एचआईभी संक्रमितका खाने भाँडा समेत छुट्टै
भाेजमा जाँदा घरैबाट भाँडा लिएर जान्छन् संक्रमित
प्रकाश सिंह
बाजुरा। अछामको विकट गाबिस रहफकी ३५ वर्षीया धर्मा विक घरभित्रै अछुत जस्तै भएकी छन्। उनले खाने भाँडा, ओढ्ने ओछ्याउने लुगा, सुत्ने ठाउँ सवै अलग्गै छन्। जवदेखि आफू एचआइभी संक्रमित भएको थाहा पाइन् तवदेखि उनले आफैँ यी सवै कुरा अरुबाट अलग गरिन्।
संक्रमित भएको ४ वर्षअघि उनले थाहा पाइन्। चार वर्षअघि नै उनका श्रीमान मिन बहादुर बिकको मृत्युपछिमात्र उनले आफूपनि संक्रमित भएको थाहा पाएकी हुन्। संक्रमित भएको थाहा पाएदेखि उनको घरमा खाना खाने भाडा, लगाउने लुगा र सुत्ने ठाँउ समेत अलग्गै बनाइन्। उनीलगायत उनको परिवारमा एक छोरा, दुई छोरी छन्। कान्छी छोरी निर्मला र उनी संक्रमित छन् ।
‘घरमा आमाछोरीलाई रोग लागेकाले अरुलाई सर्छ भन्ने डरले आफूले खाने भाँडादेखि सुत्ने ठाउँ समेत छुट्टै बनाएकी हुँ’ धर्माले भनिन्।

धर्मा र उनकी छाेरी निर्मला विक
उनले आफूले आफैँलाईमात्रै हैन, समाजले पनि अलग्याएको छ। आफूहरूलाई त यस्तो रोग लाग्यो, अरुलाई केही नहोस भनेर आफूहरूलाई समाजले समेत अलग्गै राख्ने गरेको उनी वताउँछिन्। आफूले खेतवारीमा प्रयोग गर्ने कुटो कोदालो समेत आफ्नो अलग्गै रहेको धर्माले वताईन्।
गाँउमा कुनै भोज भतेर भएमा आफूहरूलाई निम्तोपनि एकदमै कम आउने गरेको उनको भनाइ छ। गाँउका सबैले अरुलाई सर्छ भन्छन् अनि आफूले पनि घरमा सबै अलग गरेको धर्माले भनिन्।
यदि कुनै भोज भतेरमा निम्तो आएपनि खाना खाने भाडाँ घरवाटै लिएर जाने गरेको अर्का संक्रमित दिपक रावलले वताए।
‘यो रोग कुन कारणले सर्छ भन्ने आफूहरूलाई जानकारी पनि छैन् समाज र अरुले झन छुवाछुत गर्ने गरेको छ’ दिपक भन्छन्। संक्रमित महिला महिनावारी र सुत्केरी भएमा बस्ने छाउपडी गोठ पनि लागि छुट्टै भएको रहफकी टिका रावलले वताईन्। ‘संक्रमित महिलाका छाउगोठ अलगै छन्, अरु महिलाका अलग छन्’ उनले भनिन्। रहफ गाविस अछाम सदरमुकाम मंगलसेनबाट तीन दिनको पैदल दुरीमा रहेको छ।
संक्रमित भएकै कारण अहिले पनि परिवार र समाजबाट बहिष्कृत हुने, अपहेलित हुने गरेको वाजुरा बाह्रविसकी संक्रमित मिना बिक बताउँछिन्।
संक्रतिमको घरमा जानु हुँदैन। आमा वुवा संक्रमित छन् भने छोराछोरी समेतलाई हेला गरेको उनले वताइन्। बिद्यालयमा समेत विद्यार्थी अपहेलित गर्ने गरेको संक्रमितका बच्चाहरूले वताएका छन्।
आर्थिक वर्ष २०७१/७२ सम्म सुदूरपश्चिममा ६ हजार भन्दा बढी एचआईभी संक्रमित रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा छ। विगतका वर्ष भन्दा संक्रमितको संख्या बढदै गएको पाईएको छ। निर्देशनालयका अनुसार सुदूरपश्चिमका ९ जिल्लामा ६ हजार ३ सय ६५ जना संक्रमित छन्।
सबै भन्दा बढी कैलाली जिल्लामा २९ सय ४८ जना रहेका छन् भने कम दार्चुलामा ३२ जना रहेका छन्। त्यस्तै अछाममा १४ सय ४५, डोटीमा १ हजार ४३, डडेल्धुरा १ सय ४, बझाङमा ९२, बैतडीमा १ सय ६०, कञ्चनपुरमा ४ सय ७१ र बाजुरामा ७० जना रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिमा ११ ठाँउमा एचआईभी जाँच गर्ने व्यवस्था छ। आ व ७१।७२ मा नयाँ १ सय १७ जना नयाँ संक्रमित फेला परेका छन्। जिल्लाका विकट ठाँउमा रगत परिक्षण गर्ने ठाँउ नभएकाले संक्रमितको संख्या धेरै हुनसक्ने अनुमान छ। सुदूरपश्चिमका अधिकांश पुरुष भारतका बिभिन्न सहरमा जाने भएकाले यो क्षेत्रमा संक्रमितहरू बढ्दै गएको स्वास्थ्यकर्मी वताउँछन् ।
Comment Here!