अर्कै एउटा नेपाल


प्रकाशित मिति :2016-05-15 15:46:40

अस्पताल न स्वास्थ्यचौकी, हेरचाह न पोषिलो खानेकुरा । अहिले पनि भारी बोकेर हिँड्दाहिँड्दै बाटोमै बच्चा जन्माउन बाध्य छन् बाजुराका दुर्गम गाउँका महिला ।

प्रकाश सिंह
पाण्डुसेन गाविस– ७ अगाउपानी बस्ने २५ वर्षीया अबकति थापाको बच्चा पाउने समय भइसकेको छ । उनी गर्भवती भएको नौ महिना नाघिसकेको छ । उनको परिवार गाउँ छोडेर जाडो छल्न अछामको बुढाकोटतिर छ ।

उनको परिवार घर फर्कने सुरसारमा छ । बच्चा पाउने समय भइसकेकाले उनलाई बाटोमै बच्चा जन्मेला भन्ने लागेको छ । उनले अहिलेसम्म गर्भवती जाँच गराएकी छैनन् र कुनै खोप नै लगाएकी छिन् । उनलाई मात्रै होइन, यस भेगका उनीजस्ता धेरै आमालाई गर्भ जाँच गराउनुपर्छ भन्ने जानकारीसमेत छैन । यसअघि उनले दुईवटा बच्चा पनि बाटोमै जन्माएकी थिइन् । उनकै शब्दमा ‘बेंसीतिर झर्दा बाटोमै जन्मिएका थिए ।’ अहिले उनी बेंसी झरेको सात महिना भइसकेको छ ।

हुम्ला सरकीदेउ गाविस– ३ की २३ वर्षीया रमिता बुढाथोकी पनि गर्भवती भएको आठ महिना भएको छ । हिउँदका समयमा बेंसीतिर झरेकाले उनले पनि सुत्केरी जाँच, खोप र आइरन चक्की कुनै नखाएको बताइन् । घर फर्कन सुरु गरेको एक हप्तापछि मात्र गाउँ पुगिने उनको भनाइ छ । जाडो छल्न अछामको घुगुरकोट झरेको उनको परिवार अस्थायी पालमा बसिरहेको छ । पालमा बस्ता बिरामी भएको रमिताले बताइन् । उनकै शब्दमा तीनवटा समस्या छन् उनका । पहिलो, बाटोमा आउँदा–जाँदा उकालो–उरालो हिँड्दा समस्या हुन्छ, दोस्रो कडा परिश्रम गर्नुपर्ने बाध्यता छ । तेस्रो उनले राति सुत्ने बेलामा बाहेक आरामसमेत गर्न पाउँदिनन् ।

उनी भन्छिन्, ‘भारी बोक्नेदेखि लिएर हेरचाहको सबै काम आफैँ गर्नुपर्छ ।’ ०७० मङ्सिरमा पाण्डुसेन अगाउपानी बस्ने तनी थापाले अछाम जाने बेला बाजुराको बुढीगंगा गाविसको बीचबाटोमै बच्चा जन्माइन् । बाटोमै जन्माएकी छोरी केही दिनमै गुमाउनुप¥यो । बाटोमा चिसो थियो । बच्चाको स्याहार भएन । घर फर्कंदासम्म उनको मृत्यु भयो । ‘राम्रो खान पनि पाइएन, आराम पनि भएन । त्यसैले बच्चा जोगाउन सकिएन,’ तनीले भनिन्, ‘सुत्केरी भएको दिन म पाँच घन्टा बच्चा लिएर हिँडेकी थिएँ ।’ उनले दुईवटा बच्चा बसाइँ सरेको बेला अछाममा जन्माएको बताइन् ।

मार्तडी– १ बस्ने ४५ वर्षीया पक्क थापाले पनि पाँच सन्तान जन्माइन् । तीमध्ये चारजना बच्चा बसाइँ सर्ने बेला बाटोमै जन्माएको बताइन् । यस क्षेत्रका महिलाले बाटोमा बच्चा जन्माउनु सामान्य हो भन्दै उनले ‘अहिले पनि धेरै जनजाति महिलाले बाटोमा बच्चा जन्माउनुपर्ने बाध्यता रहँदै आएको’ बताइन् । आफूहरूलाई बच्चा पाउने समयमा आराम गर्ने, पोषिलो खाने इच्छा त थियो, तर गरिबीका कारण यसो गर्न नसकेको उनीहरूको भनाइ छ । गाउँमा खान–लाउन पुग्दैन, हिउँदको समयमा चिसो पनि हुन्छ, बाध्य भएर बसाइँ सर्नुपर्छ । पक्क थापाका भनाइमा उनी पाँच बच्चा पाउँदासम्म कहिल्यै गर्भवती जाँच गराउन गइनन् ।

