आफूले गरेको काम र पाएको सफलतामा पार्वतीलाई गर्व छ । अनि व्यक्त गरी नस्क्ने खुशी पनि । यही उद्यमले उनलाई नाम र दाम दिएको छ भने अझै जिम्मेवारबोध गराएको छ ।
यमुना खनाल
सिराह । सुकेको केराको डाक्ला, बेसारको सुकेका पात, खर, खोष्टा र घिरौलाको जालो असरल्लै आगनभरी । सिरहाका लहान पडरियाकी पार्वती चौधरीको घर सधैँ यस्तै हुन्छ ।
सुकेका जलाएर फ्याकीने यी फोहेरबाट मोहोर बनाउन उनले संगालेकी हुन् । ‘झारको प्रयोग गर्न जान्दा त डलर आउने रहेछ’ पार्वतीको घर पुग्ने जो कोहीको प्रतिक्रिया हुन्छ । पार्वतीले सुकेको केराको डाक्ला , बेसारको सुकेका पात , खर, खोष्टा, मोथे र घिरौलाको जालाबाट बिभिन्न हस्तकलाका सामग्री बनाउँछिन् ।
गाउँमा सहजै रुपमा पाउने, तर खेर गईरहेका त्यस्ता कच्चा पदार्थको प्रयोग गरेर पार्वतीले, गहना राख्ने बाकस, कलमदानी , महिलाले बोक्ने झोला, फाईल, पर्स, फलफुल, रोटी राख्ने भाँडा, टी म्याट, हट म्याटलगायतका सामग्री बनाउँछिन् ।
४५ वर्षीया पार्वतीले उद्योग दर्तै गरेर हस्तकलाका सामान बनाउन थालेकी हुन् । उनले ग्रामीण महिलाले बनाएका सामग्री तथा फलफुल प्रशोधन केन्द्रले बनाएका आँप, कटहर, बयर मिसाएर बनाइएको अचार समेत संकलन गरेर बेच्छिन् ।
उनका उत्पादनका ग्राहक भने धेरै जसो विदेशी पर्यटक हुन् । संंकलन केन्द्रमा आएका सामग्री पार्वतीले काठमाडौंको सहकारीलाई दिन्छिन् । त्यसले बाहिरी देशमा बजारीकरण गर्छ ।
पार्वतीको माईती चितवन हो । त्यसैले उनले बनाउने सामग्रीमा , चितवन राष्ट्रिय निकुन्जमा पाईने जनावरहरू हात्ती, जरायो , गैँडा ,परेवा, कछुवाको चित्र आफ्ना हस्तकलामा राख्ने गरेकी छन् ।
साथै उनले यी जनावरको आकारमै हस्तकलाका सामान बनाउने गर्छिन् । हेर्दा सुन्दर र आकर्षक लाग्ने यी सामग्रीप्रति जोकोही आकर्षित हुने गर्छन् । जनावरको आकारमा बनाइएका यस्ता सामग्रीलाई बच्चाहरूले निकै मन पराउने गरेको पार्वतीको अनुभव छ । त्यसैले कलमदानीको माग धेरै हुने गरेको उनले सुनाइन् ।
आफ्ना सामग्रीले चितवन राष्ट्रिय निकुन्जमा पाईने गैँडा , हात्ती, जरायो,कछुवाका बारेमा बालबालिकाको उत्सुकता पुरा गर्न पनि सहयोगी हुने गरेको पार्वती बताउँछिन् ।
वर्षौ भयो उनले यो काम गर्न थालेको । यी सामान बनाउँदा खरले काटेर र फुटेर पार्वतीका हात छियाछिया भएका छन् । हातैले बिभिन्न बुटा निकालेर सजाउनु पर्ने हुँदा निकै ठूलो मिहिनेत पर्ने यो काम झन्झट नमान्नेले मात्र गर्न सक्ने उनी बताउँछिन् । तर, जति दुःख भएपनि जव आफ्नो सोचाइ अनुसार त्यो सामग्री बनेपछि भने उनले सारा दुःख विर्सिन्छिन् । भन्छिन् ‘संसार कै सुख पाएको र संसारै जितेको जस्तो अनुभुति हुुन्छ ।’
