छोरी जोगाउन रातभरि सुत्दैनन् भूकम्प प्रभावित


कहिलेसम्म पालमुनि ?

प्रकाशित मिति :2016-05-18 14:03:28

हिउँद जसो तसो काटेका भूकम्प प्रभावितहरू एकातिर आउनै लागेको वर्षा कसरी कटाउने भन्ने चिन्तामा छन् भने अर्कातिर  असुरक्षित महिला तथा किशोरीहरू जोगाउन अभिभावकहरू रातभरि जागा बस्नुपर्ने बाध्यतामा छन् ।

यशोदा अधिकारी

13180834_10209976892805555_1358919592_n
काठमाडौं । ‘अँध्यारो भएपछि ममी बाबा पनि निदाउन सक्नुहुन्न, ममी बाबा मलाई कुरेर बस्नुहुन्छ, अनि म निदाउँछु’ काठमाडौको चुच्चेपाटीमा पालमुनि बस्दै आएकी भूकम्प पीडित बिपीका बस्नेतले भनिन् ।  उनी अहिले एसएलसी दिएर बसेकी छिन् । १५ वर्षीया बस्नेतले चुच्चेपाटी कै तारा चौरको पालमुनि बसेर पढिन् र एसएलसी दिइन् ।

उनलाई साँझ कहिल्यै नपरे हुन्थ्यो भन्ने लाग्छ । एक वर्षदेखि चौरमा पाल हालेर बस्दै आएको उनको परिवारलाई रात परेपछि विपीका कै चिन्ताले सताउँछ । ‘यहाँ बत्ती छैन, वरिपरीबाट केटाहरू आउँछन्, जिस्क्याउँछन्, छोरी जोगाउनै मुश्किल भयो’ उनकी आमाले दुखेसो पोखिन् ।  छोरी जोगाउन वीपीकाका बा आमा राती पालैपालो सुत्ने गर्छन् ।

सुर्खेत घर भएकी पवित्रा जैशी भूकम्प जानुअघि काठमाडौंको जयवागेश्वरीस्थित  माटाकोे घरमा डेरा गरेर बस्थिन् । ज्यामी काम गरेर दुई छोरा र दुई छोरीलाई पालनपोषण गर्दै आएकी पवित्रा गतवर्षको महाभूकम्पले घर भत्किँदा सख्त घाइते भइन् । उनी बसेको घर भग्नावशेषमा परिणत भयो । अन्ततः उनी खुल्ला ठाउँ खोज्दै चुच्चेपाटीमा रहेको तारा चौरमा पुगिन् ।  भूकम्प गएको एक वर्ष नाघिसक्दा पनि उनको वास अझै पाल मुनि नै छ । घाइते  उनको टाउको र खुट्टाको शल्यक्रियापछि निको भइन् । ‘अहिले पनि शरीरमा लागेको घाउ बल्जिरहन्छ, दबाइ खाने पैसा छैन’ —डाक्टरले लेखिदिएको कागज देखाउँदै उनले भनिन् ।

sindhupalchokki kanchhi subedi

सिन्धुलीकी हिरा मगर पनि यही चौरमा पालमुनि बस्दै आएकी छिन् । गएको हिँउदमा  अत्यधिक चिसोका कारण उनले ६० वर्षीया सासु गुमाइन् । गत चैतमा आएको ठूलो हावा हुरीले पाल उडाएर अगाडिकोे घरको कौसीमा पुर्‍याइदियो । रातभरि उनको परिवार चौरमै खुल्ला आकाशमुनि बस्न बाध्य भयो । भोलिपल्ट बल्ल ती घरका मालिकले आफ्नो कौशीबाट पाल खसाली दिए । अनि उनले फेरी फेरी पालमुनिको बास पाइन् ।

सिन्धुपाल्चोककी ६३ वर्षीया कान्छी सुवेदी पनि भूकम्पपछि नै यो चौरमा आइपुगेकी हुन् ।  ‘ज्यामिरेमा रहेको उनको घर लडेपछि छोराहरूले तँ अलक्षिनी बुढी निस्केर जा भनेर गाली गरे । छोरीको साहारा खोज्दै यहाँ आएँ’ उनले भनिन् । कान्छी सुवेदीसहित छोरी, ज्वाईँ, नातीनातीना समेत गरी ८ जनाको परिवार सोही चौरमा पालमुनि बस्दै आएको छ । सम्पति भए मात्रै आफन्तहरू हुने उनी बताउँछिन्  ‘छोराले भुईंचलो पनि मैले गर्दा नै आएको जस्तो गरेर गाली गर्‍यो । खाने बस्ने ठाउँ नभएपछि कहाँ जानू ?’