जनजाति महासङ्घका अध्यक्ष नृप थापा (भोटे) का भनाइमा, ‘चिसो छल्न र गरिबीका कारण भेडा–च्याङ्ग्रा र सपरिवार हिउँदका ६ महिना बेंसी झर्ने भएकाले अधिकांश महिला बाटोमै बच्चा जन्माउन बाध्य हुन्छन् ।’ मध्य तथा सुदूरका पहाडी जिल्ला बाजुरा, बझाङ, मुगु, हुम्ला, जुम्लाका बासिन्दा मौसमी बसाइँ सर्ने गर्छन् । ती जिल्लाका जनजाति महिला बसाइँ सर्ने क्रममा बाटोमा बच्चा जन्माउने गर्छन् । पाण्डुसेनकी लछु बोगटी भन्छिन्, ‘घरमा खान पनि पुग्दैन, भेडा लिएर औलतिर जान्छौँ, भेडामार्फत सामान बोकेर परिवार पाल्छौँ, अनि बाटोमै बच्चा नजन्माएर कहाँ जन्माउने त ?’

बाजुराका उत्तरी क्षेत्रका मार्तडी, पाण्डुसेन, रुगिन बिच्छँयालगायतका ११ गाविसमा भोटे जनजातिको बसोबास छ । यी गाविसमा रहेका स्वास्थ्य संस्थामा भोटे जनजाति महिला गर्भवती भएको बेला स्वास्थ्यचौकीमा थोरै मात्रै आउने गर्छन् । उनीहरूको मौसमी बसाइँसराइ, भौगोलिक विकटता र चेतनाको कमीले उनीहरू स्वास्थ्य संस्थामा जाँच गर्न कम आउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका सिनियर अहेब दीपक शाहले बताए । त्योसँगै गरिबी पनि मुख्य कारण रहेको उनको भनाइ छ । राजधानी र सुविधासम्पन्न भनिने सहरी क्षेत्रका स्वास्थ्यचौकी र अस्पतालमा समेत औषधि, चिकित्सकको अभाव रहेको अवस्थामा बाजुराजस्तो दुर्गम जिल्लाको पनि उत्तरी क्षेत्रमा औषधि, चिकित्सक र स्वास्थ्य सेवा मात्रै होइन, चेतनाको समेत कति अभाव सहजै अनुमान गर्न सकिन्छ ।

पाण्डुसेन जिल्लाकै धेरै जनसङ्ख्या भएका गाविसमध्येमा पर्छ । त्यो गाविसमा पनि भोटे जनजाति महिला गर्भ जाँच गर्न नआउने पाण्डुसेन स्वास्थ्यचौकीमा कार्यरत अनमी मधु श्रेष्ठले बताइन् । चार वर्षसम्म जनजाति महिला सुत्केरी सेवासमेत लिन नआएको मधुले बताइन् । गर्भवती भएको बेला खोप र जाँच नपाउनाले उनीहरूको ज्यान जोखिममा पर्ने उनको भनाइ छ । गएको वर्ष मात्र घरमै सुत्केरी गराउँदा दुईजना जनजाति महिलाले ज्यान गुमाएको मधु बताउँछिन् ।

जनजाति अगुवा नृप थापा आफ्नो समुदायमा यो समस्या झन् चर्को रहेको स्वीकार गर्छन् । जनजाति महिलाले गर्भ जाँच, प्रसूति सेवा र अन्य जाँच नगर्दा उनीहरूको ज्यान जोखिममा पर्दै गएको छ । आमाको मात्र ज्यान जोखिममा पर्ने नभई नवजात शिशुको समेत ज्यान जोखिममा पर्ने गरेको छ । वर्षेनी भोटे जनजातिका बच्चाको मृत्यु हुने गरेको भए पनि जिल्लाका स्वास्थ्य संस्थामा भने उनीहरूको मृत्युको विवरणसमेत पाइँदैन । स्वास्थ्य संस्थामा जाँच गराउन नआउने हुनाले रेकर्ड नपाइने र उनीहरूको शिशु मृत्युदर कति हो भन्नेसमेत रेकर्ड राख्नमा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
(सञ्चारिका फिचर सेवा)
(प्रकाश द हिमालय टाइम्स दैनिकका बाजुरा संवाददाता हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: