महिला खबर
दोलखा । नाङ्लोमा राखेर चटपटे र पानीपुरी बेच्थिन् देसुमाया । तर एक्कासि उनले ठेलागाडा पाइन् । अहिले दोलखा मार्वुकी देसुमाया राई शेर्पालाई काम गर्न पहिले भन्दा धेरै सहज भएको छ ।
‘अरुको पसल अगाडिको पेटीमा नाङ्लोमा चटपटे र पानीपुरी राखेर बेच्नुपर्दा निक्कै समस्या भइरहेको थियो अहिले सजिलो भयो’ उनले भनिन् ।
बुढेसकालमा समेत युवा जोशका साथ आफ्नै व्यवसाय गरेको देखेर घरेलु तथा साना उद्योग विकास समिति दोलखाको समन्वयमा शिघ्र उद्यम पुर्नरुत्थान कार्यक्रम संगम दोलखा शाखाले व्यवस्थित व्यवसाय गर्न उनलाई ठेला गाडा किनिदिएको हो । ठेलागाडा पाएपछि उनी भन्छिन् ‘अघि काम गर्ने जोश जाँगर भएपनि मैले सफा तरिकाले चट्पटे बेच्न सकेकी थिईनँ, अब चटपटे र पानीपुरीसँगै अन्य सामान थपेर बेच्न सजिलो हुन्छ ।’
अहिले चटपटे बेचेर उनले दैनिक चार पाँच सय रुपैयाँ आम्दानी गर्छिन् । अब ठेलागाडा भएपछि व्यवसाय बढ्ने कुरामा देसुमाया आशावादी छन् । ‘अहिले खर्च कटाएर मासिक ५ हजारसम्म बचाउन सकेकी छु, यसले जेनतेन घर खर्च चलेको छ अब ठेलागाडामा व्यवसाय सुरु गरेपछि ग्राहकलाई सफा खान दिएर सन्तुष्ट पार्दै आम्दानी बढ्ने र केही पैसा जोगाउने आशमा छु’ – देसुमायाले भनिन् ।
शिघ्र उद्यम पुर्नरुत्थान कार्यक्रम संगम दोलखाले देसुमाया जस्तै साना उद्यम गर्ने अन्य महिला व्यवसायीलाई प्रोत्साहन गर्न ठेला गाडा वितरण गरेको छ । घरेलु तथा सानो उद्योग विकास समिति दोलखाका प्रमुख मणीराम नेपाल परम्परागत व्यवसाय गर्दै आएका महिला व्यवसायीलाई आधुनिक तथा व्यवस्थित व्यवसायका लागि प्रोत्साहित गर्न ठेला गाडा वितरण गरेको बताउनुहुन्छ । कार्यक्रमले वैशाख गतवर्ष २९ गतको भूकम्पको केन्द्रविन्दु रहेको दोलखाको सिंगटीलगायतका बजारमा ठेलागाडा वितरण गरेको उक्त कार्यक्रमका दिपक पौडेलले जानकारी दिनुभयो ।
घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख नेपालका अनुसार घरेलु तथा साना उद्योग विकास समिति दोलखाले प्रोत्साहनको लागि बिभिन्न कार्यक्रम सञ्चालन गर्न लागेपछि महिला उद्यमीको संख्या समेत बढेको छ । कार्यालयकोे तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ को वैशाख मसान्तसम्म दर्ता भएका ३ सय ३१ वटा उद्योग मध्ये १ सय १२ वटा उद्योेग महिलाका नाममा छन् ।
नेपालका अनुसार सबै भन्दा बढी कृषि तथा पशुपालनमा ४२ ओटा उद्योग दर्ता छन् । त्यसैगरी होटल, सिलाई उद्योग, चाउचाउ, कपास, ट्राउट माछा फर्म, अटो ओर्क शप, व्युटिपार्लर, अगरवत्ति उद्योग, साबुन उद्योग र राईस मिल दर्ता गरेर महिलाले उद्योग सञ्चालन गरेका छन् । त्यसैगरी महिला र पुरुषको साझेदारीमा ९ ओटा उद्योग दर्ता भएको कार्यालयले जनाएको छ ।
Comment Here!