काठमाडौंको तारा गाउँविकास समितिको यो चौरमा अझै पाँचसय पालमुनि १३ सय  भूकम्प प्रभावित बस्दै आएका छन् ।  ती मध्ये करिव ९ सय  महिला तथा बालबालिका रहेका छन् ।  त्यहाँका भूकम्प पीडितका लागि पानी र शौचालयको व्यवस्थापनका लागि सहयोग गर्दै आएकी  दिपज्योती महिला संस्थाकी याङजी शेर्पा सरकारले थोरै पैसा दिएर भएपनि उनीहरूको पुर्नस्थापना गर्नुपर्ने बताउँछिन् । वरिपरि ठूल्ठूला महल  अनि चौविसै  घण्टा  गाडी दौडिरहन्छन् । तर, रात परेपछि  यो चौरमा पूरै अन्धकार छाउँछ । वृद्धा, महिला तथा किशोरीहरू अँध्यारो भएपछि  डराउँछन् । किनकि यहाँ बत्तीको सुविधा छैन ।

hirf magar homework garaudai palma 2

अधिकांश महिला पाल मुनि बस्नुपर्दा त्रासमा हुने गर्छन् । सुत्केरी, वृद्धवृद्धा अनी बालबालिकाका लागि पाल मुनिको रात अत्यन्तै कष्टकर हुने गर्दछ ।  किशोरीहरूलाई जिस्क्याउने बहानामा रात परेपछि यो क्षेत्रमा वरिपरीका युवा तथा प्रहरी जवान समेत आउने गरेको उनीहरू बताउँछन् । पालमा जो पनि सजिलै भित्र छिर्न मिल्ने हुनाले  परिवारका सबै सदस्य एकैचोटी निदाउँदैनन् ।

सरकारले भूकम्प प्रभावितहरूलाई तत्काल छानामुनि ल्याउन सार्महिक आवास अभियान थालिसकेको छ, तर राजधानीमै रहेका यी प्रभावितसम्म सरकार अझै पुग्न सकेको छैन ।

पुर्ननिर्माण प्राधिकरणले २०७३ बैशाख २७ गते आफ्नो जग्गा नभएका कारण वा आफ्नो जग्गा असुरक्षित भएका कारण टेन्ट वा पालमुनी बसोबास गरिरहेका परिवारलाई उपयुक्त स्थानको खोजी गरी  सामूहिक आवास निर्माण गर्ने भनेको छ ।

 यसरी निर्माण गरिने  सामूहिक आवासका नमुना डिजाइनहरू सहरी विकास मन्त्रालयलाई तत्काल डिजाइन गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । यसरी पालमुनि बस्ने प्रभावितहरूको संख्या कति छ भन्ने एकिन तथ्यांक छैन । सरकारले टेन्ट वा पालमुनि बसिरहेका भूकम्प प्रभावित घर परिवारहरूको वास्तविक संख्याको यकिन गर्न जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत गर्ने व्यवस्था मिलाएको प्रवक्ता थपलियाले बताए  । यसका लागि   गा.वि.स. वा नगरपालिकामा हालै खटिएका इन्जिनियरहरूलाई समेत परिचालन गर्ने प्राधिकरणले जनाएको  छ ।  खुला आकाशमुनि रातभरि निदाउन नपाइरहेकाहरू भने आफ्नो लागि यो व्यवस्था हुन्छ भन्नेमा विश्वास नै गर्दैनन् । ‘भूकम्प गएको वर्षदिन हुँदा यहाँ कोही सरकारी मान्छे त आएनन् । अब घर बनाएर बस्ने व्यवस्था गर्ने त कहिले कहिले ?’ टेन्टमा बस्दै आएका राम नेपाली गुनासो गर्छन् ।

radha paudel

 सुरु सुरुमा केही संघसंस्थाहरूले सहयोग गरेपनि अहिले  आउन छोडेको उनीहरू बताउँछन्  । तारा चौरका अधिकांश भूकम्प प्रभावितहरू  ज्यालामजदुरी गरेर विहान बेलुकाको छाक टार्दै  आएका छन् ।  उनीहरूमध्ये केहीले काठमाडौं मै कोठा खोजे, तर एउटा मात्र कोठा पाउन सकेनन् । ‘भेटिहाले पनि एउटै कोठाको भाडा पाँचदेखि सात हजार रुपैयाँसम्म भन्छन्, फ्ल्याटको भाडा २० हजारसम्म पर्छ भन्यो, कसरी तिर्नु ?’ सोलुखुम्बुकी सरस्वती मगर कोठा नपाउनुको पीडा यसरी पोख्छिन् । भूकम्पपछि राजधानीमा कोठाको भाडा ह्वात्तै बढेको छ ।

काठमाडौं क्षेत्र नं ३ मा पर्ने यो चौरमा त्यस क्षेत्रका राजनीतिक दलका नेताहरूले पनि कुनै चासो देखाएका छैनन् । नेकपा एमालेका सोही क्षेत्रबाट विजयी  सांसद रामेश्वर फुँयाल  भन्छन् —‘गरिबीका कारण यो समस्या आएको हो, उनीहरूको उचित पुर्नवासका लागि सामूहिक आवास निर्माण गर्न  पहल   भइरहेको छ ।’ ‘ यो वर्षको हिउँद जसो तसो काटेका भूकम्प प्रभावितहरू एकातिर आउनै लागेको वर्षा कसरी कटाउने होला भन्ने चिन्तामा छन् भने अर्कातिर  असुरक्षित महिला तथा किशोरीहरू जोगाउन अभिभावकहरू रातभरि जागा भइरहनु पर्ने बाध्यतामा छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: