वसन्ती बास्तोला
एकै रथका दुई पाङग्रा हाम्रो जिन्दगानी,
तिमी आगो बन्यौ भने म बनुला पानी
तिमी मेरो मनको राजा, म त तिम्रो रानी
दुनियाले डाहा गर्ने बनाउ, जिन्दगानी
गायक उदय सोताङ र मनिला सोताङको यो सन्देशमुलक गीतमा जस्तै उनीहरूको दैनिक जीवनमा समेत एकले अर्कोलाई सहयोग गर्छन् । यो महिलाले गर्ने या पुरुषले भनेर काम छुट्याईदैन । तर कामको बाँडफाड हुन्छ । यही कारणले नै उनीहरूको जीवन गीतमा जस्तै दुनियाले डाहा गर्ने खालको छ ।
यसको रहस्य हो घरको काम मिलेर गर्नु । सवै काम श्रीमान, श्रीमती मिलेर गर्ने र खाना मिठो पकाउने उदयले बताए । भने ‘मलाई घरको सवै काम गर्न आउँछ, खाना मिठो पकाउँछु, मैले पकाएको सवैले मिठो मानेर खान्छन् ।’ घरको सवै काम गर्न आउँछ । उदयको कुरालाई पुष्टि गर्दै मनिला सोताङले भनिन् ‘उहाँले घरको सवै काममा साथ दिनुहुन्छ ।’ विवाह गरेर आएदेखि नै उदयले सहयोग गर्ने गरेको मनिलाले बताईन ।
महिलाले घर बाहिर काम गर्नुहुँदैन भन्ने मान्यता परिवर्तन भएको छ । तर पुरुषले घरको काम गर्नुहुँदैन भन्ने मान्यता भने परिवर्तन भएको छैन । यसै कारण महिला दोहोरो कामको मारमा छन् । घरको काममा सहयोग भएन भने महिलाले बाहिरको काममा प्रतिष्पर्धा गर्न सक्दैनन् । श्रीमान, श्रीमती सफल हुन एक अर्काको साथ चाहिने धेरै दम्पत्तीको धारणा छ ।
समकोण कार्यक्रमको ‘सह–अस्तित्व र साझेदारी : हामी दम्पत्तिको जिम्मेवारी’ विषयक वहसमा बोल्दै धेरै जोडीले यस्तो धारणा व्यक्त गरेका हुन् । तिनै मध्येका एक हुन् राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा । घर पुछ्ने र पाहुँनालाई खाजा बनाउने काम आफैँले गर्दै आएको उनले बताए । भने ‘घर बढार्ने र खाना पकाउने काम म नै गर्छु ।’ प्रधानमन्त्री भाको होस्, मन्त्री भाको होस, अथवा सचिव भाको होस, मैले श्रीमतीलाई हेप्छु म त एकदम खानासाना पकाउन जान्दिन भन्छ भने त्यो पदको निम्ति नै योग्य नै नहुने बाँस्कोटाको ठम्याइ छ । उनले भने ‘चिया पकाउन नजान्ने सचिवले के मन्त्रालय चलाउँछ ?’ बाँस्कोटाको कुरालाई पुष्टि गर्दै उनकी श्रीमती सुनिता बाँस्कोटाले भनिन् ‘म उँठ्दा किचनको र खानाको वेश तयार भइसकेको हुन्छ, मलाई चिया नि उहाँले नै बनाइदिनुहुन्छ ।’ श्रीमानको सहयोगले आफू सफल भएको सुनिताले बताईन् ।
सवै काम गर्न नभ्याए पनि आफूले पनि भान्सामा श्रीमतीलाई सहयोग गर्ने गरेको एमाले सचिव योगेश भट्टराईले बताए । भने ‘मैले श्रीमतीलाई भ्याएसम्म सहयोग गर्छु ।’ विस्तृतमा थाँहा पाउन आज शुक्रबार राती ९ बजे कान्तिपुर टिभीमा समकोण कार्यक्रम हेर्नुहोला ।
Comment Here!