पार्वती चौधरीले यो कला आफ्नी आमाबाट सिकेकी हुन् । परम्परागत थारु संस्कृतिको महत्व बोकेका यी सामानहरू सानोमा आमाले बनाएको देखिन् र अलिअलि बनाउने पनि गर्थिन् । तर यसलाई व्यवसाय नै बनाउनुपर्ने बाध्यता भने उनको श्रीमानको मृत्युपछि उनलाई भयो । श्रीमानको मृत्युपछि दुई छोराछोरीको लालन पालन र शिक्षा दिक्षाको जिम्मेवारी उनी एक्लैले निभाउनुपर्यो । दिन बित्दै जाँदा अभिभाबक, साहारा साथी जे भने पनि त्यही हातको सीप बन्यो पार्वतीको सहयोगी ।
अहिले पार्वती महिला उद्यमीको रुपमा स्थापित छन् । सामानले बजार नपाउला भन्ने चिन्ता छैन । आफूले गरेको काम र पाएको सफलतामा पावतीलाई गर्ब छ । अनि व्यक्त गरी नसकिने खुशी पनि । यही उद्यमले उनलाई नाम र दाम दिएको छ । यही उद्यमले उनले छानो पाएकी छन् । यसैको कमाईबाट पूर्वपशिचम राजमार्गमा चारकोठे पक्की घर बनाएकी छन् । छोरा कम्प्युटर इन्जिनियर छन् । छोरीले स्नातक गरेकी छन् ।
सिरहा जिल्लामा उद्यमीमा उनको नाम पहिला आउँछ । कतै मेला महोत्सव भएमा घरेलु तथा साना उद्योगले पार्वतीकै नाम सिफारिस गर्छ । गतवर्ष घरेलु तथा साना उद्योग कार्यालय लहानको अनुरोधमा काठमाडौंमा भएको हस्तकला प्रदर्शनीमा उनले भाग लिइन् र नेपालकै उत्कृष्ट महिला उद्यमीको प्रमाण पत्र पाईन् ।
जिविकोपार्जनका लागि बाध्यताले सुरु गरेको कामले एक सफल व्यवसायी बनाइदियो । उनले भनिन् ‘मैले त यसरी सफल हुन्छु भनेर कल्पना पनि गरेकी थिईनँ, तर म सफल भएँ । यो मेरो प्रयासले र निरन्तरताले भएको हो ।’
यो सफलताले उनलाई अझै जिम्मेवार बनाएको छ । त्यसैले उनी यतिमा नै सन्तुष्ट हुन सकेकी छैनन् । ‘सिरहा जिल्लामा २५ , ३० जना आफू जस्तै सीप भएका महिला उत्पादन गरेर ठूलो उद्योग बनाउन पाए हुन्थ्यो‘ उनी भन्छिन् । त्यसमा उनी जुटिसकेकी छन् । अहिले उनी रात दिन काम गरिरहेकी छन् ।
‘मलाई यो कामले यति सम्मान दियो , आम्दानी पनि दियो’ त्यसैले अरुलाई पनि यो काम गर्न आम्दानीको श्रोत बनाउन पार्वती सबै महिलालाई सुझाव दिन्छिन् ।
तराईका महिला आम्दानी गर्न नसकेका कारण हिंसाको सिकार बन्नुपरेको उनको ठहर छ । काम छैन भनेर अरुको कुरा गरेर बस्नु भन्दा गाउँघरमै पाईने किन्नु पनि नपर्ने त्यसैखेर गएका कच्चा पदार्थ प्रयोग गरेर खाली भएको समयमा गर्न मिल्ने कामलाई अघि बढाउनुपर्ने उनको सुझाब छ । सबैले यो काम गरे सफल हुने पार्वतीको दाबी छ । मैले निरन्तर लागेकै कारण सफलता पाए त्यसरी सबैले गर्ने हो भने सफलता पाइन्छ ।
Comment Here!