति पत्नीको नाममा) कायम गराएका हुन् ।
यसअघि असोज महिनामा सञ्चालित यस्तै शिविरमा धैबुङ्ग र लहरेपौवा गाविसका ५२ जोडी किसानले संयुक्त लालपुर्जा बनाई आफूसँग भएको जमिनको पति पत्नीले बराबरी स्वामित्व कायम गरेका थिए । यो अभियानकी सुष्मा न्यौपानेले शिविर आयोजना गर्नुअघि उनीहरूलाई संयुक्त पुर्जाका बारमो छलफल गरेपछि यसका लागि अग्रसर हुने गरेको बताउनुभयो ।
संयुक्त लालपुर्जा लिएपछि लहरेपौवाका दलबहादुर वाइवाले आफूलाई अति नै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो ‘आजबाट मेरी पत्नीलाई पनि भूमिको स्वामित्व दिएको छु, खुसीसाथ पति पत्नीको नाममा संयुक्त पुर्जा बनायौं ।’
लहरेपौवा गाविस उपल्लोपौवाका चन्द्रनाथ घिमिरेले संयुक्त पुर्जा बनाएपछि समाजमा सकरात्मक सन्देश जाने बताउनुभयो । भूकम्पमा परेर घाईते भएका धैबुङ्ग गाविस कटुन्जेकी बोदकुमारी खतिवडाले पनि यसअघि नै श्रीमानश्रीमतीको नाममा संयुक्त लालपुर्जा बनाएको बताउनुभयो । यसअघि गरेको शिविरमा रसुवामा २ सय जोडीले जग्गाको संयुक्त लालपुर्जा बनाएका थिए । ‘जग्गा/जमिनमा संयुक्त जग्गाधनी प्रमाणपूर्जा बनाएपछि जग्गाको बेचविखन वा भोगचलन एक्लै गर्न पाइदैन ।
Comment Here!